
साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ । बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाल बंगलादेशसँग २–१ गोल अन्तरले पराजित बनेको हो ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको सुरुवातमा भने बंगालदेशले अग्रता लिएको थियो । नेपालको डिफेन्सको गल्तीको फाइदा उठाउँदै मोनिका चक्माले बंगलादेशलाई अग्रता दिलाएकी हुन् ।
तर, बंगलादेशको अग्रता लामो समय टिकेन । अमिषा कार्कीले लगत्तै बराबरी गोल फर्काइन् । यसैगरी खेल सकिन १० मिनेट बाँकी छँदा रितुपोर्ना चक्माको क्रसलाई गोलकिपर एन्जिला तुम्बापोले क्लियर गर्न खोजेपनि बलले गोलको दिशा लियो ।
यो पटक उपाधि जित्ने नेपालले सपना साँचेको भएपनि हारसँगै अधुरै बन्न पुगेको छ।