
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको सञ्चालन र व्यवस्थापनका विषयमा निर्वाचन आयोगले अन्तरक्रिया गरेको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश एवम् जिल्ला निर्वाचन अधिकारीसँग अभिमुखीकरणसहितको अन्तरक्रिया गरिएको हो।
आयोगको कार्यालय, कान्तिपथ काठमाडौंमा भौतिक उपस्थिति र अनलाइन उपस्थिति (दुवै माध्यम)बाट सञ्चालित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनका सन्दर्भमा हालसम्म सम्पन्न गरेका तथा आगामी दिनमा सम्पन्न गर्नुपर्ने कामबारे संक्षिप्त जानकारी दिए । उनले आ-आफ्नो काम, कर्तव्य र अधिकारप्रति सबै सचेत र प्रतिबद्ध रहनुपर्ने बताए ।
निर्वाचन आयुक्त सगुन समसेर जबराले आयोगको संवैधानिक दायित्व समेतलाई मध्यनजर गरी उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन अन्तरक्रियाले सबैलाई मद्दत पुगेको र सोही अनुसार व्यवस्थापन र कार्यान्वयन पक्षमा ध्यान दिनुपर्नेमा जोड दिए ।
अन्तरक्रिया कार्यक्रममा उपनिर्वाचन सम्बन्धी संवैधानिक एवम् कानूनी व्यवस्था, जनशक्ति, सामग्री, आर्थिक, सुरक्षा र सूचना प्रविधिको व्यवस्थापन, मतदान, मतगणना, आयोगको अपेक्षा र धारणा लगायतका विषयमा प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयुक्त, सचिव र सहसचिवहरूबाट सहजीकरण तथा अन्तरक्रिया गरिएको थियो ।