०८ साउन २०८३, शुक्रबार

विश्वभर तहल्का मच्चाइरहेको ‘केरा’, मूल्य नै सवा अर्बमाथि

कात्तिक ११, २०८१
काठमाडौं
विश्वभर तहल्का मच्चाइरहेको ‘केरा’, मूल्य नै सवा अर्बमाथि

सन् २०१९ मा इटालियन कलाकार मौरिजियो क्याटेलनले भित्तामा टेप लगाइएको एउटा साधारण केराको कलाकृति अमेरिकाको ’बेसल मायमी बिच’ मेलामा एक लाख २० हजार डलरमा बिक्री गरेका थिए । यसले त्यतिबेला तहल्का मच्चाएको थियो । 

’कमेडियन’ शीर्षकको यस कलाकृतिले त्यतिबेला सामाजिक सञ्जालदेखि समाचार पत्रिका र टेलिभिजन च्यानलसम्म सबैलाई झक्झक्यायो । 

अहिले फेरि यही कमेडियनले एक करोड अमेरिकी डलर (नेपाली रुपैयाँ सवा अर्बभन्दा माथि) सम्मको अनुमानित मूल्यसहित बजार तताउने तयारी गरेको छ । यसलाई पुनः लिलामी वेबसाइट ’सोथबिज’ले आगामी नोभेम्बरमा न्युयोर्कमा पुनः बिक्रीमा राख्दैछ ।

यस कलाकृतिमा एउटा साधारण केरा र एउटा टेपको रोल रहेको छ । यससँगै कलाकृतिको प्रमाणपत्र र स्थापना गर्ने आधिकारिक निर्देशिका पनि खरिददारलाई दिइन्छ । तर यहाँ मुख्य कुरा भौतिक सामग्री होइन, कलाकृतिको अवधारणा हो । 

सोथबिजका प्रवक्ताले ’कमेडियन’ एक अवधारणात्मक कलाकृति रहेको बताएका छन् । यसका भौतिक सामग्रीहरू (टेप र केरा) प्रत्येक प्रदर्शनमा नयाँ सामग्री प्रयोग गरेर प्रतिस्थापन गरिने उनको भनाइ छ ।

सन् २०१९ को मायमीमा भएको आर्ट मेलापछि यो कलाकृति विश्वभरि चर्चाको विषय बनेको थियो । त्यहाँ यो प्रस्तुत हुँदा यसलाई हेर्न भीड जम्मा भएको थियो । 

तर प्रदर्शनीमा एउटा रोचक घटना भएको थियो । कलाकार डेभिड डाटुनाले यो टेपमा टाँसिएको केरा झिकेर खाएका थिए । उनले यस्तो कलालाई भौतिकताविरोधी प्रदर्शनको रुपमा व्याख्या गरेका थिए । 

पछि यो कलाकृतिलाई दक्षिण कोरियाको राजधानी सियोलस्थित लियम म्युजियम अफ आर्टमा पनि प्रदर्शन गरिएको थियो । त्यहाँ पनि एक विद्यार्थीले केरा झिकेर खाएको घटना भाइरल भएको थियो । ती विद्यार्थीले केरा खाएर बोक्रा टाँसिदिएका थिए । 

ती विद्यार्थीलाई भोक लागेका कारणले केरा खानुपरेको ग्यालरीले बतायो र पुनः ताजा केराको प्रयोग गरेर यसलाई प्रतिस्थापित गर्यो ।

सार्वजनिक मूल्यांकन र पुनः लिलामी

’कमेडियन’लाई लिलामीमा राखेर यसले कलाको मूल्यमा अझ गहिरो बहस शुरू गराएको छ । सोथबिजले यसलाई ’कलाकार र हाम्रो पुस्ताका लागि निर्णायक कलाकृति’ भनेर वर्णन गरेको छ । 

यो कलाकृतिलाई पहिलोपटक लिलामीमा राखिँदैछ, जसले थप उत्सुकता जगाएको छ । यसलाई न्युयोर्कमा प्रदर्शन गरिसकेपछि विश्व यात्रामा पठाइनेछ र यसले लन्डन, पेरिस, मिलान, हङकङ, दूबई, ताइपेई, टोकियो र लस एन्जलस घुम्न पाउनेछ । 

आगामी नोभेम्बर २० मा न्युयोर्कमा हुने यस लिलामीमा यस कलाकृतिको वास्तविक मूल्य कति पुग्छ भन्ने विषयले सबैको ध्यान खिचेको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । 

यो केवल एउटा टेप लगाइएको केरामात्रै नभएर कलाको मूल्य र समाजको मूल्यांकनसम्बन्धी बहसको प्रतीक रहेको भन्दै बहस शुरू भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्