२५ जेठ २०८३, सोमबार

निगमका सबै जहाज नियमित उडानमा छन् : नेवानि

कात्तिक ४, २०८१
काठमाडौं
निगमका सबै जहाज नियमित उडानमा छन् : नेवानि

​​नेपाल वायुसेवा निगमले आफ्ना सबै जहाजहरू नियमित उडानमा रहेकाले कहीं कतै पनि भ्रममा नरहन यात्रु र सरोकारवालालाई आग्रह गरेको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै निगमले केही सञ्चार माध्यममा निगमका सबै जहाज भूमिस्थ (ग्राउन्डेड) भएको भन्ने समाचार प्रकाशित भएको र उक्त समाचार भ्रामक र आधारहीन भएको जनाएको छ ।

विज्ञप्तिअनुसार निगमका  दुई न्यारोबडी जहाज हाल नियमित उडानमा छन् । यस्तै, एउटा वाइडबडी जहाजको मर्मतका लागि आवश्यक पार्टपुर्जा आज साँझसम्म इटालीबाट काठमाडौं आइपुग्ने निगमले जनाएको छ ।

उक्त पार्टपुर्जा आएपछि मर्मत प्रक्रिया पूरा गरी आइतबार बेलुकीबाटै जहाजलाई उडानमा ल्याइने निगमले जानकारी दिएको छ ।

प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा निगमका जहाजहरूको मर्मत सम्भार र उडानसम्बन्धी सबै प्रक्रिया जहाज निर्माता कम्पनी तथा नियामक निकायले तोकेका अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप गरिँदै आएको स्पष्ट गरिएको छ।

'जहाज विशिष्ट यान्त्रिक प्रणाली भएको हुँदा कहिले काहीं आकस्मिक प्राविधिक समस्याहरू देखा पर्न सक्ने र यस्ता समस्याहरू समाधान गर्दै नियमित उडानमा फर्काउने कार्य अन्तर्राष्ट्रिय अभ्यास अनुसार नै हुनेछ,' विज्ञप्तिमा उल्लेख छ ।

प्राविधिक समस्याका कारण निगमका तीनवटा जहाजका यात्रुहरूलाई दुई वटा जहाजमार्फत ओसारपसार गर्नुपर्ने भएकाले उडानहरूमा केही ढिलाइ भएको निगमले स्वीकार गरेको छ ।

यसबाट यात्रुहरूले भोग्नुपरेको असुविधाका लागि निगमले विज्ञप्तिमार्फत क्षमाप्रार्थना पनि गरेको छ ।

विज्ञप्तिमा निगमका प्राविधिक तथा अन्य कर्मचारीहरूले उच्च मेहनत, लगनशीलता र इमान्दारिताका साथ काम गरिरहेको उल्लेख गर्दै आधारहीन प्रचार नगर्न सम्बद्ध सबैमा आग्रह गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति

null

salt training

कमेन्ट गर्नुहोस्