
भुवनेश्वर– ओडिसा र पश्चिम बङ्गालको तटमा ‘दाना’ नामक चक्रवातको 'सम्भावित आगमन'अघि तयारीस्वरुप भारतीय वायु सेना (आईएएफ)का दुई विमानले बुधवार राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ)का कर्मचारी तथा राहत सामग्री भुवनेश्वरमा ल्याएका छन् ।
एनडीआरएफका अधिकारकर्मी तथा राहत सामग्री बोकेका जहाज आईएल–७६ र एएन–३२ भटिङ्डाबाट बुधवार भुवनेश्वर आइपुगेका हुन् ।
भारतीय मौसम विज्ञान विभागका अनुसार, दाना चक्रवातले भितरकनिका र ओडिसाको तटमा भद्रक वा बालासोरको बीचमा अवतरण गर्ने अनुमान गरिएको छ ।
ओडिसा सरकारले बालासोर, भद्रक, केन्द्रपाडा, मयूरभन्ज, जगतसिंहपुर र पुरी जिल्लाहरूमा अधिकतम प्रभाव पर्ने अनुमान गरेको छ ।
उक्त चक्रवात बङ्गालको पूर्वी-मध्य खाडीमा दबाव छोडी पश्चिम–उत्तरपश्चिमतर्फ १८ किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढ्ने जनाएको छ ।
सो चक्रवात अक्टोबर–२४ को बिहानसम्म उत्तर–पश्चिम बङ्गालको खाडीमा गम्भीर चक्रवाती आँधीमा परिणत हुने र अक्टोबर –२४ को राति तथा अक्टोबर–२५ को बिहानमा पुरी र सागर टापुको बीचमा ओडिसा र पश्चिम बङ्गालको तट पार गर्ने सम्भावना रहेको जनाइएको छ ।
मंगलवार ओडिसाका शिक्षामन्त्री नित्यानन्द गोन्डले विद्यार्थीको सुरक्षालाई ध्यान दिँदै अक्टोबर २३ देखि २५ सम्म प्रभावित हुन सक्ने क्षेत्रमा विद्यालय तथा कलेजहरू बन्द रहने घोषणा गरेका थिए ।
चक्रवात दानाले निम्त्याउन सक्ने जोखिमलाई ध्यानमा राख्दै आईएमडीको पूर्वानुमानले अनुसार अक्टोबर २३–२६ सम्म ओडिसा र गाङ्गेय पश्चिम बङ्गालमा भारी वर्षा हुने जनाइएको छ ।
पश्चिम बङ्गालको ओडिसामा एनडीआरएफ टोलीहरू चक्रवातको सामना गर्न तयार छन् भने जहाजसहित सेना, नौसेना र तट रक्षकको अतिरिक्त उद्धार र राहत टोली तयारी अवस्थामा राखिएको छ ।