२१ असार २०८३, आइतबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री स्वदेश फिर्ता

कात्तिक २९, २०८१
काठमाडौं
लुम्बिनी प्रदेशका मुख्यमन्त्री स्वदेश फिर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य छिमेकी मुलुक चीनको चारदिने भ्रमण सकेर आज स्वदेश फर्किएका छन् ।

 चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर उनी आज स्वदेश फर्किएका हुन् । मुख्यमन्त्री आचार्य यही कात्तिक २६ गते त्यसतर्फ प्रस्थान गरेका थिए । 

सिचुआन प्रदेशका वैदेशिक विभागका उपमहानिर्देशक पाङग्वाङ ल्याङले तियान्फु विमानस्थल पुगेर मुख्यमन्त्री आचार्यसहितको प्रतिनिधिमण्डललाई बिदाइ गरेका थिए । मुख्यमन्त्री आचार्यले सम्मेलनमार्फत लुम्बिनी प्रदेशको समृद्धि र विकासका एजेण्डाहरू स्थापित गर्न सफल भएको बताएका थिए । 

“सम्मेलनमार्फत प्रदेशको विकासका एजेण्डा र भावी योजनाका बारेमा ध्यानाकर्षण गराएका छौँ”, उनले भने, “लुम्बिनीमा हुने लगानी सम्मेलनको वातावरण निर्माणदेखि विदेशी लगानीकर्तालाई आकर्षित गर्ने विषयमा यो भ्रमण ऐतिहासिक रह्यो ।” 

मुख्यमन्त्री आचार्यले सिचुआन र लुम्बिनी प्रदेशका बीचमा भएको मितेरी सम्बन्ध पुर्नताजगी भएको, भ्रमणले लुम्बिनीमा लगानी भित्र्याउन वातावरण निर्माण गर्ने, नवीन पर्यटनमैत्री योजना र पूर्वाधार निर्माण तथा सिचुआनको देयाङ नगरसँग लुम्बिनीका विभिन्न नगरपालिकाको मितेरी सम्बन्ध स्थापना गर्नेबारेमा योजना यस भ्रमणका क्रममा बनेको जानकारी दिए । 

मुख्यमन्त्री आचार्यले सम्मेलनमार्फत लुम्बिनीमा सिचुवानसहित कुनै पनि प्रान्तबाट इच्छुक लगानीकर्ताको लगानी भित्र्याउन र लगानी सुरक्षित गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्ध व्यक्त गरेका थिए । 

नवलपरासी पश्चिम र कपिलवस्तु जिल्लालाई बुद्ध सर्किटसँग जोड्ने योजनालाई कार्यान्वयनमा ल्याउन मोनोरेल सञ्चालनबारे अध्ययन गर्न विदेशी लगानीकर्तासमक्ष योजना अघि सारेको मुख्यमन्त्री आचार्यले बताए ।  

भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी र प्रदेश राजधानी राप्ती देउखुरी जोड्न आवश्यकपर्ने सुरुङमार्ग, बुद्ध सर्किटमा पर्ने विभिन्न स्थानमा पर्यटन भौतिक पूर्वाधार र मोनोरेल निर्माण, लुम्बिनी प्राविधिक विश्वविद्यालयमा चिनियाँ प्राविधिक उपलब्ध गराउने,  प्रदेशसभाका सांसदको क्षमता अभिवृद्धि गर्न आवश्यक सहयोग, कृषक तथा पशुपालकको क्षमता अभिवृद्धि गर्दै उत्पादित वस्तुको बजारीकरण, जडीबुटी उत्पादकका लागि क्षमता विकास तथा बजारीकरणमा सहयोग, पर्यटनस्थल व्यवस्थापन र पथपदर्शकसम्बन्धी विशिष्ट तालिम एवं भाषा प्रशिक्षणमा सहयोगलगायत विषयमा ध्यानाकर्षण गराइएको उनले जानकारी दिए । 

सम्मेलनमा मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थलगायत सहभागी थिए । 

salt training

कमेन्ट गर्नुहोस्