
सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माण एवं घोषणा वर्ष २०८२ सफल पार्ने लक्ष्यका साथ अभियान बोकेर मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१ मा निस्केको टोली चितवन आइपुगेको छ ।
‘यो पटकको चाडपर्वमा, कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानव सेवा आश्रम र आनीछोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा पूर्वको मेची पुलबाट शुरू गरिएको अभियानको टोलीलाई भरतपुरमा आज स्वागत गरिएको छ ।
स्वागत कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अभियानको सफलताको शुभकामना व्यक्त गरिन् ।
उनले महानगरपालिकाले देशमै पहिलोपटक सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको स्मरण गरिन् ।
मानव सेवा आश्रमसँगको सहकार्यमा सहयोगापेक्षी सडक मानवको खोजी र उद्धार कार्य गरी सो अभियान सफल पारेको उनले बताइन् ।
आजको दिनमा चितवन तथा भरतपुरमा सहयोगापेक्षी सडक मानव नभेटिएकोमा उनले खुसी व्यक्त गरिन् ।
मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले १२ वर्षअगाडि स्थापना भएको मानव सेवा आश्रम आज देशका सात प्रदेशका १९ जिल्लामा २४ सेवा केन्द्रबाट सेवा प्रवाह भइरहेको बताए ।
उनले विसं २०८२ सम्ममा नेपालको सडकपेटीमा कसैले पनि भोकै नाङ्गै बेसहारा भएर बस्न नपर्ने राष्ट्र निर्माण गर्ने सङ्कल्प आफूहरूको रहेको उल्लेख गरे ।
महानगरमध्येमा सबैभन्दा सहयोगापेक्षी सडक आश्रित मानवमुक्त भरतपुर महानगर घोषणा भएको भन्दै आज भरतपुर आइपुग्दा मेची–महाकाली यात्रामा हौसला मिलेको उनको भनाइ थियो ।
अभियानका क्रममा अध्यक्ष अधिकारीले हेटौंडादेखि भरतपुरसम्म आउँदा एक जना पनि बेसहारा सहयोगापेक्षी मानव नभेटिएको बताए ।
मेची–महाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा हालसम्म कोशी र मधेश प्रदेशमा ८४ जनाको उद्धार भएको अधिकारीले जानकारी दिए ।
उनले चितवनमा आइपुग्दा सहयोगापेक्षी मानव नभेटिनुले अभियानमा हौसला मिलेको उनको भनाइ थियो ।
छोइङ डोल्मा फाउन्डेसनका संस्थापक आनीछोइङ डोल्माले यो अभियान सबैको साझा अभियान रहेको बताइन् ।
यात्राका क्रममा सहयोगापेक्षीहरू कम भेटिनु अभियानको शुभ सङ्केत रहेको भन्दै उनले भरतपुर महानगरपालिका सहयोगापेक्षी सडक मानवमुक्त भएकामा खुसी व्यक्त गरिन् ।
गत असोज २६ गतेदेखि सुरु भएको सहयोगापेक्षी सडकआश्रित मानवको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा यही कात्तिक २८ गते सकिनेछ ।