
नुवाकोटको विदुर नगरपालिका–८ स्थित भैरूम माध्यामिक विद्यालयमा अतिरिक्त समयमा चिनियाँ भाषा र आईटीसम्बन्धी कक्षा सञ्चालन गरिएको छ।
विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीलाई चिनियाँ भाषा र सूचना प्रविधि (आईटी) सम्बन्धी ज्ञान दिने उद्देश्यले कक्षा सञ्चालनमा ल्याइएको हो।
चिनियाँ दूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा ११ र १२ कक्षाका विद्यार्थीलाई लक्षित गरी बिहानी समयमा अतिरिक्त कक्षा सञ्चालन गर्न थालिएको जिल्ला समन्वय समितिका उपप्रमुख दलबहादुर तामाङले जानकारी दिए। उनका अनुसार समन्वय समितिले कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गरिरहेको छ।
विदुरमा नमूनाका रूपमा चिनियाँ दूतावासको सहयोगमा भाषा र कम्प्युटर शिक्षाका कक्षा सञ्चालनमा ल्याइएको हो। यो कार्यक्रम सफल भएमा क्रमशः अन्य विद्यालयमा पनि विस्तार गर्ने योजना छ।
'नेपाली विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा वा शुल्क तिरेर चीन जाने गरेका छन्। सोसम्बन्धी प्रारम्भिक शिक्षा दिन शुरू गरेका छौँ। यसले विद्यार्थीलाई भाषा र कम्प्युटर अध्ययनसम्बन्धी जानकारी दिने भएकाले यो कक्षा प्रभावकारी हुने विश्वास लिएका छौँ', जिल्ला समन्वय समितिका उपप्रमुख तामाङले भने।
चीन सरकारले सान्दोङ फोरेन ट्रेड भोकेसनल कलेजमार्फत विश्वका एक सय बढी देशमा भाषा र प्रविधिसम्बन्धी कक्षा सञ्चालन गरिरहेकाले सोही क्रममा पहिलो पटक नुवाकोटमा कक्षा सञ्चालनमा ल्याइएको दूतावासले जनाएको छ।
कलेजले तयार गरेको पाठ्यक्रम र सोही पाठ्यक्रममा आधारित कक्षा सञ्चालन गर्न आवश्यक जनशक्ति सोही कलेजबाट आएका छन्। विद्यार्थीलाई अतिरिक्त कक्षासहित दिवा खाजा, आवश्यक शैक्षिक सामग्री पनि निःशुल्क उपलब्ध गराइएको छ।