
‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा नेपालले अस्ट्रेलियालाई पराजित गरेको छ । एक खेलअघि नै दोस्रो चरण प्रवेश गरेको नेपालले आफ्नो दोस्रो खेलमा आज अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो ।

त्यसअघि हिजो बिहान भएको पहिलो खेलमा नेपालले इङ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।
नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ६ ओभरमा १०० रन मात्रै बनाउन सक्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर १११ रन बनाएको थियो । नेपालका लागि कप्तान सन्दीप जोराले ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै लोकेश बमले ३३ रन बनाए । विवेक यादव र रसिद खानले समान १२-१२ रन बनाउँदा नारायण जोशीले १ रन बनाए ।
बलिङतर्फ नेपालका लागि प्रतिस जिसीले ३ विकेट लिए । यस्तै, लोकेश बम र विवेक यादवले १-१ विकेट लिए ।
नेपालले क्वाटरफाइनलमा आजै दिउँसो श्रीलङ्कासँग खेल्दैछ । नेपालले पहिलो पटक ‘द हङकङ सिक्सेस’ प्रतियोगिता खेलेको हो । प्रतियोगितामा १२ टोली सहभागी छन् ।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भोलि हुनेछ ।