
विश्वभर लोकप्रिय बनिरहेको च्याटजीपीटीमा समस्या आएको छ । शनिवार बिहान आधा घण्टासम्म यसमा समस्या आएपछि प्रयोगकर्ताहरूले यसबारे गुनासो गरेका थिए ।
फाइनान्सियल एक्सप्रेसका अनुसार यसले हजारौं प्रयोगकर्तामा असर परेको थियो । तर अहिले यो समस्या समाधान भइसकेको छ ।
ओपनएआईले आफ्नो वेबसाइटमा एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'च्याटजीपीटीको समस्या अहिले समाधान गरिएको छ ।'
अधिकांश प्रयोगकर्ताले नेपाली समयअनुसार बिहान पाँच बजे च्याटजीपीटीमा समस्या आएको अनुभव गरेका थिए ।
ओपनएआईका सीईओ स्याम अल्टम्यानले सामाजिक सञ्जाल एक्समा च्याटजीपीटीमा अवरोध आएको स्वीकार्दै लेखेका छन्, 'हामी पहिलाभन्दा अहिले धेरै नै भरपर्दा भएका छौं, तर अझै काम गर्न बाँकी छ ।'
आउटेज ट्र्याकिङ साइट डाउनडिटेक्टर डटकमका अनुसार च्याटजीपीटीको यो अवरोध लगभग आधा घण्टा लामो थियो । यसले २० हजार प्रयोगकर्तालाई प्रभावित पारेको थियो ।
स्थापनाकालदेखि तीव्र गतिमा विकास भइरहेको यो प्लेटफर्मले एक सातामा लगभग २५ करोड सक्रिय प्रयोगकर्ता आकर्षित गर्दै आइरहेको छ ।
ओपनएआईको मूल्यांकन २०२१ मा १४ अर्ब डलर थियो भने अहिले बढेर १५७ अर्ब डलर पुगेको छ ।