
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमका साथ उपस्थित भइसकेका छौँ–
तीन महिनाअगाडि बनेको दुईतिहाइ सरकार रक्षात्मक देखिँदा विपक्षी दलका नेता सक्रिय भएका छन् । प्रभावकारी नतिजा निकाल्न नसकी सरकार रक्षात्मक बनिरहँदा विपक्षी दलले दबाब बढाउने नीति लिएका छन् ।
यसैले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आह्वानमा शुक्रबार विपक्षी दलको बैठक बसेको हो । माओवादीको आह्वानमा बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा विपक्षी माओवादी, रास्वपा, राप्रपा र आमजनता पार्टी सहभागी भए ।
विपक्षी मात्रै होइनन्, प्रचण्डले सत्तारुढ लोसपा र नागरिक उन्मुक्ति पार्टीका नेतालाई पनि बैठकमा सहभागी गराउँदै सरकारमाथि दबाब बढाउने नीति लिएका छन् ।
तीन महिनामा राजनीतिक स्थायित्व, सुशासन र बाढीपहिरोको विपत्तिमा नतिजा निकाल्न नसकेर सरकार रक्षात्मक बनेको छ । यसैले विपक्षीले सत्तारुढ दलमाथि दबाब बढाउने नीति लिएका हुन् । सरकारका कदम आफ्नाविरुद्ध प्रयोग नहोस् भनेर उनीहरूले सरकारलाई घेर्ने नीति पनि लिएका छन् ।
बैठकले साना दल विभाजन गर्न खोजे सामूहिक प्रतिवाद गर्ने र सरकारमाथि दबाब बढाउने निर्णय गरेको छ ।
००००
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई प्रहरीले आइतबारमात्रै अदालतमा उपस्थित गराउने भएको छ ।
शनिबार सार्वजनिक बिदा भएकाले प्रहरीले आइतबार उनलाई अदालतमा उपस्थित गराउन लागेको हो ।
जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार उनी काठमाडौँबाट पक्राउ गरेका थिए । पक्राउ परेसँगै प्रहरीले रातारात लामिछानेलाई सडकमार्ग हुँर्द पोखरा लगेको हो।
लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ । लामिछाने पक्राउ परेपछि रास्वपाका नेता कार्यकर्ता आक्रोशित बनेका छन् । लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् ।
००००
सूर्यदर्शन सहकारी संस्थाको रु एक अर्ब ५० करोड ९० लाख ३० हजार पाँच सय तीन अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विसं २०७२ देखि नै उक्त सहकारीको रकम अपचलन हुँदै आएको थियो ।
रकम अपचलनका मुख्य आरोपी सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी राई)सँग मिलेर गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा सभापति लामिछानेमाथि यसअघि कास्की जिल्ला अदालतमा मुद्दा परेको थियो ।
००००
यसैबीच रवि लामिछानेले राज्यको दादागिरीको डटेर सामना गर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
पक्राउ पर्नुअघि शुक्रबार साँझ केन्द्रीय कार्यालय वनस्थलीमा कार्यकर्तालाई सम्बोधन गर्दै रविले अदालती प्रक्रियाको सामना गर्ने तर राजनीतिक पूर्वाग्रहको प्रतिवाद गर्ने बताएका हुन् ।
००००
सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग (टीआरसी) गठनका लागि सरकारले सर्च कमिटीलाई पूर्णता दिने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सर्च कमिटी बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
००००
उच्च अदालत पाटनले पशुपतिको गौशाला धर्मशाला खाली गर्ने काठमाडौं महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश डालकुमार खड्काको एकल इजलासले शुक्रबार धर्मशाला खाली गर्ने कार्य तत्कालका लागि नगर्न काठमाडौं महानगरपालिका र पशुपति विकास कोषका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
००००
रामेछाप र सिन्धुली जोड्ने प्रमुख नाकाका रुपमा रहेको खुर्कोटको पुल निर्माणलाई नेपाली सेनाले तीव्रता दिएको छ । सेनाले बेलिब्रिजको काम तीव्र रुपमा गरेसँगै रामेछापतर्फको भाग भने बुधबार साँझ नै जोडिएको थियो ।
००००
अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका महत्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ । शुक्रबार मन्त्रालयले तीन महिनामा गरेका कामहरुको कार्यप्रगति सार्वजनिक गरेको हो ।
गत असार ३० गते नयाँ सरकार गठन भएपछि मन्त्रालयले मन्त्रालयले उच्चस्तरीय आर्थिक सुधार आयोग गठनदेखि कन्ट्री क्रेडिट रेटिङसम्म गरेको भन्दै कार्यप्रगति सार्वजनिक गरेको हो ।
००००
क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् ।
भिसा पाएसँगै उनी उनी अमेरिका प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले लोकान्तरलाई जानकारी दिए ।
००००
विपक्षी दलहरूले जनसरोकारका विभिन्न विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डाकेको विपक्षी दलहरूको बैठकले जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने समझदारी भएको माओवादी नेता शक्ति बस्नेतले बताए ।
००००
शुक्रबारदेखि बालबालिकालाई देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन थालिएको छ । यो क्रम शनिबारसम्म चल्नेछ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापाले कात्तिक २ र ३ गते ५ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी कार्यक्रम गरिएको बताए ।
००००
महिला स्वास्थ्य स्वयंसेविकाहरूले निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन् । मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा यससम्बन्धी समझदारी भएको छ ।