१८ असार २०८३, बिहीबार

वनहराको भूमिहीन शिविरमा छैन तिहारको रौनक

कात्तिक १८, २०८१
कञ्चनपुर
वनहराको भूमिहीन शिविरमा छैन तिहारको रौनक

तिहार आए पनि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ वनहराको भूमिहीन शिविरमा कुनै रौनक छैन । मजदुरी गरेर जीविका चलाउने शिविरका बासिन्दालाई साँझ बिहानको छाक टार्नै समस्या छ । 

'त्रिपालको झुपडीमा दुई दशकदेखि जसरी दिन बित्दै आएका छन्, त्यसरी नै तिहारमा पनि दुई छाक खानका लागि सङ्घर्ष गर्नुपरेको छ,' शिविरका दलबहादुर बोहराले भने, 'दशैं तिहार जे आए पनि कष्ट उस्तै छ ।'

टीका लगाउन आएका दिदीबहिनीलाई मीठो मसिनो खानेकुरा दिने नभएकाले  दक्षिणा दिन साहुसँग काम गरिदिने वाचा गरी पेस्की पैसा लिएको उनले बताए । 'साहुले काम नगरी कसरी पैसा दिने भनेर नाइनास्ती गरेका थिए । अनुनय विनय गर्दा रु छ सय मागेर ल्याएँ', उनले भने ।

सात वर्ष पहिले दातृ निकायले दिएका त्रिपाल ठाउँठाउँमा च्यातिँदा वर्षात्‌को पानी त चुहिन्छ नै । हिउँदमा शीतका थोपा झुपडी भित्रै खस्छ । 'मजदुरी नगरे चुल्होमा आगो बल्दैन,' अमृता साउदले भनिन्, 'मजदुरी पाउन कठिन छ, पाए पनि थोरै ज्यालामा काम गर्नुपर्छ, अरुसँग मागेर ल्याएका लुगाफाटो लगाएर चाडपर्व मनाउनु परेको छ ।'

छ महिनाअघि कमाउन भारततर्फ गएका शिविरका केशव ताम्राकार घर फर्किएका छन् । 'चार महिना काम पाइयो,' उनले भने, 'बाँकीका दुई महिना काम खोज्नमै बित्यो, चार महिना कमाएको पैसा जहानसँगै हुँदा खान र लुगाफाटोमै सिद्धियो । अहिले रित्तो फर्किएका छौं ।'

तिहारका बेला शिविर नजिकैका बस्तीहरू बत्तीले झकिझकाउ छन् । 'दिउँसो त उज्यालो हुन्छ,' शिविरका दीपेन्द्र सोवले भने, 'रातमा उज्यालो बाल्ने नहुँदा अँध्यारोमै रात काट्नुपर्छ ।'

शिविरका देवकी विष्टलाई छोराले भारतबाट ल्याइदिएको मोबाइल चार्ज गर्न समस्या छ । एकपटक चार्ज गरेबापत छिमेकी गाउँको पसलमा रु १० बुझाउनुपर्छ ।​

सौर्य ऊर्जा खरिद गर्ने चाहना भए पनि आर्थिक अभावले सम्भव छैन । दाताले  उपलब्ध गराइदिए सहज हुने आशामा उनीहरू छन् । शिविरमा दातृ निकायले गाडेका नल्का छन् । नल्काबाट आर्सेनिक र आइरन आउने भएकाले शिविरका धेरै जना पत्थरी र छालासम्बन्धी रोगबाट पीडित छन् । शुद्ध पिउने पानी व्यवस्था नहुँदा उनीहरू समस्यामा छन् ।

सामुदायिक वन छेउकै शिविर भएकाले हात्तीले उत्तिकै दुःख दिने गरेको छ । झुपडीमा मजदुरी गरेर जोहो गरेको अन्न हात्तीले खाइदिने भएकाले कैयौँ दिन भोकै बस्नु परेको कलावती दमाईंले सुनाइन् । शुक्लाफाँटा नगरपालिकाकै बासिन्दा भए पनि पीडा सुनिदिने जनप्रतिनिधि नपाएको उनी बताउँछिन् । 

'यसअघिका जनप्रतिनिधिले शिविरमै आएर हालखबर बुझ्थे, सहयोग गर्थे,' प्रेमबहादुर साउदले भने, 'अहिले कोही जनप्रतिनिधि शिविरमा आउनुभएको छैन, कुनै सहायता पाएका छैनौं ।' सुरक्षित स्थानमा शिविर सार्नुपर्ने उनीहरूको माग छ ।

'सुरक्षित आवाससँगै रोजगारीको माग उठाउँदै आएका हौं,' राधिका सोवले भनिन्, 'सुकुम्बासीको फाराम पनि भरेका छौं, हालसम्म पुनःस्थापनले गति नलिँदा कष्टकर जीवन बिताउन बाध्य छौं ।'

सामुदायिक विद्यालयमा बालबालिका पढाउदा शुल्क तिर्नुपर्ने हुँदा कक्षा ६/७ सम्म पढाएर बीचमै विद्यालय छुटाइ मजदुरीमा लैजानुपर्ने बाध्यता शिविरका बासिन्दाको छ । 

पहिरोले घर खेत लगेपछि सुरक्षित बासस्थानको खोजीमा केही त्यस क्षेत्रमा पुगेका हुन् भने केही पुस्तौंदेखि अर्काको घरमा काम गर्नेहरूलाई विक्रम संवत् २०६२ मा शिविरमा सारिएको हो ।

शिविरमा पहिले १२ परिवारको बसोबास रहेकामा हाल वृद्धि भई २८ परिवार पुगेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्