०४ साउन २०८३, सोमबार
कारागार चलान हुँदै

गण्डकीका सांसद मनाङे सानोभर्‍याङबाट पक्राउ

कात्तिक २७, २०८१
काठमाडौं
गण्डकीका सांसद मनाङे सानोभर्‍याङबाट पक्राउ

गण्डकी प्रदेशसभा सदस्य राजिव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् ।

उनलाई मंगलबार बिहान काठमाडौंबाट पक्रा‌उ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआईबी)का प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले लोकान्तरलाई जानकारी दिए ।

एसपी बोगटीका अनुसार स्वयम्भुस्थित सानोभर्‍याङबाट मनाङेलाई पक्राउ गरिएको हो ।

पक्राउ परेसँगै अदालतको फैसला कार्यान्वयनका लागि उनलाई कारागार चलान गरिने छ । 

मनाङेलाई पहिला जिल्ला अदालत काठमाडौं लगेर फैसला कार्यान्वयनको लागि कारागार लैजाने सीआइबीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।

व्यक्ति हत्या प्रयासको आरोपमा सर्वोच्च अदालतले कात्तिक २० गते ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेको थियो । त्यसपछि उनी फोन स्विच अफ गरेर सम्पर्कविहीन भएका थिए ।

दुई ग्याङस्टरबीचको झगडामा चक्रेमिलनमाथि तरबार प्रहार गरेको अभियोगमा मुद्दा चलेको २० वर्षपछि सर्वोच्चले अन्तिम फैसला सुनाएको थियो । तत्कालीन पुनरावेदन अदालत पाटन (हाल उच्च अदालत)ले मनाङेविरुद्ध १२ वर्षअघि सुनाएको ५ वर्ष कैद सजायलाई सर्वोच्चले सदर गरेको हो । 

पाँच वर्ष कैद सजाय ठहर भएका गुरुङले यसअघि नै दुई वर्ष ८ महिना कैदमा बिताएका छन् । उनले अब थप २ वर्ष ४ महिना कैद बस्न बाँकी छ ।​ मनाङेको समूहले २०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेको थियो ।

मनाङ १ (२) बाट स्वतन्त्रमा दुईपटक निर्वाचित सांसद मनाङे गण्डकी प्रदेश सरकारको पहिलो कार्यकालमा ३ र दोस्रो कार्यकालमा ४ पटक गरी ७ पटक मन्त्रीसमेत भएका थिए । 

कमेन्ट गर्नुहोस्