०४ साउन २०८३, सोमबार
ह्वाइट हाउसमा ट्रम्पको पुनरागमन

ट्रम्पको पुनरागमन र विश्व राजनीति: रुस-युक्रेन, मध्यवपूर्वदेखि चीनसम्म कस्तो पर्ला प्रभाव ?

कात्तिक २२, २०८१
काठमाडौं
ट्रम्पको पुनरागमन र विश्व राजनीति: रुस-युक्रेन, मध्यवपूर्वदेखि चीनसम्म कस्तो पर्ला प्रभाव ?

डोनाल्ड ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपति बन्न गइरहेका छन् ।

अमेरिकाको पछिल्लो सय वर्षको इतिहासमा उनी पहिलो यस्तो राष्ट्रपति हुन्, जो बीचमा एकपटक चुनाव हारेर पुनः ह्वाइट हाउस फर्किंदै छन् । ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपति भइसकेका व्यक्ति हुन् ।

ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनले अमेरिकी विदेश नीतिलाई पुनः आकार दिने सम्भावना छ, जसले विश्वका केही भागमा जारी युद्ध र अनिश्चितताको समयमा विभिन्न मोर्चामा व्यापक परिवर्तनको संकेत गर्छ ।

चुनावी अभियानका क्रममा ट्रम्पले गैर-हस्तक्षेप र व्यापार संरक्षणवादमा आधारित नीतिको प्रतिबद्धता व्यक्त गरेका थिए– जसलाई उनले 'अमेरिका फर्स्ट' भनेर परिभाषित गरेका छन् ।

चुनावी अभियानका क्रममा ट्रम्पले आफ्ना नीतिहरूमा व्यापक परिवर्तनको संकेत दिएका थिए । तर, उनले के गर्ने भनेर स्पष्टसँग भनेका छैनन् ।

अन्य देशमा हस्तक्षेप नगर्ने र आफ्नै देशको व्यापारलाई संरक्षण गर्ने नीति उनले अपनाउन सक्छन् । अमेरिकाको हितलाई सबैभन्दा माथि राख्ने उनको नीति हो । उनको चुनावी नारा नै 'अमेरिका फर्स्ट' थियो ।

चुनाव प्रचारका क्रममा ट्रम्पले बारम्बार भनेका थिए– 'रुस र युक्रेनको युद्ध म एक दिनमै अन्त्य गराउन सक्छु । '

कसरी युद्ध अन्त्य गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भनेका थिए– 'म सम्झौता गराउने छु । ' कसरी सम्झौता गराउने भनेर उनले विस्तृत खुलाएनन् ।

ट्रम्पका दुई पूर्व राष्ट्रिय सुरक्षा प्रमुखले मे महिनामा लेखेको एक अनुसन्धान पत्रमा रुससँग शान्ति वार्ताको शर्त राखेर युक्रेनलाई हतियार आपूर्ति जारी राख्नुपर्ने सुझाव उल्लेख थियो ।

अर्कातर्फ रुसलाई आकर्षित गर्नका लागि पश्चिमी देशहरूले युक्रेनलाई नेटोको सदस्यता दिने विषयलाई थाती राख्न सक्छन् ।

ती पूर्व सल्लाहकारहरूले उल्लेख गरेका छन्– 'युक्रेनले रुसको कब्जाबाट आफ्नो सम्पूर्ण भूमि फिर्ता पाउने आशा छाड्नुपर्दैन, तर सम्झौतामा हालको अग्रिम मोर्चाका आधारमा सहमति गर्नुपर्छ । '

डेमोक्र्याटिक पार्टीका नेताहरूको आरोप छ– 'ट्रम्प रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई खुशी पार्न लागिपरेका छन् । यो प्रवृत्ति युक्रेनको मामिलामा समर्पणजस्तै हो । ट्रम्पको यो कदमले पूरै युरोपलाई खतरामा पार्न सक्छ । '

तर, ट्रम्पको भनाइमा युद्ध रोक्नु उनको प्राथमिकता हो ताकि अमेरिकी स्रोत र सम्पत्तिको बर्बादी रोक्न सकियोस् । विभिन्न मुलुकमा भइरहेको युद्धमा सहयोगका नाममा अमेरिकाले ठूलो धनराशि खर्च गरिरहेको छ ।

यद्यपि यो स्पष्ट छैन कि सल्लाहकारहरूको यो अनुसन्धान पत्रले ट्रम्पको दृष्टिकोणलाई कति प्रतिनिधित्व गर्छ, तर यसले विदेश नीतिमा उनलाई कस्तो सल्लाह मिल्न सक्छ भन्ने संकेत अवश्य दिन्छ ।

युद्ध अन्त्य गर्न ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीति र नेटोको भविष्यप्रति उनको दृष्टिकोण पनि सहायक बन्न सक्छन् ।

दोस्रो विश्वयुद्धपछि सोभियत संघको प्रभाव रोक्नका लागि पश्चिमी देशहरूले नेटोको स्थापना गरेका थिए । नेटोमा हाल ३२ सदस्य छन् । तर, ट्रम्पले सधैं नेटोप्रति आशंका व्यक्त गर्दै आएका छन् ।

उनको मान्यता छ– 'नेटोका कुनै पनि सदस्य देशमा आक्रमण भएमा अमेरिकाबाट संरक्षण प्राप्त गर्ने नीतिको फाइदा युरोपले मात्र उठाउँदै आएको छ ।'

अमेरिका नेटोको संस्थापक सदस्य हो ।

अब प्रश्न उठ्छ– 'के अमेरिकाले नेटोको सदस्यता छाड्छ ?' यदि त्यस्तो भयो भने यो लगभग एक शताब्दीदेखि जारी ट्रान्स-एटलान्टिक सम्बन्धमा एक महत्वपूर्ण परिवर्तन हुनेछ । यद्यपि यो अझै बहसको विषयमा मात्र सीमित छ ।

ट्रम्प चाहन्छन्- सदस्य राष्ट्रहरू नेटोको रक्षा खर्चसम्बन्धी मापदण्ड पालना गर्न बाध्य बनून् ।

इजरायल र गाजासहित मध्य-पूर्वमा कस्तो प्रभाव पर्ला?

युक्रेनजस्तै ट्रम्पले मध्य-पूर्वमा पनि शान्ति ल्याउने वाचा गरेका छन् ।

समर्थकहरूको विश्वास छ– उनी गाजामा इजरायल–हमास तथा लेबनानमा इजरायल-हिजबुल्लाहको संघर्ष अन्त्य गराउन सक्छन् । तर, यहाँ पनि उनले यसलाई कसरी गर्ने भनेर खुलाएका छैनन् ।

ट्रम्पले बारम्बार भनेका छन्– 'यदि जो बाइडेनको ठाउँमा म सत्तामा भएको भए हमासले इजरायलमा आक्रमण गर्ने थिएन । इरान समर्थित वित्तीय सहयोगको अधिकतम दबाबको नीतिले यस्तो भएको हो ।'

इरानको मामिलामा ट्रम्प सम्भवतः आफ्नो पुरानो नीतिमा फर्कन चाहन्छन् । ट्रम्पको पहिलो कार्यकालमा अमेरिकाले इरानसँगको आणविक सम्झौता तोडेर प्रतिबन्धको दायरा बढाएको थियो ।

उनकै कार्यकालमा इरानका सबैभन्दा शक्तिशाली कमान्डर कासिम सुलेमानीलाई मारिएको थियो ।

ह्वाइट हाउसमा हुँदा ट्रम्पले इजरायललाई सशक्त समर्थन दिएका थिए । ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानी भनेर अमेरिकी दूतावासलाई तेल अवीवबाट त्यहाँ सारेका थिए ।

यसले ट्रम्पका इसाई इभान्जेलिकल समर्थकहरूलाई उत्साहित बनाएको थियो । यो समुदायमा ट्रम्पका मतदाता धेरै छन् ।

त्यसबेला इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका थिए– अमेरिकी प्रशासनमा यसअघि इजरायलको यस्तो राम्रो साथी कहिल्यै आएको थिएन ।

तर, आलोचकहरूको भनाइ छ– ट्रम्पको यो नीतिले मध्य-पूर्वलाई अस्थिर बनाएको छ ।

प्यालेस्टिनीहरूले ट्रम्पलाई बहिष्कार गरेका थिए, किनकि ट्रम्पले जेरुसेलममा उनीहरूको दाबीलाई अस्वीकार गरेका थिए । जेरुसेलम प्यालेस्टिनीहरूको धार्मिक आस्थाको केन्द्र हो ।

ट्रम्पले इजरायल र अरब मुस्लिम देशहरूबीच शान्तिका लागि अब्राहम सम्झौता गराउँदा पनि प्यालेस्टिनीहरूले आफूलाई बेवास्ता गरिएको महसुस गरेका थिए ।

यो सम्झौता एक स्वतन्त्र प्यालेस्टिनीको भविष्यमा कुनै निर्णय नलिइकन गरिएको थियो ।

अरब राष्ट्रहरूको बीचमा कुनै सम्झौताका लागि दुई राष्ट्रको सिद्धान्त शर्त थियो । अर्थात् इजरायल र प्यालेस्टाइन दुई अलग स्वतन्त्र देश हुनुपर्ने ।

ट्रम्पले आफ्नो चुनावी अभियानमा बारम्बार भनेका छन्– उनी गाजामा चलिरहेको युद्ध अन्त्य भएको देख्न चाहन्छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग उनको सम्बन्ध जटिल रहँदै आएको छ ।

कहिले अति निकट रहेका यिनीहरूको सम्बन्ध धेरैपटक बिग्रिएको पनि छ । र, यो पनि स्पष्ट छ कि ट्रम्पमा नेतान्याहूलाई दबाब दिने क्षमता छ ।

केही प्रमुख अरब राष्ट्रका नेताहरूसँग ट्रम्पको मित्रता छ, जसको हमाससँग पनि सम्बन्ध छ । तर, उनले इजरायललाई बलियो समर्थन दिने नीति र मध्य-पूर्वमा युद्ध अन्त्य गर्ने इच्छाबीच कसरी सन्तुलन मिलाउँछन् भन्ने हेर्न बाँकी नै छ ।

चीनको चुनौती र व्यापार नीति

अमेरिकाले अब आफ्नो विदेश नीतिमा चीनलाई लिएर के दृष्टिकोण अपनाउनेछ ? यो सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो । वैश्विक सुरक्षा र व्यापारमा यसको ठूलो महत्त्व छ ।

जब ट्रम्प सत्तामा थिए, तब उनले चीनलाई आफ्नो 'रणनीतिक प्रतिस्पर्धी' भन्दै केही आयातमा शुल्क लगाएका थिए । त्यसबेला चीनले पनि अमेरिकी सामानमा शुल्क लगाउँदै ‘जस्ताको तस्तै’ नीति अपनाएको थियो ।

तर, पछि यो तनाव कम गर्न प्रयास भए पनि कोभिड संकटले असफल बन्न पुग्यो । ट्रम्पले कोभिडलाई 'चिनियाँ भाइरस' भनेपछि यो सम्बन्ध थप बिग्रियो ।

अमेरिकाको व्यापार नीति त्यहाँका मतदाताको प्राथमिकतालाई ध्यानमा राखेर तय भइरहेको छ । अमेरिकी मतदाताहरूलाई लाग्छ– घरेलु उद्योगलाई संरक्षण गरेमा मात्र औद्योगिक क्षेत्रमा जागिर सुरक्षित रहनेछ ।

तर, स्टिलजस्ता पारम्परिक अमेरिकी उद्योगमा जागिर घट्नुका अरू कारणहरू पनि छन् । कारखानामा स्वचालित प्रविधि (अटोमेशन) र विश्वव्यापी प्रतिस्पर्धाका बीच उत्पादन प्रणालीमा आएको परिवर्तनका कारण पनि रोजगारी कम भएका छन् ।

ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङलाई ‘प्रतिभाशाली’ र ‘खतरनाक’ दुवै भनी सम्बोधन गरेका थिए । लगभग १ अर्ब ४० करोडभन्दा बढी जनसंख्या भएको देशमा सीले कठोररूपमा शासन गरिरहेको उनको भनाइ थियो ।

ट्रम्पका विरोधीहरू यसमा उनको ‘तानाशाही’ रवैयाको झल्को देख्छन्।

ट्रम्प अर्को महत्वपूर्ण परिवर्तन पनि ल्याउन सक्छन्। चीनलाई रोक्न बाइडेन प्रशासनले चीनका छिमेकी देशहरूसँग बलियो सुरक्षा सम्बन्ध बनाउने नीतिलाई समर्थन गरेको छ। तर, ट्रम्प यस नीतिबाट पछि हट्न सक्छन्।

अमेरिकाले ताइवानलाई सैन्य सहायता दिँदै आएको छ। जबकि चीनले ताइवानलाई आफ्नो भूभागको रूपमा दाबी गर्छ । एक दिन यसलाई चीनमा गाभ्ने सीको योजना कसैबाट लुकेको छैन ।

गत अक्टोबर महिनामा ट्रम्पले भनेका थिए कि ह्वाइट हाउसमा उनी फर्किए भने ताइवानको नाकाबन्दी हटाउन चीनविरुद्ध सैनिक बलको प्रयोग गर्ने छैनन् ।

त्यसका लागि व्यापारिक हतियार प्रयोग गर्ने उनको संकेत थियो । 'सी जिनपिङलाई थाहा छ, म पागल छु। म यति धेरै शुल्क लगाउँछु कि चिनियाँ आयात नराम्ररी प्रभावित हुनेछ ।'

  • टम ब्याटम्यानले बीबीसीमा गरेको विश्लेषणको भावानुवाद

salt training

कमेन्ट गर्नुहोस्