२६ असार २०८३, शुक्रबार

मकवानपुरमा चुनौती बन्दै कुपोषण रोकथाम

कात्तिक ९, २०८१
काठमाडौं
मकवानपुरमा चुनौती बन्दै कुपोषण रोकथाम

मकवानपुरमा कुपोषण रोकथाम चुनौती बनेको छ । यद्यपि  कुपोषणको सिकार बनेका बालबालिकाले उपचारपछि स्वाथ्य लाभ गरेका छन् ।

मकवानपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारका अनुसार आर्थिक वर्ष २०८०/८१ मा फेला परेको कडा कुपोषित बालबालिकामध्ये ४९ प्रतिशत बालबालिका उपचारपछि निको भएका छन् ।

आव २०८०/८१ मा कडा कुपोषित एक सय ३३ बालबालिकामध्ये उपचारपछि ५९ जना स्वास्थ्य लाभ गरेर घर फर्किएका छन् ।

कडा कुपोषितमध्ये नौ बालबालिकाका अभिभावकले आफूखुसी घर फर्काएर लगेको र बाँकी बालबालिकाको अझै उपचार भइरहेको छ ।

अघिल्लो आव २०७९/८० मा कुपोषित एक सय ३१ जना बालबालिकाको उपचार गरिएकामा ४८ प्रतिशत बालबालिका निको भएर घर फर्किएका थिए ।

कुपोषित बालबालिकाको खोजी गरेर उपचार गर्न जिल्लामा २१ वटा स्वास्थ्य संस्थामा उपचार केन्द्र (ओटीसी सेन्टर) स्थापना गरेर उपचारात्मक तयारी खाना (पोषिलो खाना) कार्यक्रम सञ्चालन भइरहेको प्रमुख मिजारले बताए ।

उनले मकवानपुरमा कुपोषित बालबालिकाको सङ्ख्या बर्सेनि बढ्दै गएको बताए । पोषिलो खाना नपाएका कारण बालबालिकामा कडा खालको कुपोषण हुने गरेको उनको भनाइ छ ।

पोषण सुधार गर्न जिल्लामा सरकारी तथा गैरसरकारी क्षेत्रबाट कार्यक्रम सञ्चालन भइरहेको उनले बताए । गर्भवती र दुई वर्षमुनिका बालबालिकाको पोषण सुधार गर्न एकीकृत पोषण कार्यक्रम सञ्चालनमा छ ।

'जिल्लामा सञ्चालित २१ वटा ओटिसी सेन्टरमा जाँच हुन्छ, जाँचका क्रममा कडा कुपोषण भएका बालबालिकाको उपचार गर्ने गरेका छौं,' प्रमुख मिजारले भने, 'हेटौंडा अस्पताल परिसरभित्र स्थापना गरिएको पोषण पुनःस्थापना गृह (एनआर एच)मा बालबालिकालाई पोषणायुक्त खानासँगै उपचार हुन्छ ।'

कार्यक्रमले गर्भवती र दुई वर्षमुनिका बालबालिकाको पोषणमा सुधार ल्याएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्