११ साउन २०८३, सोमबार

शुक्लाफाँटामा जङ्गल सफारी खुला​​​

कात्तिक ७, २०८१
कञ्चनपुर
शुक्लाफाँटामा जङ्गल सफारी खुला​​​

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ ।

गत बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि शुक्लाफाँटामा जङ्गल सफारी खुला गरेको हो । 

गत असारमा आएको बाढीका कारण पर्यटक पथमा क्षति पुगेका कारण यस वर्ष ढिलो गरी पर्यटकका लागि निकुञ्ज खुला गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए ।

'अन्य वर्षको भन्दा यस पटक ढिलो गरी हामीले जङ्गल सफारी खुला गरेका छौं,' उनले भने, 'निकुञ्जभित्र पर्यटक पथमा रहेका सबै पुल र बाटोमा बाढीले क्षति गरेको र मर्मतका लागि समय लागेका कारण ढिलो गरी पर्यटकका लागि निकुञ्ज खुला गरिएको हो ।'

उनले बाढीले सडक र काठे पुलहरू बाढी क्षति गरेको बताए ।

'अहिले पनि सहायक बाटाहरूमा ग्राभेललगायत काम गर्न बाँकी छ,' संरक्षण अधिकृत ऐरले भने, 'निकुञ्ज कार्यालयले पर्यटन प्रवर्द्धनका लागि काम गरिरहेको छ ।'

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफल रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गाका लागि प्रख्यात छ ।

निकुञ्जको विशाल घाँसे मैदानमा दुई हजार बढी बाह्रसिङ्गाको झुण्ड देख्न पाइन्छ । त्यसैगरी, निकुञ्ज पाटे बाघका लागि पनि प्रख्यात छ । निकुञ्जले गरेको पछिल्लो गणनाअनुसार यहाँ बाघको सङ्ख्या ४४ पुगेको छ । 

त्यसैगरी, गैँडालगायत दुर्लभ वन्यजन्तुका लागि पनि निकुञ्ज प्रसिद्ध छ ।

वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिका लागि पनि प्रसिद्ध ठाउँ हो शुक्लाफाँटा ।

निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा, ३५ प्रजातिका पुतली, २०१३ को गणनाअनुसार ८०/९० वटा नीलगाई र चार सय ४९ प्रजातिका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्