०५ साउन २०८३, मंगलबार
अमेरिकी चुनावको प्रभाव

ह्वाइट हाउसमा ट्रम्पको पुनरागमन– नेपालसहित दक्षिण एसियामा कस्तो पर्ला प्रभाव ?

कात्तिक २१, २०८१
काठमाडौं
ह्वाइट हाउसमा ट्रम्पको पुनरागमन– नेपालसहित दक्षिण एसियामा कस्तो पर्ला प्रभाव ?

संयुक्त राज्य अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा रिपब्लिकन उम्मेदवार डोनाल्ड जे. ट्रम्पले बाजी मारेपछि पर्ने आर्थिक र भू-राजनीतिक प्रभावबारे विश्वभर चर्चा भइरहेको छ ।

ट्रम्पले निष्कर्षविहीन युक्रेन-रुस युद्ध र मध्यपूर्वमा बढिरहेको जटिलताका बीच ह्वाइट हाउसको कमान्ड सम्हाल्ने भएका हुन् । उनले यसअघि सन् २०१६ देखि २०२० सम्म लिएका कतिपय नीतिको अमेरिकामै र विश्वका अन्य कतिपय देशमा आलोचना भएको थियो ।

ट्रम्पलाई आप्रवासीप्रति अनुदार नेताका रूपमा चित्रित गर्ने गरिएको छ ।

यसअघिको कार्यकालमा अमेरिकाको कट्टरविरोधी मानिएको उत्तर कोरियालगायतका अन्य देशसँग उनले देखाएको 'नरम कूटनीति'को सराहना पनि धेरैले गरेका थिए ।

ट्रम्पको जीतले दक्षिण एसियाको सन्दर्भमा अमेरिका-भारतबीचको सम्बन्ध बढी प्रभावित हुने कतिपय विज्ञहरूको दाबी छ । ट्रम्पको पुनरागमनले नेपाल, भुटान, बंगलादेश, श्रीलंका लगायतका अन्य दक्षिण एसियाली देशप्रतिको अमेरिकी नीतिमा खासै परिवर्तन आउने अनुमान गरिएको छैन ।

नेपालको उत्तरी छिमेकी राष्ट्र चीनसँग अमेरिकाको व्यापार युद्ध भने बढ्न सक्ने संकेत ट्रम्पले आफ्नो धेरै चुनावी भाषणमा दिएका छन् । विशेष गरेर चिनियाँ विद्युतीय सवारी साधनको कर शतप्रतिशत बढाउने र चीनमा बनेका कम्प्युटर चिपको आयातमा रोक लगाउने भन्दै ट्रम्पले पटक-पटक भाषण गरेका छन् ।

ट्रम्पको पुनरागमनसँगै अमेरिका-भारतबीच बदलिने ठानिएको सम्बन्ध र चीनसँगको व्यापार युद्धले नेपालको अर्थतन्त्रमा अप्रत्यक्ष रूपमा प्रभाव पार्न सक्ने विश्लेषकहरूको मत छ ।

रुस-युक्रेन युद्ध जसरी पनि रोक्न पहल गर्ने ट्रम्पको प्रतिबद्धता सराहनीय भएपनि मध्यपूर्वमा बढिरहेको युद्ध र मानवीय संकट भने इरानसँग बढ्ने अनुमान गरिएको मनमुटावसँगै थप गहिरिने अनुमान गरिएको छ ।

व्यापार र अर्थतन्त्र

रुस-युक्रेन युद्ध समाप्त भयो भने भारतबाट प्रशोधित हुँदै युरोप जाने रुसको पेट्रोलियम पदार्थ रुसबाट सिधै युरोप पुग्न सहज हुनेछ । यसबाट भारतको प्रशोधन उद्योग बन्द हुने र अर्थतन्त्रमा असर पर्न सक्ने भारतीय सञ्चारमाध्यमहरूले विश्लेषण गरेका छन् ।

नेपालको हकमा रुस-युक्रेन युद्धले पारेको आर्थिक असर केही कम हुने भएपनि अर्थतन्त्रमा भारतसँगको निर्भरताका कारण भारतलाई पर्ने प्रत्यक्ष असरले नेपाललाई पनि प्रभावित पार्न सक्ने विश्लेषकहरूको मत छ । ट्रम्पको पहिलो कार्यकालमा दक्षिण एसियामा अमेरिकी नीतिलाई धेरै आक्रामक र रणनीतिक रूपमा प्रस्तुत गरिएको थियो ।

ट्रम्पले 'अमेरिका पहिलो' नीतिअन्तर्गत भारतसँग बलियो व्यापारिक र सामरिक साझेदारीलाई प्राथमिकता दिएका थिए । नेपालले ऐतिहासिक कालखण्डदेखि नै भारत र चीनसँगको सम्बन्ध सन्तुलनमा राख्न खोजिरहेको छ । ट्रम्पले यदि भारतसँगको आफ्नो पुरानो नीतिलाई कायम राखे भने नेपाल भारत-चीनबीचको प्रतिस्पर्धा थप कडा हुन सक्छ । यो अवस्थामा नेपालले चीन र भारत बीचको कूटनीतिक दबाबको सामना गर्नुपर्ने हुन्छ र यसले नेपाललाई झन् कठिन स्थितिमा पुर्‍याउँछ ।

जलवायु परिवर्तन र पर्यावरणीय प्रभाव

अघिल्लो कार्यकालमा उनले अमेरिकालाई पेरिस सम्झौताबाट बाहिर निकालेका थिए र जलवायु परिवर्तनबारे कठोर दृष्टिकोण राखेका थिए । ट्रम्प पुनः निर्वाचित भएपछि विश्वभर चलिरहेका पर्यावरण सुरक्षा अभियानहरूमा ठूलो धक्का पर्न सक्ने चिन्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गरेका छन् ।

विशेष गरी जलवायु परिवर्तनका कारण हरितगृह ग्यासको प्रभाव अधिक रहेका नेपाल, भुटानजस्ता विकासशील राष्ट्रलाई ट्रम्पको 'अस्थीर' र कठोर जलवायु नीतिले प्रत्यक्ष प्रभाव पार्न सक्नेछ ।

यसले नेपालको जलवायु र ऊर्जा नीतिलाई प्रत्यक्षरूपमा असर पुर्‍याउने सम्भावना छ, जसका कारण नेपालले आफ्नो कूटनीतिक रणनीतिमा फेरबदल गर्नुपर्ने आवश्यकता पर्न सक्छ ।

विश्लेषकको राय - नेपालसँगको आधारभूत सम्बन्धमा असर पर्दैन

परराष्ट्रविद् डा. जयराज आचार्य बाइडेन र ट्रम्प दुवै प्रशासनले नेपाल कूटनीतिमा प्रत्यक्ष प्रभाव नपार्ने बरु नेपालका लागि भारत र अमेरिकाबीच विकसित हुने सम्बन्धले सबैकुरा निर्धारण गर्ने बताउँछन् ।  

'हाम्रा लागि भारत–अमेरिका सम्बन्ध नै मुख्य हो,' डा. आचार्यले लोकान्तरसँग भने, 'व्यापारिक क्षेत्रमा चीनसँग पनि तनाव हुने संकेत देखिएको छ । त्यसको असर पनि नेपालमा पर्न सक्छ ।'

रुस-युक्रेन युद्ध टुंगो लगाउने प्रतिबद्धता ट्रम्पले पूरा गरे भने नाटो (उत्तर एटलान्टिक सन्धि संगठन)मा पनि असन्तुलन आउने डा. आचार्यको भनाइ छ ।

'यसले नाटोको सन्तुलन खल्बल्याउने सम्भावना छ भने भारतले रुसको तेल प्रशोधन गरेर बेच्न नपाउने अवस्थाको सिर्जना हुन सक्छ । मध्यपूर्वको संकट थप गहिरिने देखिन्छ । यी सबै घटनाक्रमले अहिले नेपालमा जेजति असर र प्रभाव पारिरहेका छन्, ट्रम्पले अनुसरण गर्ने नीतिका कारण यी घटनाक्रममा पर्ने प्रभावले नेपाल पनि अछुतो रहन सक्दैन,' डा. आचार्यले भने ।

त्यस्तै, अर्का विश्लेषक गेजा शर्मा वाग्ले पनि नेपाल-अमेरिकाबीचको आधारभूत सम्बन्धमा कुनै प्रभाव नपरे पनि ट्रम्पले लिने विदेशनीतिका कारण अन्य देशमा पर्न सक्ने प्रभावले नेपाल अछुतो नरहने बताउँछन् ।

उनले लोकान्तरसँग भने, 'अमेरिकाको राष्ट्रपतीय निर्वाचन विश्वव्यापी चासोको विषय भएकाले नेपालमा पनि चासो हुनु स्वाभाविक हो । बाइडेन र ट्रम्पको विदेशनीतिबीच केही फरक आधारभूत मान्यता छन् । त्यसको असर नेपाल-अमेरिकाबीचको सम्बन्धमा देखिन सक्छ ।'

उनले डेमोक्य्राटहरूको नीति कानूनको शासनमा बढी मान्यता राख्ने, मानवाधिकार र खुला अर्थतन्त्रमा विश्वास राख्ने र रिपब्लिकनले आफ्नो देशलाई मात्र केन्द्रमा राखेर अघि बढ्ने भएकाले त्यहीअनुसार अमेरिकाले नेपालप्रतिको प्राथमिकता परिवर्तन गर्न सक्ने बताए ।

पूर्व परराष्ट्रमन्त्री एनपी साउद पनि राष्ट्रपतिमा ट्रम्पको पुनरागमनले नेपाल-अमेरिकाबीचको आधारभूत सम्बन्धमा कुनै फेरबदल नआउने तर केही व्यावहारिक प्राथमिकता भने फेरिन सक्ने बताउँछन् ।

लोकान्तरसँग कुरा गर्दै उनले भने, 'ट्रम्पको पुनरागमनले नेपाल-अमेरिकाबीचको सम्बन्धमा ठूलै फेरबदल हुँदैन । बरु ट्रम्पको भारत–चीन नीतिको असर भने यहाँ राम्रोसँग पर्छ ।'

पढ्नुहोस्, यो पनि :

ट्रम्पको जीतले अमेरिकामा लुकेर बसेकालाई असर गर्दैन, नेपालीलाई अमेरिका जान झन् सजिलो हुन्छ
 

salt training

कमेन्ट गर्नुहोस्