०२ साउन २०८३, शनिबार

सिनवारको मृत्यु पुष्टि गर्दै हमासको वक्तव्य- इजरायलले आक्रमण बन्द नगरेसम्म बन्धक रिहा गरिन्न

कात्तिक ३, २०८१
काठमाडौं
सिनवारको मृत्यु पुष्टि गर्दै हमासको वक्तव्य- इजरायलले आक्रमण बन्द नगरेसम्म बन्धक रिहा गरिन्न

हमासले आफ्ना प्रमुख याह्या सिनवारको मृत्यु भएको पुष्टि गरेको छ । गाजामा हमासका प्रमुख खलिल हयाले अक्टोबर १८ मा इजरायली सेनाले सिन्वारलाई मारेको एक विज्ञप्तिमा बताएका छन् । 

यसअघि इजरायलले एक अपरेशनमा याह्या सिनवार मारेको पुष्टि गरेको थियो । अल जजिराको रिपोर्टका अनुसार खलिल हयाले सिनवारलाई 'वफादार', 'बहादुर' र 'निडर' भनेका छन् । 

सिन्वारले हाम्रो स्वतन्त्रताको लागि आफ्नो जीवन बलिदान दिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खलीललाई याह्याको उत्तराधिकारी पनि मानिन्छ । सन् २००७ मा इजरायलले पनि उनको हत्या गर्ने प्रयास गरेको थियो । गाजामा उनको घरमा हवाई आक्रमण भएको थियो, जसमा उनको परिवारका सदस्यहरू मारिएका थिए। उनी हाल कतारमा शरण लिएर बसेका छन् ।

उनले इजरायली जेलमा पनि आफू (याह्या) विद्रोही नै रहेको बताए । 

खलिलले इजरायलले गाजामा आक्रमण बन्द नगरेसम्म र कब्जा गरेको क्षेत्रबाट आफ्ना सेना फिर्ता नगरेसम्म गाजामा बन्धकहरूलाई रिहा नगरिने पनि स्पष्ट पारेका छन् । 

गत वर्ष अक्टोबर ७ मा भएको आक्रमणमा हमासले २५२ जनालाई बन्धक बनाएको थियो । तीमध्ये १०५ बन्धकलाई अस्थायी सम्झौतापछि रिहा गरिएको थियो । तर अझै पनि १०० भन्दा बढी इजरायली नागरिक हमासको नियन्त्रणमा छन् । केही बन्धक मारिएका पनि छन् ।

खलिलले संगठनका आगामी प्रमुखले उनीहरूको क्षमता अभिवृद्धि र लडाइलाई बलियो बनाउने बताए । उनले प्यालेस्टिनी भूमिमा प्यालेस्टाइन राज्य स्थापना नभएसम्म हमासको लडाइँ जारी रहने बताए ।

अक्टोबर १७ मा इजरायली रक्षा बल (आईडीएफ) ले याह्या सिनवारको हत्या भएको जानकारी दिएको थियो । इजरायलले सिनवारलाई अक्टोबर ७, २०२३ मा भएको आक्रमणको ‘मास्टरमाइन्ड’ भनेको थियो । 

पछिल्लो एक वर्षमा इजरायली सेनाको आक्रमणमा ४२ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । तीमध्ये १६ हजारभन्दा बढी बालबालिका छन् । करिब एक लाख मानिस घाइते भएका छन् । १० हजारभन्दा बढी मानिस बेपत्ता छन् । अन्तर्राष्ट्रिय स्तरमा लगातार आलोचना भए पनि इजरायलको आक्रमण जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्