
जिल्ला सदरमुकाम तनहुँस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी दुई लाख रुपैयाँ बढी आम्दानी गरेको छ । फोहर सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले दुई लाख १७ हजार चार सय ३९ आम्दानी गरेको हो ।
नगरपालिकाले पानीका बोतल, आल्मुनियम, टीन, फलाम, कपीकिताब, गत्ता, टुक्रा कागज, सिसालगायत पुनः प्रयोग गर्न मिल्ने वस्तु बिक्री गरी दुई लाख १७ हजार चार सय ३९ आम्दानी गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । नगरले गत भदौ ८ गतेदेखि फोहरको सुक्ष्म वर्गीकरण थालनी गरेको थियो । गत साउनदेखि सिसा उठाउन शुरू गरेको थियो ।
करिब एक लाख बराबरका एलडी, एचएम, पिपी, गुडियालगायत सामानहरू बिक्रीका लागि तयारी अवस्थामा राखिएको गैरेले जानकारी दिए। उनले भने, 'ती सामग्रीहरु बिक्रीका लागि तयारी अवस्थामा छन् । तिहार अघि बिक्री गर्नेछौँ ।'
नगरले दुई हजार चार सय ५९ किलो पानीका बोतल तथा अन्य बोतलबाट ५६ हजार पाँच सय ६८, एक सय तीन आल्मुनियमबाट छ हजार एक सय ८०, पाँच सय ६२ किलो टीनबाट १४ हजार ६२, एक सय ७९ किलो फलामबाट छ हजार दुई सय ६५, तीन सय २६ किलो कपीबाट पाँच दुई सय १६, पाँच सय ६० किलो किताबबाट सात हजार आठ सय ४०, तीन हजार दुई सय १० किलो गत्ताबाट ३५ हजार तीन सय १० र सिसाबाट ८४ हजार छ सय ७७ आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत गैरेले जानकारी दिए ।
फोहरमैला व्यवस्थापनको चुनौती भइरहेकाले नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी सङ्कलन गर्न थालेको हो । कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै वर्गीकरण गरी सङ्कलन गर्ने र बिक्री गर्न योग्य फोहरबाट आम्दानी गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।
फोहरमैला व्यवस्थापनका लागि नगरपालिकाले एकजना सरसफाइ विज्ञलाई छ महिना अघि नियुक्त गरेको थियो । सरसफाइ विज्ञ कृष्ण भण्डारीको सल्लाह अनुसार अहिले कुहिने र नकुहिने फोहर वर्गीकरण गरी व्यवस्थापनको काम अगाडी बढाइएको नगरप्रमुख न्यौपानेले बताए।
सरसफाइ विज्ञ भण्डारीले नगरभित्रका प्रत्येक टोल, वडा, विद्यालयमा पुगेर फोहर वर्गीकरणका उपाय सिकाउने काम गरिरहेका छन् । नगरपालिकाले कार्यालय परिसरभित्र नकुहिने फोहरमध्येबाट कागज, सिसा, प्लाष्टिकजन्य वस्तु छुट्याएर आम्दानी गर्न थालेको नगरप्रमुख न्यौपानेले उल्लेख गरे । फोहरमैला व्यवस्थापनको दीर्घकालीन समाधानका लागि व्यास–१३ मा जग्गा खरिदको प्रक्रिया अगाडि बढिसकेको उनले जानकारी दिए।
नगरवासीलाई कुहिने र नकुहिने फोहरलाई छुट्टै गाडीमा राखी सरसफाइ तथा फोहर व्यवस्थापन अभियानमा सघाउन नगरप्रमुख न्यौपानेले आग्रह गरे।