३० जेठ २०८३, शनिबार

बाढीपहिरोबाट निधन भएका फुटबल खेलाडीका परिवारद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण​

कात्तिक ९, २०८१
काठमाडौं
बाढीपहिरोबाट निधन भएका फुटबल खेलाडीका परिवारद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण​

बाढी पहिरोमा परी निधन भएका मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका फुटबल खेलाडीका परिवारजनले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । 

साथै उनीहरूले उक्त घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गरी दोषीलाई कारबाही गर्न समेत माग गरेका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा सञ्चालित सो विद्यालयको होस्टेलका ६ बालबालिकाको बाढीपहिरोबाट बच्न भाग्ने क्रममा गत असोज १२ गते निधन भएको थियो ।

नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाको सहजीकरणमा प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा पीडित परिवारले अघिल्लो दिनदेखि नै वर्षा भइरहेको र कुलेखानी विद्युत् गृहको बाँध खोल्ने सूचना भएको अवस्थामा बालबालिकालाई विद्यालयबाट सुरक्षित स्थानमा लैजानुपर्नेमा लापरबाही भएकाले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।​

मृतक बालबालिकाका नाममा अक्षय कोष स्थापना गरी खेल क्षेत्रको प्रवर्द्धन गर्न पीडित परिवारले आग्रह गरेका छन् । 

पीडित परिवारका तर्फबाट भक्तबहादुर बलम्पाकी, कमला रेग्मी, टीकाराम आचार्य, हेमबहादुर योञ्जन, दिपा बानियाँ र ललितबहादुर घलानले संयुक्तरुपमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।​ 

ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले उक्त घटना अत्यन्त दुःखद् भएको उल्लेख गर्दै यसबारेमा यथार्थ जानकारी लिने पीडित परिवारलाई विश्वास दिलाए । उनले पीडितका पक्षमा सरकार रहने स्पष्ट गरे ।

भेटका अवसरमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल, प्रदेशसभा सदस्य कुमारी मोक्तान, संविधानसभा सदस्य सुवास ठकुरी, नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्धशरण लामालगायत सहभागी थिए । 

salt training

कमेन्ट गर्नुहोस्