
सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा दरखास्त आह्वान भएको छ । नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले शनिबार एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।
समितिले सार्वजनिक सेवा प्रसारण ऐन बमोजिम सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकोले कार्यविधिअनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले दरखास्त दिन सक्ने जनाएको छ ।
मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरी पत्रकारिता, मानविकी, व्यवस्थापन, बजार व्यवस्थापन वा सूचना प्रविधि वा प्रसारण सम्बन्धी इन्जिनियरिङ क्षेत्रमा कम्तीमा पन्ध्र वर्षको अनुभव भएकाले दरखास्त दिन सक्नेछन् ।
इच्छुक उम्मेदवारले सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आवेदन दिन सक्ने पनि समितिले जनाएको छ ।