
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटना (आत्मदाह प्रयास)मा गम्भीर रूपमा जलेका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ। उनको थप तथा विशिष्टीकृत उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लैजाने तयारी पनि सुरु गरिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको विशेष पहलमा गणेशलाई थप उपचारका लागि भारत पठाउने प्रक्रिया अघि बढाइएको हो। सरकारले उनको उपचारमा कुनै कमी हुन नदिने गरी आवश्यक सम्पूर्ण व्यवस्थापन गर्ने जनाएको छ।
बिरामीको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू बिहीबार वीर अस्पताल पुगेका थिए। उनीहरूले उपचारमा संलग्न चिकित्सकसँग गणेशको स्वास्थ्य अवस्था, उपचारको प्रगति तथा आगामी उपचार योजनाबारे जानकारी लिएका थिए।
चिकित्सकसँगको परामर्शपछि घाइतेको अवस्था गम्भीर रहेकाले उनलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा गम्भीर रूपमा जलेका गणेश नेपालीको हाल वीर अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकको सिफारिसअनुसार उनको थप विशिष्टीकृत उपचार नयाँ दिल्लीस्थित एम्समा गराउने तयारी गरिएको प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले बताइन् ।