
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
एक संघीय सांसद र दुई प्रदेशसभा सांसद कानुनी फन्दामा परेका छन् । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे २१ वर्ष अगाडिको घटनामा दोषी ठहर भई मंगलबार कारागार चलान भएका छन् भने रास्वपाका सभापति तथा संघीय सांसद रवि लामिछानेमाथि सहकारी ठगीमा अनुसन्धान भइरहेको छ । यस्तै मानव तस्करीमा मुछिएका कोशी प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीमाथि पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्रीसमेत रहेका अधिकारी जोडिएको मानव तस्करी प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। जापान जानका लागि नक्कली कागजात बनाइदिने दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । यस्तै पक्राउ परेका अधिकारीसहितलाई प्रहरीले अदालतबाट थप ७ दिनको म्याद पाएको छ ।
००००
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन प्रकरणमा रूपन्देही ल्याएका रवि लामिछानेको बुधबार पनि बयान लिइँदै छ । रूपन्देही प्रहरी प्रवक्ता लक्ष्मी खनालका अनुसार बुधबार बिहान १० बजेदेखि सरकारी वकिलको कार्यालयमा बयान लिइँदै छ ।
पोखराबाट भैरहवा ल्याएका गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्धक लामिछानेको मंगलबार ५ घण्टा बयान लिएको थियो । सम्भवतः आजै लामिछानेको बयान सकेर पोखरा पठाउने तयारी रूपन्देही प्रहरीको छ ।
००००
राजनीतिक दबाब र प्रभावमा पक्राउबाट जोगिदै आएका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे भनिने राजिव गुरुङको हातमा फेरि हतकडी लागेको छ ।
यसअघि उनी २०७५ वैशाख ६ गते पक्राउ परेका थिए । त्यतिबेला उनी पनि गण्डकी प्रदेशका प्रदेशसभा सदस्य थिए । अहिले पक्राउ परेको घटना र त्यतिबेला पक्राउको घटना एउटै मुद्दासँग केन्द्रित छ ।
मनाङेलाई मंगलबार बिहान स्वयम्भू नजिकै सानो र्भयाङबाट पक्राउ गरिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मनाङेलाई आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । ६ वर्षअघि पक्राउ पर्दा पनि मनाङे स्वयम्भूमै थिए ।
२०६१ वैशाख ३१ मा महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा चक्रे मिलन भन्ने मिलन गुरुङलाई तरवार प्रहार गरेर हात छिनालेको अभियोग मनाङेमाथि थियो । सोही मुद्दामा सर्वोच्चले दोषी ठहर गरेसँगै उनी मंगलबार काराबार चलान भएका छन् ।
००००
नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले सहकारीको रकम अपचलन प्रकरणमा आफू संलग्न नगरेको भन्दै दोस्रो स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत तीन पानाको विज्ञप्ति जारी गर्दै गुरुङले मितेरी सहकारी प्रकरणमा आफू दोषी नभएको बताएका हुन् ।
००००
मन्त्रिपरिषद् र सञ्चालक समितिको निर्णयपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मातहतका कार्यालयलाई उद्योगहरूमा लाइन जोड्न निर्देशन दिएका छन् ।
सोही अनुसार मंगलबार राति ६ वटा उद्योगमा लाइन जोडिएको छ भने बाँकी उद्योगमा पनि आज जोडिने प्राधिकरणले जनाएको छ ।
बुधबार लाइन काटिएका सबै उद्योगमा लाइन जोडिने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए ।
००००
कोशी प्रदेश सरकारले दुई पूर्वमुख्यमन्त्रीलाई राखेर राजनीतिक संयन्त्र बनाएको छ । सरकार सञ्चालनलाई प्रभावकारी बनाउन कांग्रेस र एमालेले दुई दलीय संयन्त्र बनाएका हुन् । संघीय नीतिअनुसार यस्तो संयन्त्र बागमती र गण्डकीमा पनि बनिसकेको छ ।
००००
संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूका राष्ट्रप्रमुख र सरकार प्रमुख सम्मिलित शिखर सम्मेलनमा जलवायु परिवर्तनप्रति चिन्ता व्यक्त गर्दै कार्बन उत्सर्जनको न्यूनीकरणमा जोड दिइएको छ ।
बाकुमा जारी शिखर सम्मेलन, कोप–२९ मा सहभागी वक्ताहरूले जलवायु परिवर्तनका कारण बढ्दै गएको तापमान र हरित ग्यास उत्सर्जन रोक्नका लागि विश्व समुदायको साझा ऐक्यबद्धतासहितको पहल आवश्यकता औँल्याए । उनीहरूले जलवायु परिवर्तनको असरबाट कुनै न कुनै रूपमा विश्वका हरेक व्यक्ति प्रभावित भएको उल्लेख गर्दै त्यस्ता असरलाई कम गर्नका लागि सबै राष्ट्रको ध्यान जानुपर्ने बताए ।
००००
नेपाल कानून व्यवसायी परिषद्ले न्यायाधीशलाई घुसको प्रस्ताव गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई नसिहतसहितको सजायको निर्णय गरेको छ ।
कानून व्यवसायी परिषद्को कात्तिक २५ गते बसेको बैठकले अधिवक्ता पोखरेललाई कानून व्यसायीको आचारसंहिता २०५१ अनुसार नसिहतसहितको सजायको निर्णय गरेको हो ।
००००
महालेखा नियन्त्रकको कार्यालयले एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व ऐन २०७६ को व्यवस्था अनुसार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा महालेखा नियन्त्रक विनोदबहादुर सिंहले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएका हुन् ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ । साताको तेस्रो कारोबारका दिन मंगलबार नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ को विन्दुमा अडिएको हो ।
००००
ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङविरुद्ध पूरक स्पष्टीकरण सोधेको छ ।
मन्त्रालयले गत असोज २२ गते सोधेको १५ बुँदे स्पष्टीकरणको जवाफ नदिएपछि तिहारअघि नै थप ६ बुँदे पूरक स्पष्टीकरण सोधिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।