
नेकपा (एमाले)का नेता लीलाबल्लव अधिकारीलाई कोशी प्रदेश कार्यालयले पार्टीको संगठित सदस्यताबाट निलम्बन गर्ने निर्णय गरेको छ ।
एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले शनिबार एक विज्ञप्ति जारी गर्दै अधिकारीलाई पार्टीमा सक्रिय भूमिका नदिन र राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यसहित संगठित सदस्यताबाट पनि निलम्बन गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
अनुसन्धानको अन्तिम नतिजा नआएसम्म अधिकारी निलम्बनमा रहनेछन् । उनले कोशी प्रदेशको मन्त्री पदबाट यसअघि नै राजीनामा दिइसकेका छन् ।
मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख)बाट निर्वाचित अधिकारी, आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारीमा रहेका थिए ।
जापान भ्रमणका क्रममा उनीमाथि मानव तस्करीको आरोप लागेको थियो ।
यस घटनासँग सम्बन्धित अन्य केही व्यक्तिहरू पक्राउ परी अनुसन्धान भइरहेको बेला अधिकारीमाथि लागेको आरोपलाई लिएर सामाजिक सञ्जाल र सञ्चार माध्यममा एमालेसमेतलाई लक्षित गर्दै आलोचना भएको छ ।
