
डेढ दशकअघि रूपन्देहीको दक्षिणी क्षेत्र शुद्धोधन–२ कलुवाको बन्जर जग्गा झाडीले ढाकेको थियो । कृषि उद्यम गर्न त्यो ठाउँमा कसैले उपयुक्त मानेका थिएनन् । बयर, कडीपत्ताको झाडी देख्दा केही गरौँ भन्ने आँट र साहस कसैको आउँथेन । तर, बुटवलका युवा नुरुद्दीन शाहले त्यो झाडीमा कृषि उद्यम गर्न सकिन्छ भन्ने आट र योजना बनाए । ठूलो मेहेनतगरी झाडीलाई कृषियोग्य भूमिमा रूपान्तरण गरी कृषि फर्म सञ्चालन गरे । इन्टिग्रेट फर्मले अहिले सो ठाउँको परिचयसँगै कृषिमा उनको पनि पहिचान बनेको छ ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–२ का उनले व्यवस्थापन क्षेत्रको अध्ययन गरे पनि कृषिप्रति विशेष लगाव थियो । उनले नमूना अर्गानिक ‘शाह कृषि फर्म’ सञ्चालनमा ल्याए । सानैदेखि कृषिको प्यासन भएका शाहले अहिले अर्गानिक कृषि फर्म चलाएर सबैलाई रिसर्च केन्द्रको रूपमा विकास गरेका छन् ।
शाहको अथक मेहनत, परिश्रम, काम प्रतिको लगावले कलुवामा प्रदेशकै नमूना अर्गानिक फर्मको पहिचान बनाएको छ । फर्ममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका कृषकहरू अध्ययन र अवलोकनका लागि आउने गर्छन् । बुटवलमा जन्मे हुर्केका शाहले शहरिया जीवन शैली देखे पनि उनमा सानैदेखि कृषि कर्ममा लाग्ने लगाव थियो । परिवार पनि तरकारी र फलफूल व्यवसायमा रहेकोले उनी त्यहीबाट प्रभावित थिए ।
व्यवसायमा जोडिए पनि परिवार कृषिमा भने त्यति ध्यान दिएको थिएन । नुरुद्दीन आफैँलाई कृषि कर्म गर्न मन थियो । त्यसपछि उनी आफैँले योजना बनाए । शुद्धोधन कलुवामा उनको केही जग्गा थियो भने केही थपे ।
जग्गा किन्दै बढाउँदै कृषिमा लागेका नुरुद्दीनले अहिले २० बिघा क्षेत्रफलमा फर्म निर्माण गरेका छन । एक बिगाहाबाटै कृषि शुरू गरेका नुरुद्दीनले अहिले २० बिघा क्षेत्रफलमा नलगाएको र नफलाएको केही छैन । ‘आफूसँग जति जग्गा थियो । त्यसैबाट शुरू गर्दै अगाडि बढेको हो । जति आम्दानी भयो । जग्गा थप गर्दै लगेँ । अहिलेसम्म पनि फर्ममा लगानी भइरहेको छ,’ शाहले भने ।
उनको फर्ममा सम्पूर्ण फलफूल, तरकारीदेखि कुखुरा, हास र माछासम्म पाइन्छ । ती सबै प्राङ्गारिक अर्थात् अर्गानिक हुन् । उनले नेपालमा अब कृषि उपज खरिद गर्ने नभई निर्यात गर्नेगरी देश अघि बढोस् भन्ने सोचले अभियान शुरू गरेको बताए ।
शाहका अनुसार अहिलेसम्म फर्ममा करोडौं लगानी भइसकेको छ । लगानी हरेक वर्ष बढ्दो छ । उनको फर्ममा तरकारी, फलफूल, पशुपंक्षी पालन, खाद्यान्न उत्पादन र माछा छन् । तराईमा पनि सुन्तला लटरम्मै फलाएका छन् । नपाइने केही छैन ।
२ हजार ५०० आँपका बोट छन् । २० बिघाको फर्ममा २८ प्रकारका मात्र फलफूल नरुद्दीनले लगाएका छन । त्यस्तै २० प्रकारका तरकारी उनको फर्ममा अहिले पनि छ । फर्मममा कुनै पनि विषादी प्रयोग नभएको उनी बताउँछन् । ‘कुनै पनि रासायनिक विषादी हामीले प्रयोग गरेका छैनौँ । हामीलाई आवश्यक पर्ने मल आफैँ उत्पादन गरेका छौँ । त्यसैले फर्मलाई अर्गानिक भनेका हौँ’, उनले भने ।
कृषि क्षेत्रबाट विषादीको अन्त्य गराउने उनको प्रमुख ध्येय छ । कुनै पनि रोग वा कीरा लागेमा गाइभैँसीको मलजललाई औषधिको रूपमा प्रयोग गर्दै आएको उनको भनाइ छ । फर्ममा १२ महिना केही न केही वस्तु उत्पादन हुने उनी बताउँछन् । ‘कुनै पनि महिना उत्पादन भएन भन्ने हुँदैन । यहाँ जे–जे लगाइएको छ । त्यो प्रत्येक महिना केही न केही उत्पादन हुन्छ । त्यसलाई आफैँ बजारीकरण गर्छौँ,’ उनी थप्छन्।
उनले उत्पादन गरेका फलफूल, तरकारी व्यापारीलाई सिधा बिक्री गर्दैनन् । व्यापारीबाट बिक्री गर्दा उपभोक्तालाई र आफू दुवैलाई नोक्सान हुने भएपछि उनी आफैँले बिक्री गर्ने गरेका छन ।
तराईमा उनले लटरम्म सुन्तला फलाएका छन् । फर्ममा अहिले ६० भैंसी, ७० बाख्रा, १५ भेडा, ६० खरायो र पाँच सय हाँस छन् । २० विघा क्षेत्रफलमध्ये ३ बिघा क्षेत्रफल पशु चौपायाहरूका लागि चरण क्षेत्रको रूपमा छुट्याएका छन् । एक बिघामा पशुहरूकै लागि घाँस खेतीसमेत गरेका छन । कुखुरा, हाँस, राज हाँस, लौकाट, परेवा, कालिज, बटटाई, टर्की फाममा नरुद्दीनले पालन गरेका छन ।
मौरी र गड्यौला मल पनि फर्ममा छ । सिजन अनुसार २ बिघा क्षेत्रफलमा खाद्यान्न मकै, गहुँ, धान लगाउने गरेका छन । ६ बिघामा उनले सिजन अनुसारका सबै प्रकारका तरकारी उत्पादन गर्ने गरेका छन् ।१५ बिवघामा २८ प्रकारका फलफूल लगाएका छन् ।
आँप, कटहर, अम्बा, चिकु, अनार, स्याउँ, लिची, मेवा, बेल, नरिवल, जामुन, स्टारफुडजस्ता फुलफूल अहिले फर्ममा रहेका छन् । ५ कठ्ठा क्षेत्रफलमा माछा पालन भएको छ । फर्म शुरू भएको लामो समय भए पनि यसबाट उनले मनग्य आम्दानी गर्न सकेका छैनन् । ‘बन्जर जमिन भएकाले ६ वर्ष माटो सुधार गर्न मात्र लाग्यो । त्यसैले आम्दानी यति भयो भन्ने छैन । जति भएको छ, त्यो लगानी मात्रै गरिएको छ,’ उनले भने ।
शाह अल्फानसो जातको आपलाई विस्तार गर्ने योजनामा छन् । उनले अल्फानोसको आपका १ लाख बिरुवा उत्पादन गर्ने लक्ष्यमा बिक्री गर्दैछन् । मल्टी एग्रो फर्मको रूपमा विकास गर्ने योजना नरुद्दीनको छ । ‘हामीले काम गर्छौँ व्यापार पनि होला । तर यसबाट मात्र म सन्तुष्ट हुन्न । यसलाई कम्तीमा पनि अध्ययनको थलो बनाउनुपर्छ भन्ने लागेको छ । यसलाई रिसर्च सेन्टर बनाउने योजना पनि छ,’ उनले भने ।
फर्ममै उनले मदिरा निषेध रिसोर्ट सञ्चालन गर्ने योजना पनि बनाएका छन् । गाउँले मौलिकता झल्कने साना ४ घर तयार भएका छन् । त्यसमा थप गर्दै मदिरा निषेध रिसोर्ट सञ्चालन गर्ने योजना रहेको उनी बताउँछन् । फर्ममा हाल ३० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी पाएका छन् । कृषि गर्न चाहनेको धैयता हुनुपर्ने उनी बताउछन । कृषिमा राम्रो गरेपछि उनलाई सरकारले अवार्ड पनि दिएको छ ।
नेपालको कृषि क्षेत्र आयातमुखी छ । देशमा तरकारी र फलफूल मात्रै वर्षमा खर्बौंको भित्रिन्छ । कृषि क्षेत्रको समस्या समाधान गर्न राज्यले ठोस कदम चाल्नुपर्ने शाह बताउँछन ।
फोटोः शाह कृषि फर्मका सञ्चालक नुरुद्दीन शाहः तश्विर प्रकाश आचार्य/लोकान्तर डटकम