२४ जेठ २०८३, आइतबार
सरसर्ती २४ घण्टा

अवहेलना मुद्दामा बार अध्यक्षको लिखित जवाफ पेसदेखि सुनको मूल्यमा कीर्तिमानसम्म

कात्तिक १२, २०८१
काठमाडौं
अवहेलना मुद्दामा बार अध्यक्षको लिखित जवाफ पेसदेखि सुनको मूल्यमा कीर्तिमानसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्राप्त गर्न र टिकाउन राष्ट्रियताको सवालमा सौदाबाजी नगर्ने बताएका छन् । 

नेकपा एमालेको भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार टिकाउन राष्ट्रियताको सवालमा सौदाबाजी र घिनलाग्दो काम नगर्ने बताएका हुन् । 

‘हामी अरुको हितमा असर नपार्ने र आफ्नो जायज हित नछाड्ने सङ्कल्पका साथ अघि बढिरहेका छौं,’ ओलीले भने, ‘सरकार प्राप्त गर्न वा सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै पनि सौदाबाजी गर्ने जस्ता घिनलाग्दा काम हामीबाट हुँदैन ।’

००००

जावलाखेल मैदानमा आयोजित १७औँ गोदावरी पुष्प मेला आइतबार सम्पन्न भएको छ । चार दिन चलेको मेलामा ४३ हजार ६ सय जनाले अवलोकन गरेका थिए भने रु एक करोड १८ लाखको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपालका पूर्वअध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।

००००

सर्वोच्च अदालतले बहुचर्चित कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्धको रिट निवेदन खारेज गर्ने फैसला सुनाएको छ । 

न्यायाधीश डा कुमार चुँडाल र विनोद शर्माको संयुक्त इजलासले आइतबार रिट निवेदन खारेजीको फैसला गरेको हो । अदालतले उक्त रिट निवेदन खारेज गरेसँगै सो आयोजना अघि बढाउने बाटो खुलेको छ ।

००००

नेपाल साफ माहिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा आइतबार भएको सेमिफाइनल खेलमा बलियो टोली भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

००००

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्दै आफ्नो अभिव्यक्तिबाट अदालतको अवहेलना गर्ने मनसाय नभएको बताएका छन् ।

न्यायाधीशद्वय कुमार रेग्मी र डा कुमार चुडालको संयुक्त इजलासल यही कात्तिक १ गते अध्यक्ष घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सूचना पाएको मितिले सात दिनभित्र आफैँ वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष घिमिरेविरुद्ध सर्वोच्च अदालतका उपरजिस्ट्रार तथा सूचना अधिकारी गोविन्दप्रसाद घिमिरले अदालतको अवहेलनासम्बन्धी प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनमाथिको सुनुवाइपछि अदालतले कारण देखाऊ आदेश गर्दै लिखित जवाफ माग गरेको थियो ।

००००

उडान अनुमति नलिई काठमाडौं आएको थाई एयर एसियाको विमानलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ ।

थाइल्याण्डबाट काठमाडौं आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारबाही गरिएको हो । करिब एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

००००

पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले वैकल्पिक राजनीतिका लागि उदाएका शक्तिबीच २०८४ सालको चुनावमा समीकरण बन्ने बताएका छन् ।

यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग पनि अनौपचारिक कुराकानी चलिरहेको उनले बताए ।

००००

सुनको मूल्यमा आइतवार नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतवार सुन तोलामा एक हजार ४०० रुपैयाँले वृद्धि भएको हो । 

शुक्रवार प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतवारका लागि एक लाख ६७ हजार ४०० निर्धारण भएको छ । जुन मूल्य हालसम्मकै उच्च हो । 

००००

साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अङ्कले घटेको छ ।

आइतबार नेप्से परिसूचक ९.१९ अङ्कले घटेर २६१७.९५ को विन्दुमा अडिएको हो । यस दिन बजारमा १ करोड ११ लाख ३४ हजार १७८ कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब ७३ करोड २४ लाख ७८ हजार रुपैयाँको कारोबार भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्