
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा बसेको सत्तारुढ दलको बैठक साझा दृष्टिकोण सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेस, नेकपा (एमाले), जसपा, जनमत, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टीसहित शुक्रबार बसेको बैठकले साझा वक्तव्य जारी गरेको हो ।
मुलुकमा विद्यमान संकट र चुनौतीहरूलाई सामना गर्दै लोकतान्त्रिक भविष्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित गठन भएको वर्तमान सरकारलाई थप प्रभावकारी बनाउन सत्तारुढ दलले प्रतिवद्धता जनाएका छन् ।
संक्रमणकालीन न्यायकामा रहेको कानूनी जटिलतालाई वर्तमान सरकारले छोटो समयमा सहमतिका आधारमा समाधान गरेको सत्तारुढ दलको निष्कर्ष छ ।
'शान्ति प्रकृया अघि बढेको यति लामो समय बितिसक्दा पनि संक्रमणकालीन न्यायको काम अधुरै रहनु दुःखद् पक्ष हो । संक्रमणकालीन न्यायका सन्दर्भमा रहेको कानूनी जटिलतालाई वर्तमान सरकार गठन भएको छोटो समयमा सहमतिका आधारमा समाधान भएको छ । कानूनी प्रबन्धको पूर्णताका साथै दुवै आयोग गठन गर्ने प्रक्रिया प्रारम्भ भएको छ । यसले द्वन्द्वबाट प्रभावित पीडितहरूले न्याय प्राप्त गर्ने सुनिश्चितता भएको छ । आगामी दिनमा संक्रमणकालीन न्यायको काम प्रभावकारी ढंगले अघि बढाउने कुरामा सबै पक्षको सहयोग अपेक्षित छ,' जारी वक्तव्यमा भनिएको छ ।