०४ असार २०८३, बिहीबार

बाढीपछिको फोहोर संकलन गर्न ललितपुर महानगरले २ हजार स्वयंसेवक खटाउने

कात्तिक ५, २०८१
ललितपुर
बाढीपछिको फोहोर संकलन गर्न ललितपुर महानगरले २ हजार स्वयंसेवक खटाउने

ललितपुर महानगरपालिकाले आगामी शनिबारबाट बाढीले बगाएर ल्याएको फोहोर संकलन गर्ने भएको छ ।

गत असोजमा आएको बाढीले बगाएर ल्याएको प्लाष्टिक, कपडा र कागजजन्य फोहोर संकलन गर्न लागिएको महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए ।

उनका अनुसार नख्खु र बागमती नदी किनारामा रहेको​ फोहोर संकलनका लागि २ हजारभन्दा बढी स्वयंसेवक खटिने छन् ।

नदी किनारामा थुप्रिएको फोहोर सरसफाइसम्बन्धी तयारी बैठकमा महानगर प्रमुख महर्जनले भने- ‘शनिबार बिहान ७ बजे तोकिएको ठाउँमा जम्मा होऔं, हेर्दा नै लाज लाग्ने गरी छरपस्ट रूपमा रहेका प्लाष्टिक, कागज र कपडा संकलन गरौं ।’

बाढीले बगाएर ल्याएको प्लाष्टिकलगायतका फोहोरले ललितपुरको सौन्दर्य नै बिगारेको उनले बताए । नख्खु र बागमती नदीको किनारालाई प्लाष्टिकले छपक्कै छोप्दा लुगा सुकाए जस्तो देखिएको उनले बताए ।

फोहोर संकलनका लागि ज्यापू समाज ललितपुर, यल नेवाः समाज, जिल्ला बहुउद्देश्यीय संघ ललितपुर, सहकारी संघ ललितपुरलगायत अन्य जातीय संघसंस्थाले आफ्ना प्रतिनिधि ल्याउने जनाएका छन् ।

null

महानगरको सरसफाइ कार्यक्रममा नगर प्रहरी, कर्मचारी पनि सहभागी हुनेछन् । महानगरले सफाइ अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेको छ ।

कार्यक्रममा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बाढीले महानगरको सौन्दर्यमा ह्रास ल्याएको बताउँदै वातावरण संरक्षणको दायित्व सबैको भएको बताइन् ।

बाढीबाट कम प्रभावित वडाले बढी प्रभावितसँग हातेमालो गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले सरसफाइ अभियानमा जुट्न सबैलाई अनुरोध गरेका छन् ।

स्थलगत अनुगमनमा जाँदा सोचेको भन्दा धेरै क्षति भएको अवस्था देखिएको उनले बताए । ‘अनुगमनमा जाँदा एकदमै भद्रगोल भएको छ, धेरै ठाउँमा सोचेभन्दा बढी क्षति छ,’ उनले भने। 

null

महानगरका प्रवक्ता एवं वडा नम्बर ९ का अध्यक्ष राजु महर्जनका अनुसार नदीको किनारमा रहेका वडाहरू बाढीबाट धेरै प्रभावित भएका छन् ।

वडा नम्बर ५, ६, १२, १६, १५,१९, २० बाहेक अन्य वडा बाढीबाट प्रभावित भएका उनले जानकारी दिए ।

प्रवक्ता महर्जनले फोहोर संकलनका लागि क्लस्टर बनाएर सोहीअनुसार स्वयंसेवक परिचालन गरिने बताए ।

‘त्यसकै तयारी स्वरूप हामीले आजको बैठक राखेका हौं, आजको छलफलमा उठेका विषयलाई समेत समावेश गरेर विस्तृत जानकारी सामाजिक सञ्जालमार्फत दिन्छौं,’ उनले भने ।

null

 

salt training

कमेन्ट गर्नुहोस्