डोटीस्थित कृषि ज्ञान केन्द्रले बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा ‘किबी क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबी खेती विस्तार गर्न थालेको छ ।
दिपायल सिलगढी नगरपालिका तथा आदर्श र बोगटान फुड्सिल गाउँपालिकामा ‘हिउँदे फलफूल क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबी खेती विस्तार थालिएको हो ।
किबीका बोटबाट २५ वर्षभन्दा लामो समयसम्म आम्दानी लिन सकिने भएकाले यहाँका किसानलाई यसतर्फ आकर्षित गर्न ‘किबी क्षेत्र’ र ‘हिउँदे फलफूल क्षेत्र’ विस्तार कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीले जानकारी दिए ।
दिपायल सिलगढी नगरपालिका–६ का हेमबहादुर मल्लले नौ वर्ष पहिले नौ वटा किबीका बोट लगाएका थिए ।
तत्कालीन समयमा हालको कृषि ज्ञान केन्द्रको सहयोगमा किबी खेतीको सुरुआत गरेको उनले बताए । दुई रोपनी क्षेत्रफलमा नौ बोट लगाएर खेती शुरू गरेको बताउँदै उनले अहिले खेती विस्तार गरी ४० बोट पुर्याएको जानकारी दिए ।
शुरूका चार वर्ष किबी हुर्काउन समय लागेको भन्दै मल्लले त्यसपछि उत्पादन दिन शुरू भएको बताए । हाल किबी बिक्रीबाट सबै खर्च कटाएर वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी हुन थालेको उनले जानकारी दिए ।
शुरूमा लगाएका प्रतिबोटमा वार्षिक रु ३० देखि ४० हजारको किबी फल्ने गरेको मल्लले बताए ।
'जिल्लामा पहिलो पटक किबी खेती गरेकोले बजारको समस्या थियो । बिक्री गर्नु पहिले १/२ दाना चखाएपछि मात्र खरिद गर्नुहुन्थ्यो,' उनले भने, 'अहिले भने माग बाहिरी जिल्लाबाट पनि आउने गरेको छ । उपभोक्ताले घरमै आएर खरिद गर्ने भएकाले बजारको समस्या छैन ।'