
कलैया, २३ कात्तिक– बारा निर्वाचन क्षेत्र नं ३ मा त्रिकोणात्मक लडाइँ हुने भएको छ ।
आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन क्षेत्र नं ३ मा नेपाली काँग्रेसबाट सरकारका वर्तमान मन्त्री फरमुल्लाह मंसुर, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामबाबुकुमार यादव, र वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका पूर्व जिल्ला सचिव अध्यानन्द पाण्डे चुनावी प्रतिष्पर्धामा उत्रेका छन् ।
तीनै नेताहरुबीच कडा प्रतिष्पर्धा हुने मतदाताको भनाइ छ । तर चुनावमा बाजी कसले मार्ला भन्ने कुरा त निर्वाचनको परिमाणले देखाउनेछ ।
कांग्रेस नेता तथा मन्त्री मन्सुरले स्थानीय तहमा गरेका केही राम्रा कामले नतिजा आफ्नो पक्षमा पर्नेमा विश्वस्त छन् । फोरम नेपालका अध्यक्ष यादव भने तराई मधेशको आन्दोलनमा बारामा महत्वपूर्ण भूमिका निर्वाह गरी मधेशको हकअधिकारका लागि लडेकाले नतिजा आफ्नो पक्षमा आउनेमा ढुक्क छन् ।
त्यसैगरी, वाम गठबन्धनका उम्मेदवार पाण्डे स्थानीयस्तरमा विकासप्रेमी नेताका रुपमा चिनिन्छन् । आफ्नो यही पहिचानका कारण आफूले जित्नेमा ढुक्क रहेको उनको दावी छ ।
निर्वाचन क्षेत्र नं ३ का तीनै उम्मेदवार आफ्नो ठाउँमा बलिया नै रहेकाले तीव्र प्रतिष्पर्धा हुने देखिन्छ । निर्वाचन क्षेत्र नं ३ मा कुल ८४ हजार ६६९ मतदाता रहेका छन् ।