अमेरिकी राष्ट्रपति चुनावको पूर्वसन्ध्यामा सार्वजनिक भएको एउटा सर्वेक्षणले अमेरिकी राजनीतिक वृत्तमा हलचल ल्याएको छ ।
पछिल्ला चुनावहरूमा रिपब्लिकन पार्टीले निरन्तर जित्दै आएको आयोवा राज्यमा हालै गरिएको एक सर्वेक्षणले अपेक्षाविपरीत नतिजाको संकेत गरेको हो ।
सन् २०२० मा डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनाव हार्दा पनि ८ प्रतिशत मतले जितेको यो राज्यमा अहिले उनी डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसभन्दा ३ प्रतिशत मतले पछाडि परेको देखिएको छ ।
सबैको ध्यान स्विङ स्टेटहरूतर्फ केन्द्रित हुँदा ट्रम्पले पक्का जित्ने ठानिएको राज्यमा पनि उनी पछाडि पर्ने देखिएको हो ।
आयोवा विगत केही चुनावयता निरन्तर रिपब्लिकनको पक्षमा देखिँदै आएको राज्य हो । यो सर्वेक्षणले सम्भावित राजनीतिक परिवर्तनको संकेत गरेको छ।
यस सर्वेक्षणको मुख्य विशेषता यसलाई अनुभवी र भरपर्दो मानिएका पोलस्टर एन सेल्जरले सम्पन्न गरेकी हुन् । आयोवामा उनको सर्वेक्षण निकै सटिक हुने गरेको छ ।
सेल्जरका अनुसार महिला र स्वतन्त्र मतदाता ह्यारिसतर्फ आकर्षित भएका छन् । ६५ वर्ष माथिका महिलाहरूमा ह्यारिसप्रतिको समर्थन २-१ को अनुपातमा देखिएको छ ।
'वृद्ध जनसंख्या स्थिर मतदाता समूह हो । ह्यारिसले यस समूहमा राम्रो समर्थन पाइरहेकी छिन्,' सेल्जरले बीबीसीसँग भनिन् ।
यस सर्वेक्षणले ट्रम्पको वृत्तमा निराशा ल्याएको छ। सीएनएनका अनुसार ट्रम्पका निकटस्थहरूले यस सर्वेक्षणको परिणामलाई ठूलो आघातको रूपमा लिएका छन् ।
केहीले यो गलत भएको दाबी गर्दै ट्रम्पलाई ढाढस दिएका छन्। तर, विशेष गरेर आयोवाका महिलाहरू ह्यारिसको पक्षमा देखिँदा ट्रम्पका सल्लाहकारहरू चिन्तित बनेका छन् ।
ट्रम्पले सार्वजनिक रूपमा आफ्नो असन्तुष्टि व्यक्त गर्दै आयोवाका किसान र राज्यको हितमा आफैंले धेरै योगदान पुर्याएको दाबी गरेका छन् ।
उनले ट्रुथ (सोसल मिडिया)मा लेखेका छन्, 'कुनै पनि राष्ट्रपतिले आयोवा र किसानहरूका लागि मैले गरेजस्तो काम गरेको छैन । र, यो तुलना नै हुन सक्दैन । सबै पोलहरूले मलाई धेरै माथि देखाएका छन्, यस एक पोलबाहेक, जुन डेमोक्र्याटहरूको पक्षमा बनाइएको हो ।'
'हामीले सन् २०१६ र २०२० मा आयोवामा ट्रम्पको जीतको सही अनुमान लगाएको थियौं । हामीले यसपटक पनि विगतकै जस्तो विधि प्रयोग गरेका छौं,' सेल्जरले आफ्नो सर्वेक्षणको बचाउ गर्दै न्युजवीकसँग भनेकी छन् ।
यो राज्यमा ६ इलेक्टोरल भोट छ ।