२२ जेठ २०८३, शुक्रबार

तलब नपाएपछि विद्यालय बन्द गरेर शिक्षक आन्दोलित, सात हजार विद्यार्थीको पढाइ प्रभावित

कात्तिक १३, २०८१
सप्तरी
तलब नपाएपछि विद्यालय बन्द गरेर शिक्षक आन्दोलित, सात हजार विद्यार्थीको पढाइ प्रभावित
फाइल तस्वीर

सप्तरीको हुनमाननगर कङ्कालिनी नगरपालिकाका शिक्षकहरूले तलबभत्ता नपाएको भन्दै विद्यालय बन्दगरी आन्दोलित भएपछि शिक्षण कार्य प्रभावित भएको छ  ।  

चाडपर्व आउँदासमेत काम गरेको तलब पाउन नसक्दा समस्या भएको भन्दै पालिकाका पाँच मावि र ३० वटा सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलित भएका हुन् । 

उनीहरूले तलबभत्ता नपाएको भन्दै आइतबारदेखि नगरपालिका कार्यालयको मुल गेटमा धर्ना दिएका हुन् । 

शिक्षकहरू विद्यालय बन्दगरी धर्नामा बस्दा करिब सात हजार आठ सय ७३ विद्यार्थी पठनपाठनबाट वञ्चित भएका छन् । 

नगरपालिकामा कार्यरत दुई सय २२ शिक्षक अहिले आन्दोलित भएका नगर कार्यालयले जनाएको छ । आन्दोलनका कारण नगरपालिकाभित्रका सबै विद्यालयको पठनपाठन प्रभावित बनेको छ ।

सङ्घर्ष समितिका संयोजक अशोक कुमार यादवले भने, 'चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको तलबभत्ता नपाउँदा समस्या भइरहेको छ । दशैं जसोतसो ऋण लिएर काट्यौँ, तिहारमा पनि तलब नपाए घरखर्च जुटाउन नै सास्ती हुनेछ ।'

यसअघि सङ्घर्ष समितिले कात्तिक ६ गते नगरप्रमुख विरेन्द्र माझीलाई तीन दिनको समयसीमा दिँदै शिक्षकले पाउनुपर्ने तलबभत्ता यथाशीघ्र निकासा गर्नेबारे ज्ञापनपत्र बुझाएको थियो । 

नगरप्रमुख माझीले केही विषयमा विवाद सृजना भई समयमा नगरसभा सम्पन्न हुन नसकेकाले समस्या भइरहेको बताए । उनले यथाशीघ्र समस्या समाधान गर्न आफू प्रयासरत रहेको उल्लेख गरे।

salt training

कमेन्ट गर्नुहोस्