
ग्रामीण क्षेत्रमा समुदायस्तरबाट सञ्चालन भएको म्याग्दीस्थित मङ्गला शिक्षा क्याम्पसले अक्षयकोष स्थापनाका लागि तिहार पर्वको अवसरमा सञ्चालन गरेको देउसीभैलोबाट रु ४० लाख सहयोग जुटेको छ ।
मङ्गला गाउँपालिका–२ बाबियाचौरको लाम्पाटामा रहेको क्याम्पसले सेवा क्षेत्रमा तिहारको अवसर पारेर देउसीभैलो कार्यक्रमबाट जुटेको उक्त रकम अक्षयकोषमा बचत गर्ने जनाएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले बुधबारसम्म देउसीभैलोबाट रु ४० लाख सहयोग जुटेको जानकारी दिए । “रु दुई करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्यसहित सञ्चालन भएको अभियानमा देउसीभैलोसहित हालसम्म रु ५३ लाख जुटेको छ । गाउँलेले पेन्सन, छोराछोरीको कमाई र बचतबाट खुलेर सहयोग गर्नुभएको छ”, उनले भने ।