०३ साउन २०८३, आइतबार

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी

कात्तिक ११, २०८१
काठमाडौं
फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी

मनिला– फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुगेको उद्धारकर्मीले आइतवार बताएका छन् ।

आँधीपछि आत्तिएर एउटा तालमा हाम फालेका दर्जनौँ मानिस अझै हराइरहेका छन् भने उनीहरूको खोजी भइरहेको छ । गत अक्टोबर २४ मा फिलिपिन्समा आएको ‘ट्रामी’ यस वर्षको सबैभन्दा घातक आँधीमध्ये एक थियो ।

राष्ट्रिय विपद् निकायका अनुसार भूकम्पका कारण पाँच लाखभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् भने कम्तीमा ३६ जना हराइरहेका छन् ।

सबैभन्दा बढी प्रभावित बिकोल क्षेत्रमा प्रहरीले ३८ जनाको डुबेर मृत्यु भएको जनाएको छ ।

‘हामीलाई अझै पनि धेरै फोन आइरहेका छन् र हामी सकेसम्म धेरै मानिसहरूलाई बचाउने प्रयास गरिरहेका छौं,’ बिकोलका क्षेत्रीय प्रहरी निर्देशक आन्द्रे डिजोनले एएफपीसँग भने, ‘आशा छ, त्यहाँ थप मृत्यु हुनेछैन ।’

डिजोनले यस क्षेत्रको क्यामारिन सुर प्रान्तका ‘धेरै बासिन्दाहरू’ अझै पनि आफ्नो घरको छत र माथिल्लो तलामा फसेको बताए । 

मनिलाको दक्षिणमा पर्ने बाटाङ्गासमा मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको प्रान्तीय प्रहरी प्रमुख ज्याकिन्टो मालिनाओले एएफपीलाई जानकारी दिए । 

क्याभिट प्रान्तमा डुबेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

एएफपीको आधिकारिक प्रहरी र विपद् निकाय स्रोतका अनुसार अन्य प्रान्तमा थप पाँच जनाको शव फेला परेपछि मृतकको सङ्ख्या १०० पुगेको छ ।

नागरिक सुरक्षा कार्यालयका एडगर पोसाडासले एएफपीसँग भने, ‘आगामी दिनमा अझै धेरै मानिसको मृत्यु भएको जानकारी आउने सम्भावना छ किनभने उद्धारकर्ताहरू पहिलेभन्दा फरक स्थानमा उद्धारका लागि पुगेका छन् ।’

प्रहरी, तटरक्षक र मरिन ड्राइभिङ टोलीले आइतबार पनि बाटाङ्गासको तालमा हामफालेका भनिएका सात परिवारको खोजी गरिरहेका छन् ।

प्रान्तीय प्रहरी प्रमुख मालिनाओले भन, ‘पहाडको पानीले बालेटे शहरमा रहेको उनीहरूको घरमा पहिरो र बाढी ल्याएपछि उनीहरूको घर भत्किने डरमा आत्तिएर तालमा हाम फालेका थिए ।’

बटाङ्गासमा अधिकांशको मृत्यु वर्षापछि आएको पहिरोका कारण भएको बताइएको छ ।

माटो, ढुङ्गा र ढलेका रुखको थुप्रोबाट २० जनाभन्दा बढीको शव निकालिएको छ भने कम्तीमा २० जना अझै हराइरहेको प्रहरीले जनाएको छ ।

मालिनाओले भने, ‘सबै शव नभेटिएसम्म हामी खोजी जारी राख्नेछौं ।’

उत्तरी फिलिपिन्सको विभिन्न भागमा आएको बाढीका कारण करिब पाँच लाख ६० हजार मानिस विस्थापित भएको राष्ट्रिय विपद् निकायले आइतवार जनाएको छ ।

प्रत्येक वर्ष करिब २० वटा ठूला आँधीबेहरीले फिलिपिन्स र यसको वरपरका घर र पूर्वाधारमा क्षति पुर्याउने गरेको छ भने दर्जनौं मानिसको ज्यान लिने गरेको छ । 

एशिया–प्रशान्त क्षेत्रका आँधीबेहरीहरू समुद्र तटको नजिक बढ्दै गएको र जलवायु परिवर्तनका कारण जमिनमा अझ तीव्र र लामो समयसम्म टिक्ने आँधी आउने हालै गरिएको एक अध्ययनले देखाएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्