
रुसका विदेशमन्त्री सर्गेई लाभरोभले बिहीबार आफ्नो मुलुकलाई नयाँ अमेरिकी प्रशासनबाट कुनै अपेक्षा नभएको तर यसको ठोस कदमहरूको मूल्याङ्कन गर्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोन गरेको मिडिया रिपोर्टहरू क्रेमलिनले अस्वीकार गरेको केही दिनपछि उनको यस्तो टिप्पणी आएको हो । ट्रम्पले पुटिनलाई फोन गरी युक्रेनमा युद्ध बढाउने विरुद्ध चेतावनी दिएको मिडिया रिपोर्टहरूले बताएका थिए ।
डोनाल्ड ट्रम्प प्रशासनअन्तर्गत रुस अमेरिकासँग सम्पर्क गर्न खुला रहेको तर बल अमेरिकी कोर्टमा रहेको विदेशमन्त्री लाभरोभले पत्रकार मरिना किमसँगको अन्तर्वार्तामा बताए ।
अमेरिकी राष्ट्रपति चुनावको नतिजा घोषणा भएपछि गत हप्ता दुई नेताबीच फोन वार्ता भएको वासिङ्टन पोस्टले आइतबार रिपोर्ट गरेको थियो । यद्यपि क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले रिपोर्टहरू ‘शुद्ध काल्पनिक’ भएको बताए ।
यसबाहेक लाभरोभले बिहीबार डोनाल्ड ट्रम्पको नेतृत्वमा संयुक्त राज्य अमेरिकाका लागि चीनलाई नियन्त्रण गर्नु प्राथमिक कार्य भएको तर वासिङ्टनले रुसलाई ‘वर्तमान समयको खतरा’ का रूपमा हेर्ने बताए ।