
दार्चुला भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या सात पुगेको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएको दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
उनका अनुसार ज्यान गुमाउनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिम रहेका छन् । एक जनाको परिचय खुलेको छैन ।
मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो ।
जात्रा हेरेर फर्किएकाहरू सवार जीप दुर्घटनामा परेका उनले बताए । घाइते सबैको अवस्था गम्भीर रहेको उनले बताए । घाइतेहरूलाई गोकुलेस्वर अस्पताल पठाइएको छ ।
दुर्घटनाको कारण र जीपमा कतिजना सवार थिए खुल्न सकेको छैन ।
जीप सडकबाट करीब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।