
आफ्ना सभापति रवि लामिछानेको पक्षमा प्रदर्शन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू चार दिनदेखि पोखरामा छन् । लामिछानेलाई पक्राउ गरेको भोलिपल्ट अर्थात् शनिवारदेखि नै पोखरामा उनको पक्षमा प्रदर्शन जारी छ । प्रदर्शनको चौथो दिन पार्टी उपसभापति डीपी अर्यालले विरोध प्रदर्शनमा पोखरेली जनताले साथ दिएकोमा धन्यवाद दिए ।
‘आन्दोलनलाई पोखराबासीले साथ दिएनन् भनेर कुनै सञ्चारमाध्यममा बढ्दै थिएँ । आज फर्किँदै गर्दा हरेक घरका झ्याल–ढोकाबाट हामीलाई स्वागत गरेको देखियो,’ उनले भने, ‘रविलाई हामीले न्याय दिन्छौँ भन्दै उहाँहरूले हात हल्लाएर समर्थन जनाएको पाएँ । यसमा मलाई आज गर्व लागेको छ ।’
उपसभापति अर्यालले मञ्चको अगाडि बसेर पोखरेलीलाई धन्यवाद दिएपनि मासको अवस्था फरक थियो । प्रदर्शनको चौथो दिन (मंगलवार) जिरो किमीबाट शुरू भएको कार्यक्रम पृथ्वीचाैकमा आएर सकियो । कार्यक्रमको शुरूवाती समयमा मानिस न्यून संख्यामा थिए । र्याली अलि अगाडि जाँदा संख्या पनि थोरै बढ्यो ।
नागरिकको समर्थन लिन रास्वपाका नेताहरूले सहकारीपीडितको पक्षमा पनि आवाज उठाइरहेका थिए । ‘सहकारीपीडितलाई न्याय दे !’ जस्ता नारा लगाइ रहेका थिए । पार्टी सभापतिको पक्षमा भएको विरोध प्रदर्शनमा सहकारीपीडितको न्यायको विषयमा समेत चर्को आवाज उठिरहेको थियो । यसले गर्दा त्यहाँ रहेका आमनागरिकमा अन्योल सिर्जना भएको थियो । यो अन्योलता आसपासमा रहेर प्रदर्शन हेरिरहने नागरिकलाई मात्र नभएर आन्दोलनकारीलाई समेत देखिन्थ्यो ।
अन्दाजी ६० वर्षीय सोमबहादुर सुनार पोखराको विरोध प्रदर्शनमा आउन थालेको चार दिन भयो । उनी बिहान तनहुँबाट पोखरा आउँछन् । अनि प्रदर्शनमा सहभागी भएर बेलुका घर (तनहुँ) फर्किन्छन् । लामिछाने पक्राउको विरोधमा भएको प्रदर्शनमा ज्येष्ठ नागरिकको तर्फबाट आवाज उठाउन आएको सुनारले बताए । मंगलवार पम्प्लेट बोकेर प्रदर्शनमा हिँडिरहेका उनले लोकान्तरसँग भने, ‘सबैलाई न्याय होस् भनेर यहाँ आएको । सहकारीपीडितले पनि रकम फिर्ता पाउनुपर्छ ।’
पोखरामा जारी प्रदर्शनमा सहभागी हुन तनहुँबाट आउने सुनार एक्ला होइनन् । उनकै घर आसपासबाट २६ जना पनि सँगै आएका छन् ।
उनीसँगै आएका अर्जुनप्रसाद अधिकारीको सोच पनि उस्तै छ । ‘यो प्रदर्शन सहकारीपीडितको पक्षमा हो । सहकारीपीडितका लागि रास्वपाले आवाज उठाएको छ । यसको पक्षमा आन्दोलन गरिरहेको छ,’ उनले भने ।
त्यही प्रदर्शनको भीडमा बेनीबाट आएका दिलबहादुर परियार पनि भेटिए । उनको पनि भनाइ छ, ‘रविलाई मात्र होइन सहकारीपीडितलाई पनि न्याय देऊ ।’ परियारले पनि सुनार र अधिकारीले जस्तै सहकारीपीडितको पक्षमा आवाज उठाउन प्रदर्शनमा आएको बताए ।
यस्तो देखियो ‘ग्राउन्ड रियालिटी’
रास्वपाका उपसभापति डीपी अर्यालले मंगलवार पोखरेलीले साथ दिएको भन्दै धन्यवाद दिएपनि वास्तविकता फरक थियो । प्रदर्शनमा पोखरेलीको उपस्थिति न्यून नै थियो । पोखरामा प्रदर्शनका लागि बाहिरी जिल्लाबाट प्रदर्शनकारी झिकाइएको अनौपचारिक कुराकानीमा पार्टीका नेताहरूले नै स्वीकारे । बागमती प्रदेशको एउटा जिल्लाबाट सोमवारमात्र पोखरा आइपुगेका एक नेताले आफूसँगै दुई गाडी प्रदर्शनकारी ल्याएको सुनाए । ‘हामी दुईवटा गाडी लिएर सोमवार आएका हौं,’ गाडीबाट ओर्लिएको भिडियो देखाउँदै उनले भने, ‘बुधवार पनि अझै गाडी आउँदै छ ।’

पर्यटकीय नगरी पोखरा विरोध प्रदर्शनमा खासै नतात्ने शहरमा मानिन्छ । सार्वजनिक विषयमा नागरिक समाजबाट कहिलेकाहीँ प्रश्न उठेपनि सर्वसाधारणबाट खबरदारीको प्रश्न कमै उठ्छ । उठेपनि शान्त र कम हुने गरेको छ । योबाहेक लामिछानेको पक्षको प्रदर्शनमा पोखरेली जनताको उपस्थिति कम हुनुको कारण– पोखरामा सहकारी ठगीका पीडित धेरै हुनु पनि रहेको नागरिक समाजका अगुवाहरू बताउँछन् । ‘सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा परेका हुन् रवि लामिछाने । पोखरामा सहकारी ठगीका पीडित धेरै छन् । यस्तो अवस्थामा लामिछानेको पक्षमा लाग्ने कुरा भएन,’ नागरिक समाजका एक अगुवा भन्छन् ।
पोखरामा सूर्यदर्शनबाहेक प्राइम, मित्रमिलन, इमेज, शिवशिखर, बलिदानी, विन्ध्यवासिनी गरी सातवटा सहकारीका बचतकर्ता पीडित छन् । ‘यसैले पनि सहकारी जोडिएको विषयमा अधिकांश पोखरेली मौन छन्,’ ती अगुवाले भने ।
त्यसो त रास्वपाको प्रदर्शनलाई कुनै पनि पोखरेलीले साथै नदिएको भने होइन । पोखरा बसपार्क बस्ने सिर्जन तामाङ रास्वपाको विरोध प्रदर्शनमा सोमवारदेखि सहभागी छिन् । मंगलवार प्रदर्शनमै भेटिएकी उनको बुझाइ भने फरक पाइयो ।
तामाङले सहकारी ठगी रास्वपा सभापति लामिछानेले नभएर प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आरोप लगाइन् । सहकारीपीडित र लामिछानेको न्यायका लागि बुधवार पनि आन्दोलनमा आउने उनले बताइन् ।
शुक्रवार साँझ काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आइतवार अदालतमा उपस्थित गराइ अनुसन्धानका लागि ६ दिनको म्याद थपिएको छ । लामिछानेलाई पुनः बुधवार अदालत उपस्थित गराइँदै छ । उनकै पक्षमा रास्वपाले साढे १२ बजे सिर्जनाचाैकबाट विरोध प्रदर्शन शुरू गर्दैछ ।