१७ असार २०८३, बुधबार

धनगढीका युवक पोर्चुगलमा बेपत्ता, खोजी गरिदिन आग्रह

कात्तिक २३, २०८१
काठमाडौं
धनगढीका युवक पोर्चुगलमा बेपत्ता, खोजी गरिदिन आग्रह

वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका एक नेपाली युवा बेपत्ता भएका छन् ।

पोल्याण्ड हुँदै दुई वर्ष अघि पोर्चुगल पुगेका कैलालीस्थित धनगढी उपमहानगरपालिका–१२ का २८ वर्षीय सुरेशकुमार ओझा चार महिनादेखि बेपत्ता भएका हुन् ।

ओझा गत जुलाई ५ तारिखदेखि सम्पर्कविहीन भएका सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलका अध्यक्ष  दीपेश विष्टले जानकारी दिए । 

राजधानी लिस्बनस्थित एक रेष्टुराँमा काम गर्दै आएका उनी सात महिनाअघि एकाएक बेवारिसे भएका थिए । बेवारिसे भएका ओझालाई मेट्रो स्टेसनबाट नाजुक अवस्थामा उद्धार गरी लिस्बनस्थित एक होस्टेलमा खाने बस्ने व्यवस्था मिलाएर राखिएको भए पनि होस्टेलबाटै भागेर बेपत्ता भएको विष्टले बताए ।

'हामीले धेरै पटक उनको उद्धार गर्यौं । परिवारको आग्रहमा नेपाल पठाउने तयारी पनि गरेका थियौं । तर, उनी एकाएक सम्पर्कविहीन भएका हुन्,' विष्टले भने ।

समाजको पहल र व्यवस्थापनमा होस्टेलमा बस्दै आएका उनी गत जुलाईदेखि सम्पर्कविहीन भएका हुन् । हाल उनको खोजीकार्य भइरहेको र पोर्चुगलमा क्रियाशील नेपाली सङ्घ–संस्थालाई समेत उनको खोजबिनमा सहयोग गर्न आग्रह गरिएको विष्टले बताए ।

बेपत्ता भएका ओझा हालसम्म परिवार, आफन्तलगायत कोही कसैको सम्पर्कमा नआएको भन्दै उनको खोजी गरी नेपाल पठाइदिन परिवारले आग्रह गरेको उनले बताए । ओझाको परिवारमा वृद्ध आमा र पाँच दिदीबहिनी रहेका छन् ।

यसैबीच धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले समेत सामाजिक सञ्जालमार्फत बेपत्ता भएका ओझाको खोजबिन र उद्धार गरिदिन पोर्चुगलवासी नेपालीसँग आग्रह गरे ।​

नगरप्रमुख हमालले एक सूचना जारी गर्दै बेपत्ता ओझाको खोजबिन र उद्धारका लागि आग्रह गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्