
बाँकेको कोहलपुर नगरपालिकाले प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगमा रोक लगाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले सूचना जारी गर्दै नगर क्षेत्रमा प्लाष्टिकका मालाको प्रयोगलाई निरुत्साहित गर्न प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगमा प्रतिबन्ध लगाइएको जानकारी दिए ।
तिहार, छठ लगायतका चाडपर्वमा प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगले वातावरणलाई प्रदूषित पार्ने र मानव स्वास्थ्यलाई समेत प्रतिकूल असर पार्ने भएकाले प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोग नगर्न प्रमुख प्रशासकीय अधिकृत गिरीले आग्रह गरेका हुन् ।
प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगले स्थानीय किसानबाट उत्पादन भएको फूलले समेत बजार नपाउने तथा रकम बाहिरिनेजस्ता समस्या देखिने गरेको उनले उल्लेख गरेका छन् । प्रशासकीय अधिकृत गिरीले कोहलपुर नगरपालिकासहितका स्थानीय किसानले उत्पादन गरेका फूलको प्रयोग गर्न अनुरोध गर्दै कोहलपुर बजारमा व्यापारीलाई समेत प्लाष्टिकका फूलगुच्छा तथा मालाको बेचबिखन गर्न रोक लगाइएको बताउनुभएको छ । तिहारमा अधिकांशले यस क्षेत्रमा भारतबाट ल्याएका प्लाष्टिकका फूलका माला प्रयोग गर्ने गर्छन् ।
कोहलपुर नगरपालिकाका विभिन्न स्थानमा स्थानीय किसानले उत्पादन गरेको सयपत्री, गोदावरी, मखमलीलगायत फूल उत्पादन भएकाले त्यसको प्रयोग गर्न नगरवासीलाई आग्रह गरिएको प्रशासकीय अधिकृत गिरीको भनाइ छ । वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोगगरी नेपालभर प्लाष्टिकजन्य उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाउने सरकारले निर्णय गरेको थियो ।
यसैगरी, कैलालीको टीकापुर नगरपालिकाले पनि तिहारका समयमा प्लाष्टिकजन्य फूलमाला प्रयोग नगर्न अनुरोध गरेको छ । सूचना जारी गर्दै नगरपालिकाले स्वदेशी फूलका मालालाई प्रोत्साहन गर्न भन्दै प्लाष्टिकजन्य फूलमाला प्रयोग निधेष गरेको हो ।
प्लाष्टिकका मालाले स्थानीय पुष्प व्यवसायी घाटामा गएका र वातावरणका हिसाबले पनि उपयुक्त नहुने जनाउँदै प्लाष्टिकका माला निषेध गरेको हो ।
सूचनामा पालिकाभित्र प्लाष्टिकजन्य फूलका माला प्रयोगमा रोक लगाएकाले त्यसको प्रयोग नगर्न तथा नगराउन आग्रह गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरीले आउँदै गरेको दिपावली तथा छठपर्वमा टीकापुरभित्र कसैले प्लाष्टिकजन्य फूलका माला बिक्री बितरण गरेको पाइएमा कारबाही गर्ने जानकारी दिए।
नगरपालिकाले प्लाष्टिकका माला बिक्रीमा रोक लगाएपछि स्थानीय पुष्प व्यवसायी भने खुसी भएका छन् । कैलालीमा दर्जन बढी किसान पुष्प व्यवसायमा लागेका छन् । गत वर्ष कैलालीका बजार प्लाष्टिकका मालाले ढाकेपछि पुष्प व्यवसायीका फूल बारीमै सडेका थिए । कतिपय व्यवसायीले पालिकाले नसघाएको भन्दै बजार क्षेत्रमा फूलका माला छरेका थिए । 'गत वर्ष हामीले धेरै घाटा बेहोर्यौँ, तयार भएमा माला बिक्री भएनन्,' पुष्प व्यवसायी छत्र मल्लले भने, ‘पालिकाले निर्णय गरेको छ । कार्यान्वयन पनि गर्नुपर्छ । देशैभरि प्लाष्टिकका माला निषेध गरेमा पुष्प व्यवसायी मर्कामा पर्दैनन् ।’