
काठमाडौं, २२ कात्तिक — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प पहिले त चिनियाँ राष्ट्रपति सी चिनफिङसँग निहुँ खोजिरहेका हुन्थे । दम्भी अर्बपति ट्रम्पलाई पार्टीको तुलनामा आफ्नो कद अग्लो रहेको र उनको अगाडि राष्ट्रिय परियोजनाहरूको पनि खासै महत्त्व नरहेको जस्तो लाग्छ ।
ट्रम्पको यो व्यक्तित्व चीनको कम्युनिस्ट पार्टीको कडा अनुशासनका अगाडि खासै काम लागेन र पछि उनले सीको तारिफ गर्न थाले । संसारका दुई महाशक्तिका यी नेताहरू विरोधाभासका बीच बेइजिङमा भेटघाट गर्दैछन् ।
ट्रम्पको रिपब्लिकन पार्टीका वरिष्ठ सदस्यहरूले ह्वाइट हाउसलाई ज्येष्ठ नागरिक स्याहार केन्द्र नाम दिएका छन् । सीको पार्टीका प्रतिनिधि भने आफ्ना नेतालाई महान्, बुद्धिमान् र समाजवादका मसिहा मान्छन् । ट्रम्प चाहिँ आफ्ना अमेरिकी पूँजीवादी साथीहरूमा पनि निर्भर छैनन् ।
अमेरिकामा प्रविधि क्षेत्रका मानिस ट्रम्पसँग एसियाको भ्रमणमा गएका छैनन् । अघिल्लो हप्ता फेसबूकका मार्क जुकरबर्ग, एप्पलका टिम कूक र माइक्रोसफ्टका सत्य नाडेला बेइजिङमा कुम जोडेर उभिएको देखिएका थिए ।
व्यक्तिगत रूपमा ट्रम्प र सीका बीच धेरै असमानता छ । त्यसो त ट्रम्पले सीलाई सम्मान गर्ने बताएका छन् । सीको असाधारण उदयबाट पनि ट्रम्प प्रभावित छन् ।
ट्रम्पका पूर्व मुख्य रणनीतिकार स्टिफन ब्याननले संसारमा ट्रम्पले सीलाई जति प्रशंसा अरू कसैलाई नगरेको बताएका छन् । तर सार्वजनिक रूपमा सीले ट्रम्पलाई साथीबाहेक कहिल्यै पनि महान् वा सक्षम नेता भनेनन् ।
सीले अमेरिकी लेखकहरू वाल्ट ह्विटम्यान, मार्क ट्वेन र अर्नेस्ट हेमिंग्वेहरूका कृति पढेको बताएका छन् । ट्रम्पले पनि आर्ट अफ द डील नामक किताब लेखेका छन् तर सीले त्यो पढेको उल्लेख गरेका छैनन् ।
ट्रम्पको किताब अमेरिकामा बेस्टसेलर थियो होला तर सीका लागि क्लासिक लेखक सुन जुको किताब आर्त अफ वार बढी महत्त्वपूर्ण छ । सीले त्यसैबाट शासनकला सिकेका हुन् ।
यो प्राचीन सैन्य ग्रन्थ सबै चिनियाँ रणनीतिकारलाई लागि महत्त्वपूर्ण पुस्तक हो । यसमा भनिएको छ, ‘शत्रुलाई चिन, आफैंलाई चिन अनि मात्र विजय सुनिश्चित हुन्छ । धरातलीय यथार्थलाई बुझ, मौसमको बारेमा थाहा पाऊ, त्यसपछि जीत तिम्रै हो ।’
सी र ट्रम्पबीच जीवनमै विरोधाभास छ । सी एक कम्युनिस्ट क्रान्तिकारीका छोरा हुन् । चीनमा सत्ताको शीर्षस्थानमा पुग्नुअघि सीले किसानका रूपमा सात वर्षसम्म गुफामा जीवन बिताएका थिए ।
ल्गभग नौ करोड पार्टी सदस्यहरू रहेको चिनियाँ कम्युनिस्ट पार्टीमा कठोर अनुशासन र रणनीतिक धैर्य महत्त्वपूर्ण हुन्छ । उता ट्रम्पको आचरणमा यी गुणहरू देखिँदैनन् ।
दुई नेताको शैली पनि फरक छन् । सीले कुनै पनि वाक्य म बाट शुरु गर्दैनन् । उनका लागि राष्ट्रिय झण्डाको मर्यादा बढी छ । सीले चीनको कायाकल्पको सपनालाई दृढताका साथ अघि बढाएका छन् ।
चिनियाँ राष्ट्रपतिको व्यवहारमा गम्भीरता र सन्तुलन रहन्छ । सीको व्यक्तित्वप्रति चिनियाँमा आकर्षण छ ।
चीनका विद्यालय, विश्वविद्यालय, कम्पनी र सरकारी कार्यालयमा सी चिनफिङ विचार पढाइनेछ ।
उता ट्रम्पमा आत्ममुग्धता छ । उनको व्यक्तित्वका विषयमा मानिसहरूको मनमा भन्दा पनि आफ्नै मनमा आकर्षण छ । ट्रम्पको वाक्यको शुरुवात 'म' बाट हुन्छ ।
धनकुबेर र कम्युनिस्ट नेताका बीच यति धेरै विरोधाभासका बाबजुद समानता पनि छन् । दुवैले शक्तिशाली देशको नेतृत्व गरेका छन् । दुवैलाई आफूमाथि पूर्ण विश्वास छ । दुवै आफूलाई देशको मसीहा ठान्छन् ।
दुवैलाई संसारमा आफ्नो देशको स्थान विशेष छ जस्तो लाग्छ । सीले चीनको महान् कायापलटको कुरा गर्छन् अनि ट्रम्पले अमेरिकालाई फेरि महान् बनाउने कुरा गर्छन् ।
यसै हप्ता ट्रम्प र सी विश्व मञ्चमा भेला हुँदैछन् । ट्रम्पको भ्रमणलाई चीनले राजकीय भ्रमणभन्दा एक कदम अघि बढेर हेरिरहेको छ । चीनले यसलाई स्टेट भिजिट प्लस नाम दिएको छ ।
ठूलो प्रश्न के छ भने दुवै देश आफ्नो बाटो मिलेर हिँड्छन् कि दुईमध्ये एकले मूल्य चुकाउनुपर्छ । यो प्रश्न लामो समयसम्म उठाउन सकिन्छ ।
सन् २०१७ को चीन अत्यधिक आत्मविश्वासका साथ उभिएको छ । सीको नेतृत्वमा चीनले अमेरिकी तरिकाविरुद्ध लड्न प्रतिबद्धता देखाएको छ ।
बीबीसीमा प्रकाशित केरी ग्रेसीको रिपोर्ट