०९ साउन २०८३, शनिबार
प्रमुख प्रतिपक्षीको खबरदारी सभा

सत्ताबिमुख भएपछि माओवादीको पहिलो शक्ति प्रदर्शनः सच्चिने घोषणा, सरकारमाथि ‘आगो’

कात्तिक १०, २०८१
काठमाडौं
सत्ताबिमुख भएपछि माओवादीको पहिलो शक्ति प्रदर्शनः सच्चिने घोषणा, सरकारमाथि ‘आगो’

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले शनिवार खबरदारी सभाको नाम दिएर राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । शनिवार बिहान करिब ११ बजे सुन्धाराबाट जुलुस निकालेर बागबजार हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत हुँदासम्म चार–पाँच हजार माओवादी नेता–कार्यकर्ता जम्मा भएका थिए । 

माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले खबरदारी सभा आयोजना गरेका हुन्, जसको मुख्यवक्ता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थिए । 

अहिलेको सरकार र कांग्रेस–एमालेका नेताहरूले पार्टीकेन्द्रित निजी स्वार्थ र भ्रष्टाचारको प्रक्रियालाई अगाडि बढाएको आरोप लगाउँदै प्रचण्डले त्यसविरुद्ध जनदबाब दिन र त्यसलाई रोक्न खबरदारी सभाको आयोजना गर्नुपरेको दाबी गरे ।

null 

यद्यपि शनिवारको सभा माओवादीले काठमाडौं उपत्यकामा आफ्नो वास्तविक शक्ति कति छ भन्ने आंकलन गर्न आयोजना गरेकोजस्तो देखिन्थ्यो । चार दिनको छोटो तयारी भएपनि उल्लेख्य उपस्थिति भएको भन्दै अध्यक्ष प्रचण्डले सबैलाई धन्यवाद दिएका थिए ।  

सभामा प्रचण्डसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रवक्ता अग्निप्रसाद सापकोटा, नेता हितमान शाक्यलगायत प्रायः सबैले सरकारविरुद्ध आगो ओकले । 

आफ्नो नेतृत्वको सरकारले सुशासनको क्रान्ति थालेको दाबी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अहिलेको सरकारले त्यसलाई बिथोलेको आरोप लगाए । उनले कांग्रेस र एमालेका नेताहरूलाई खबरदारी पनि गरेका थिए । 

सच्चिने घोषणा 

सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले कांग्रेस–एमालेका नेताहरूलाई ‘जाली–फटाहा’ भन्न भ्याए । उनले ‘जाली–फटाहा’सँग यसअघि गरेको गठबन्धन गल्ती भएको भन्दै अब सच्चिने प्रतिबद्धता व्यक्त गरे । 

’हामी जाली–फटाहासँग लाग्दा केही बिग्रेका थियौं, तर अब हामी जनतासँगै छौं । हामी अलिअलि जनतासँग कट्न थालेका थियौं, अलिअलि बिग्रन थालेका थियौं, कांग्रेस–एमालेले गठबन्धन गरेपछि हामी जनतातिर फर्किन पायौं । धन्यवाद भन्न चाहन्छु,’ सम्बोधनका क्रममा उनले भने । 

सो क्रममा प्रचण्डले आफू सुध्रिने पटक–पटक दाबी गर्ने गरेका थिए । प्रतिनिधिसभाको बैठकमा पनि धेरैपटक उनले माओवादी केन्द्र सुध्रिएको बताउने गरेका छन् । प्रायः बोल्ने कुनै मञ्च पाउनासाथ उनले माओवादी केही बिग्रिएको र अब सच्चिने प्रतिबद्धता जनाउन छाड्दैनन् । उनले शनिवार पनि त्यसै गरे ।

तर पार्टीभित्रै आन्तरिक लोकतन्त्रको विषय माओवादी केन्द्रका नेताहरूले पटक–पटक उठाउने गरेका छन् । पार्टीभित्र प्रचण्डको एकलौटी चल्ने गरेको भन्दै कतिपय नेताले अप्रत्यक्ष रुपमा विरोधको आवाज उठाउने गरेका छन् । 

null

‘सरकार ढाल्दैनौं’

सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले माओवादीले खबरदारी सभा आयोजना गर्ने घोषणा गरेलगत्तै सत्तारुढ दलहरूमा आतंक फैलिएको दाबी गरे । 

’हामीले खबरदारी सभा आयोजना गर्ने भनेका थियौं, सत्तामा रहेका सबै दल एकजुट भएर सडकबाट सरकार ढाल्ने प्रयासको विरोध गर्ने भनेछन्,’ उनले भने, ’अब तपाईंको सरकार ढाल्ने कामलाई हामीले मुख्य विषय बनाएका छैनौं । भ्रष्टाचारीको रक्षाका लागि लागेको सरकार आफैं कुहिएर झर्छ, हामीले ढाल्नु पर्दैन ।’

गत शुक्रवार सत्तारुढ सात राजनीतिक दलले जारी गरेको सात बुँदे साझा वक्तव्यमा सडकबाट सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य नहुने उल्लेख गरिएको थियो । 

’सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन । लोकतन्त्रको विकल्प अझ उन्नतस्तरको लोकतन्त्र हो र सरकारको विकल्प खोज्ने बाटो संसद र नयाँ जनादेश नै हो,’ वक्तव्यमा भनिएको थियो ।

null 

सत्तारुढ दलहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको गिरफ्तारीपछि उत्पन्न परिस्थिति र माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभालाई लक्षित गर्दै सडकबाट सरकारको विकल्प खोज्ने कुरा अस्वीकार्य भएको बताएका हुन् । 

सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले त्यही कुरालाई समातेर सरकारमाथि आगो ओकलेका थिए । ’सरकार ढाल्न यो खबरदारी सभा आयोजना गरेका हैनौं । सत्तापक्षमा आतंक देखा पर्यो । सरकार आजै ढल्छ, भोलि ढल्छ भन्ने डर त्यहाँ छ,’ उनले भने, ’संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा छ, हामीले त्यसको रक्षाका निम्ति खबरदारी सभा आयोजना गरेका हौं ।’

प्रचण्डले अब प्रधानमन्त्री र मन्त्री बनाइदिनुस् भन्दै आफूहरू कांग्रेस–एमालेसँग नजाने स्पष्ट पारे । ’यसअघि सहकार्य गरेर गल्ती गर्यौं, तपाईंहरूको रोग अलिअलि हामीलाई पनि सर्यो । हामी गम्भीर चिन्तामा छौं । अब हामी मन्त्री बनाइदिनुस, प्रधानमन्त्री बनाइदिनुस भन्दैनौं,’ उनले थपे । 

कसैले नगरेको काम माओवादीले गरेको दाबी

null

सम्बोधनका क्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले २००७ सालमा राणा शासनको पतनपछि कसैले गर्न नसकेको काम माओवादी केन्द्र नेतृत्वको सरकारले गरेको दाबी गरे ।  

’राणा शासनको अन्त्यपछि सात सालयता हाम्रो सरकारले कसैले नगरेको काम गर्यो । हामी प्रधानमन्त्री र गृहमन्त्री रहँदा कहिल्यै राम्रोसँग सुत्न नपाइने भो भनेर भ्रष्टाचारीहरूले भन्ने गर्थे,’ उनको भनाइ थियो । 

माओवादी केन्द्रले आफ्नो नेतृत्वको सरकार हुँदा सुशासनका पक्षमा धेरै काम गरेको दाबी गरिरहेको छ । त्यही दाबीलाई दोहोर्याउदै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले आफू गृहमन्त्री हुँदा भ्रष्टाचारीलाई समाउँदै जेल हाल्दै गरेकाले कांग्रेस–एमाले तर्सिएको बताएका हुन् । 

अध्यक्ष प्रचण्डले पनि आफूले नेतृत्व गरेको सुशासनका अभियानलाई अहिलेको सरकारले अवरुद्ध गरेको आरोप लगाए । 

‘यो सरकार नसच्चिए संसद् र सडकमा तपाईंहरूले त्यो प्रतिरोध देख्नुपर्नेछ, जसको तपाईंहरूले कल्पना गर्नुभएको छैन । बाढीपहिरो र बिपत्तिमा नदेखिने सरकार दल विभाजन गर्ने अध्यादेश ल्याउन, उपसभामुख हटाउन र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हटाउन देखिन्छ, यो हर्कत सरकारका लागि महंगो पर्नेछ ।’

रवि र कुलमानबारे धारणा यस्तो 

सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले सहकारी प्रकरणमा हाल हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको बचाउमा खबरदारी सभा आयोजना नगरिएको प्रष्ट पारेका थिए ।   

उनले सहकारी प्रकरणमा संसदीय छानबिन विशेष समिति बनाउन उचित हुन्छ भन्ने कुरा आफूले राखेको भएपनि अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले समिति गठन गर्न नमानेको बताए ।

null 

उनले भने, ‘रवि लामिछानेको कुरा चलिरहेको थियो । मैले तपाईं निर्दोष हुनुहुन्छ भने डराउनुपर्ने कारण के छ भनेको हो रविलाई पनि । त्यहीअनुसार बनोस् भनेको हो । बन्न हुँदैन भन्ने ओलीजी हो । रविलाई हरहालतमा बचाउनैपर्छ भन्ने ओलीजी हो ।’

प्रचण्डले एमाले र कांग्रेससँग सम्बन्धित व्यक्तिलाई छानबिन नगर्ने, तर अहिले प्रतिपक्षलाई मात्रै पूर्वाग्रह राख्ने नियत बेठीक भएको बताए ।

तर, अध्यक्ष प्रचण्ड नेपाल विद्युत् प्राधिकरणका ‘विवादित’ प्रबन्ध निर्देशक कुलमान घिसिङको भने पक्षमा देखिए । सम्बोधनका क्रममा उनले भने, ’कहाँ देखिन्छ सरकार ? दल विभाजन गर्न, कुलमान हटाउन, उपसभामुख हटाउन । त्यस्तो ठाउँमा देखिन्छ सरकार ।’ उनले माओवादी केन्द्रले नै घिसिङको साथ लिएर लोडसेडिङ हटाएको दाबी गरे । 

पूर्वराजासँग नभेटेको प्रष्टीकरण 

अध्यक्ष प्रचण्डले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेको हल्ला फैलिएको भन्दै त्यसको खण्डन गरे ।

null 

‘कतिपयले प्रचण्डले झापामा पुगेर पूर्वराजा ज्ञानेन्द्रलाई भेट्यो भनेर हल्ला चलाएछन्, बरु म झापा विमानस्थलमा भएको थाहा पाएर उनी बीच बाटोबाट फर्केको सुनेको छु,’ उनले प्रश्न गरे, ’जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अर्को क्रान्तिको तयारी गर्दैछ, उसले ज्ञानेन्द्र भेटेको भन्नु सही होला ?’

केही दिनअघि एकजना वरिष्ठ पत्रकारले सामाजिक सञ्जालमा प्रचण्ड र ज्ञानेन्द्रको भेट भएको उल्लेख गर्दै पोस्ट गरेका थिए । 

त्यसपछि प्रचण्डको आलोचना भएको थियो । त्यही कुरालाई खण्डन गर्दै उनले ज्ञानेन्द्रसँग भेट्ने कल्पना पनि नगरेको बताएका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्