
दाङको लमही नगरपालिका–२ स्थित राप्ती नदीको रैनियापुर घाटमा नुहाउने क्रममा तीन बालिकाको नदीमा बगेर मृत्यु भएको छ । बिहीवार दिउँसो राप्ती नदीको रैनियापुर घाटमा नुहाउने क्रममा एकसाथ तीनजना बालिका बगेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।
उनका अनुसार लमही नगरपालिका वडा नम्बर–२ रैनियापुर निवासी सीताराम चौधरीकी छोरी झरना चौधरी, सोही स्थानका सन्तराम चौधरीकी छोरी निशा चौधरी र गढवा घर भइ लमही बस्दै आएका श्रीकान्त चौधरीकी छोरी कृष्टि चौधरीको मृत्यु भएको हो । मृतक तीनैजना बालिकाको उमेर १२ वर्ष रहेको छ ।
बालिकाहरूको उद्दार गरी उपचारका लागि लमही अस्पतालमा पुर्याएकोमा डाक्टरले मृत घोषणा गरेको भुसालले बताए । मृतक तीनै जनाको शब लमही अस्पतालमा राखिएको छ । पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाउने लमही नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष नेपालु चौधरीले बताए ।