सेना प्राड विवाक स्थापनाको ६२ औं वार्षिकोत्सवको अवसरमा आयोजित लिगल सेमिनार- २०८१ सम्पन्न भएको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलले जंगी अड्डामा आयोजित एक समारोहका बीच बिहीबार सेमिनारको समापन गरेका हुन् ।
नेपाली सेनामा कार्यरत कानून अधिकृतहरूको सैनिक न्याय प्रणाली तथा कानून कार्यान्वयनसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष लिगल सेमिनार हुँदै आएको छ ।
यस वर्षको सेमिनारको यही कात्तिक २६ गते प्राड उपरथी जीवनप्रसाद दाहालले शुभारम्भ गरेका थिए ।
चार दिवसीय सेमिनारमा नेपाल प्रहरी तथा महान्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिहरू, उच्च अदालतका पूर्वन्यायाधीश, सेना प्राड विवाकका पूर्वप्रमुखहरू लगायत विषय विज्ञहरूले सम्बद्ध विषयहरूमा प्रस्तुतीकरण दिएका थिए ।
समापन समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले कानून अधिकृतहरूलाई प्राप्त जिम्मेवारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको परिधिमा रहेर सम्पादन गर्न निर्देशन दिए ।
समापन कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।