
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १६०२ मेगावाट रेकर्ड गरिएको छ ।
आइतबार साँझ ६.२५ बजे पिक डिमाण्ड १६०२ मेगावाट रेकर्ड गरिएको हो । गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १४३८ मेगावाट थियो । गत वर्षकोभन्दा यस वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १६४ मेगावाट बढी हो ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्ने बताएका छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानमा बिहीबार आयोजित ‘सिस्नोपानी देउसी कार्यक्रम–२०८१’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार देशको विकास र आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहेको बताए ।
००००
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी घरदैलो अभियानमा केन्द्रित रहेको बताएका छन् ।
नेकपा माओवादी केन्द्र मध्यपुरथिमि नगर कमिटीले नेपाल सम्वत् १४४५ नयाँं वर्षको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष दाहालले आफ्नो नेतृत्वको सरकारको पालामा जनताको पक्षमा भए गरेका कामहरुबारे जानकारी दिन घरदैलोमा जाने बताए ।
००००
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले आजदेखि तिलिटर एक रुपैयाँले मूल्य घटाएको हो ।
जसअनुसार काठमाडौंमा मूल्य १५० रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको मूल्यमा भने कुनै परिवर्तन गरेको छैन ।
००००
सहकारी ठगी र संगठित अपराध मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी बञ्जाडे यतिबेला कास्की प्रहरीको हिरासतमा छन् ।
छवि ३९ दिनदेखि र रवि १४ दिनदेखि कास्कीमै छन् । रविलाई हिरासतको माथिल्लो तलामा र छविलाई भुईँ तलामा राखिएको छ । छविले गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम अपचलन भएको विषयमा आफूलाई भन्दा बढी रविलाई थाहा भएको बयान प्रहरीमा दिएका थिए ।
उनकै बयानलाई पनि प्रहरीले मिसिलमा समेटेको छ । गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि र सञ्चालक छविबीच अहिले दैनिक देखादेख हुन्छ । तर, राम्रो बोलचाल हुन पाउँदैन ।
म्याद थप गर्न अदालत लगेका बेला भने उनीहरूबीच कुराकानी भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका एक प्रहरी अधिकृतका अनुसार रविले छविलाई भेटेपछि भनेका थिए, ‘छवि सर, ममाथि सरकारले प्रतिशोध साँध्न खोज्दा तपाईंलाई पनि फसाए, चिन्ता नगर्नुहोस्, हामी छुट्छौं ।’
००००
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा सम्पन्न विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा सहभागी भइ बिहीबार स्वदेश फर्किएका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजस्व सचिव दिनेशकुमार घिमिरेले स्वागत गरेका थिए ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा उनले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी गराएका हुन् । उक्त खेलमा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही तीन लाखका दरले पुरस्कार पाउनेछन् ।
००००
१५ औं महाधिवेशनको तयारीमा लाग्नुपूर्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरूलाई सक्रिय गराउन थालेका छन् ।
सभापतिमा ४ वर्षका लागि निर्वाचित भएका शेरबहादुर देउवाले ३ वर्ष भएपछि पार्टीका संरचनालाई थप सक्रिय बनाउन थालेका हुन् ।
००००
नेपाल प्रहरीले अपराध अनुसन्धानमा प्रयोग हुँदै आएका तालिमप्राप्त कुकुरहरूको पूजा गरेको छ । कुकुर तिहारको अवसरमा काठमाडौंको महाराजगंजस्थित केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलमा विशेष समारोहबीच कुकुरहरूको पूजा गरिएको हो ।
बिहीबार बिहान कुकुर तिहार र दिउँसोदेखि लक्ष्मीपूजाको तिथि थियो । संस्कारअनुसार हिन्दु नेपालीले बिहीबार कुकर तिहार कुकुरहरुको पूजा गर्दै तथा लक्ष्मीपूजा घरघरमा माता लक्ष्मीको पूजा गरेर सम्पन्न गरिएको छ ।
००००
सुनको मूल्य हालसम्मकै महंगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा बिहीबार भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
बुधबार प्रतितोला २ हजार २ सयले वृद्दि भई १ लाख ७० हजार ७ सयमा कारोबार भएको छापावाला सुन बिहीबारका लागि भने १ लाख ७१ हजार निर्धारण भएको छ ।
००००
नागरिक उड्डयन प्राधिकरणले थाइ एयर एसियाको उडान प्रतिबन्ध फुकुवा गरेको छ । थाइ एयर एसियाले स्पष्टीकरणसहित लिखित रूपमा माफी मागेपछि प्राधिकरणले उडान प्रतिबन्ध फुकुवा गरेको हो ।