२७ जेठ २०८३, बुधबार
सहकारी ठगी प्रकरण

पोखरामा रक्षात्मक रास्वपा– घण्टीले मास बटुल्न नसकेपछि राष्ट्रिय झण्डा दुरूपयोग

कात्तिक ७, २०८१
काठमाडौं
पोखरामा रक्षात्मक रास्वपा– घण्टीले मास बटुल्न नसकेपछि राष्ट्रिय झण्डा दुरूपयोग

सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५ दिनदेखि आन्दोलनमा छ । 

कास्कीको पोखरामा केन्द्रित भएर रास्वपाका नेता/कार्यकर्ता सरकार एवं ठूला राजनीतिक दलविरुद्ध नाराबाजीमा उत्रिएका छन् । रास्वपाले सोचेअनुसार प्रदर्शनमा जनसहभागिता देखिएको छैन ।

उर्दी नै जारी गरेर पूर्वदेखि पश्चिमसम्मबाट बोलाइएका केही सय कार्यकर्ता र पार्टीको सिंगो नेतृत्व पंक्तिको भरमा आन्दोलन चलिरहेको छ । रास्वपाको आन्दोलन यति रक्षात्मक बनेको छ कि अहिले प्रदर्शनकारीले पार्टीको (निलो ब्याकग्राउन्डमा घण्टी अंकित) झण्डा समेत बोक्न छाडेका छन् । 

राष्ट्रिय झण्डा र राष्ट्र भक्तिका गीतको सहारामा भीडलाई आकर्षित गर्ने प्रयास भइरहेको देखिन्छ । आफूहरू सहकारीपीडितको पक्षमा रहेकाले राष्ट्रिय झण्डा बोकेको भनेर नेताहरूले जनतालाई भ्रमित पार्ने प्रयास गरिरहेका छन् ।

‘हामीले किन पार्टीको झण्डा बोकेनौं भने कास्कीमा रवि र रास्वपाको मुद्दा मात्रैलाई लिएर आएका होइनौं,’ सोमबार पोखराको चिप्लेढुंगामा जम्मा भएको भीडलाई सम्बोधन गर्दै रास्वपाका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले भनेका थिए, ‘सहकारीपीडितको पक्षमा आएका हौं, जबसम्म सहकारीपीडितले न्याय पाउँदैनन्, हामी आन्दोलनमै हुन्छौं । रास्वपा राष्ट्रिय मुद्दा बोकेर आएको पार्टी हो ।’

पार्टीको झण्डा देखाएर स्थानीयलाई आकर्षित गर्न नसकेपछि रास्वपाले राष्ट्रिय झण्डा बोकेको देखिन्छ । पोखरा मात्र होइन, राजधानी काठमाडौंमा पनि राष्ट्रिय झण्डाको सहारामा प्रदर्शन भइरहेको छ ।

null

अभियोग लागेका नेता छुटाउन अदालत र सरकारलाई दबाब दिने उद्देश्यले आयोजित दलीय प्रदर्शनमा राष्ट्रिय झण्डा प्रयोग गर्नु दुरुपयोग भएको विज्ञहरू बताउँछन् । राजनीतिक विश्लेषक चन्द्रकिशोरको बुझाइमा राजनीतिक कार्यक्रममा राष्ट्रिय झण्डाको प्रयोग गलत हो ।

‘राजनीतिक दल जुनसुकै होस्, यो दुरुपयोग नै हो । दोहोरो नागरिकतामा पनि राष्ट्रिय झण्डा, राहदानी दुरुपयोगमा पनि राष्ट्रिय झण्डा र अहिले ठगी तथा संगठित अपराधको बचाउमा पनि राष्ट्रिय झण्डा प्रयोग हुनु राम्रो होइन,’ चन्द्रकिशोरले लोकान्तरसँग भने, ‘राजनीतिक दलहरूले आफ्नो सक्कली पहिचान लुकाउन राष्ट्रिय झण्डा दुरुपयोग गरिरहेका छन् ।’

चन्द्रकिशोरले कुण्ठित र संकीर्ण राजनीति जोगाउन विगतदेखि नै दलहरूले राष्ट्रिय झण्डा दुरुपयोग गर्दै आएको बताए । उनले भने, ‘अरूको धर्ममाथि घृणा फैलाउन, धर्मभित्र पनि अतिवाद मौलाउन र सदाचारको सवालबाट जोगिन पनि राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेका छन्, एकाथरिले कृत्रिम राष्ट्रवाद देखाउन पनि झण्डाको दुरुपयोग भइरहेका छन् ।’ 

पक्राउ परेपछि रविले आफूलाई अरू थुनुवासरह व्यवहार गर्न प्रहरीलाई आग्रह गरेका थिए । जिल्ला अदालत कास्कीमा दुईवटा अभियोगमा म्याद थप भएका रविलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको जिकिर रास्वपाको छ । राजनीतिक विश्लेषक डा. ईन्द्र अधिकारीले राष्ट्रिय महत्त्व र राष्ट्रिय एजेन्डा बोकेका कार्यक्रममा मात्रै राष्ट्रिय झण्डाको प्रयोग हुनुपर्ने बताइन् ।

‘रविको केसमा राष्ट्रिय झण्डा बोक्नु दुरुपयोग हो । सांसद र एउटा पार्टीको उच्च पदमा रहेका नेताले राष्ट्रिय झण्डा बोकेर अदालत घेर्न जानु आफैंमा लज्जास्पद हो । यसले राष्ट्र र राष्ट्रियताको मानमर्दन भएको छ,’ अधिकारीले लोकान्तरसँग भनिन्, ‘राष्ट्रिय झण्डाको संरक्षण गर्ने भनेको अदालत र सरकारले नै हो । अभियोग लागेको व्यक्तिलाई छुटाउन दबाबका लागि राष्ट्रिय झण्डा बोकेर प्रदर्शन गर्नुहुँदैन र यो राजनीतिक संस्कार पनि होइन ।’

nullपछिल्लो समय ‘पपुलिस्ट’ बन्न राष्ट्रिय झण्डा दुरूपयोग गर्ने क्रम बढेको उनले बताइन् ।

गृह मन्त्रालयले आफ्नो वेबसाइटमा राष्ट्रिय झण्डा प्रयोगसम्बन्धी सूचनामा विशेषगरी पाँचवटा अवस्थामा मात्रै यसको प्रयोग गर्नुपर्ने उल्लेख गरेको छ ।

संवैधानिक निकाय तथा सरकारी कार्यालय, औपचारिक पर्व, भ्रमण, स्वागत र नेपाली नागरिकले राष्ट्रिय पर्व/उत्सवमा मात्रै राष्ट्रिय झण्डाको प्रयोग गर्नुपर्ने सूचनामा उल्लेख छ । 

गृह मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव ऋषिराम तिवारीले राष्ट्रिय झण्डाको प्रयोगका सम्बन्धमा सरकारले सूचना नै प्रकाशित गरिसकेकाले सोहीअनुसार प्रयोग हुनुपर्ने बताए ।

उनले भने, ‘सरकारी कार्यालय, संवैधानिक निकायसँगै राष्ट्रिय महत्त्व बोकेका र राष्ट्रिय एजेन्डामा आधारित कार्यक्रममा मात्रै राष्ट्रिय झण्डाको प्रयोग गर्ने हो, झण्डाको जथाभावी प्रयोग गर्न पाइँदैन ।’  

salt training

कमेन्ट गर्नुहोस्