
गृहमन्त्री रमेश लेखकले चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व रहेको बताउनुभएको छ ।
‘पर्वत चन्द्रागिरि समाज’द्वारा दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा गृहमन्त्री लेखकले चाडपर्वले परिवार र समाजलाई जोड्ने काम गरेको बताए ।
'कामका कारण मानिस टाढा टाढा हुनुपर्छ, चाडपर्व नमनाए परिवारमा दूरी बढ्ने र आफ्नै नातागोतामा नै चिनजान नहुने स्थिति बन्थ्यो । चाडपर्वले मानिसलाई नजिक ल्याउँछ । यसको समाजिकसँगै मानवीय पनि महत्त्व छ,' उनले भने ।
एउटा परिष्कृत समाज निर्माणका लागि चाडपर्व जरुरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले चाडपर्वको अवसरमा जमघट र भेलामा उपस्थित हुने कुराको आफैंमा ठूलो महत्त्व रहेको बताए ।
'हाम्रा ऋषिमुनिहरूले धेरै ठूलो अध्यापन र अनुभवपछि यी पर्वहरूको निर्माण गर्नुभएको हो,' उनले भने ।