२८ जेठ २०८३, बिहीबार
नियात्रा : अमेरिका भ्रमण

हरबखत जागा रहने शिकागो शहर

मंसिर १, २०८१
काठमाडौं
हरबखत जागा रहने शिकागो शहर

संयुक्त राज्य अमेरिका बसाइका क्रममा मसँगै जीवन सँगिनी सपना, छोरीज्वाइँ साधना प्रकाश लुइँटेल, नातिनातिनी प्रशम र सान्भी इलिनोई राज्यको प्रसिद्ध शहर शिकागोको सौन्दर्यमा लठ्ठिएका थियौं । हामीलाई शिकागो सुन्दर लाग्ने अनेक कारणमध्ये सजीव वास्तुकला एउटा हो । यससँगै सजिएका सुन्दर भवनहरू र जताजतैको हरियालीले शिकागोको सुन्दरता थप बढाएको छ ।

यहाँका विशेष खालका खानेकुराले पनि विदेशी पर्यटकहरूलाई लोभ्याउने रहेछ ।

शिकागोको वास्तुशास्त्रको इतिहास के होला र कसरी यस्ता भवनहरूको डिजाइन गरे होलान् भनेर म कल्पनामा मग्न थिएँ । अनेकौं गगनचुम्बी महलले गर्दा होला शिकागोलाई संयुक्त राज्य अमेरिकाको तेस्रो ठूलो शहर मानिँदो रहेछ । यो शहर ऐतिहासिक, सांस्कृतिक र आर्थिक रूपमा पनि समृद्ध रहेछ  । 

शिकागो शहरको स्थापना सन् १८३३ मा भएको रहेछ । सन् १८७१ मा भएको आगलागीबाट शिकागोका धेरै भाग जलेर खरानी भएछन् । आगलागीपछि घरले काँचुली फेर्छ भन्ने नेपाली भनाइलाई मैले सम्झिएँ । नभन्दै त्यही भीषण आगलागीपछि शिकागोले पुननिर्माणमा काँचुली फेरेको रहेछ । आगलागीपछि आधुनिक गगनचुम्बी महल ठडिएका रहेछन् । अत्याधुनिक प्रविधिबाट बनेका भवनले अमेरिका भरिका अरू राज्यमा बन्ने डाउन टाउनलाई कुशल नेतृत्व दिएछ ।

गोरा, काला, एसियन आदि मानिसहरूको बाक्लो बस्ती भएको ठाउँ हो यो । त्यसैले यहाँ एसिया, युरोप र अफ्रिका आदिको विविध सांस्कृतिक अनुभव गर्न सकिने रहेछ । शहरमा हाम्रो छिमेकी भारतीय मूलका मानिसहरूको बस्ती पनि उल्लेखनीय छ । सन् १८९३ सेप्टेम्बर ११ का दिन स्वामी विवेकानन्दले यही शिकागो शहरमा आयोजित विश्व धर्म सम्मेलनमा हिन्दूधर्म, वेद र उपनिषदको महिमाका विषयमा प्रवचन गर्ने क्रममा मेरा प्याराप्यारा अमेरिकी भाइबहिनीहरू भनेर सम्बोधन शुरू गर्दा लगातार २० मिनेटसम्म तालीको गडगडाहट भएको इतिहासमा उल्लेख गरेको पाइन्छ । सांस्कृतिक विविधताले भरिएको शहर हो शिकागो । संगीतका क्षेत्रमा ब्लुज र जाजको जन्मस्थान पनि यही शहर मानिन्छ ।

null

सिकागोमा अनेकौं पर्यटन केन्द्रहरू छन्, तिनीहरूमध्ये मिलेनियम पार्क नेवी पियर्स एक हो । त्यहाँ भएका आकाशै छुने पानीका फोहरा हेरिरहँदा विभिन्न मानिसका आकृति देखिन्छन् । मानिसलाई आश्चर्य चकित बनाउने आर्ट इन्स्टिच्युट अफ सिकागोका यी दृष्यले धेरै पर्यटकहरूलाई आकर्षित गरेका हुन्छन् । पार्कका अनेक सुन्दर कुरामध्ये एक रहेछ ऐनाको घर । त्यस घरतिर अलि परबाट हेर्दा त्यहाँ त मानिसहरू डल्ला डल्ला परेर गुँडुल्किँदै पल्टेका देखिँदा रहेछन् । हामी पनि त्यसका नजिकै गयौं अनि ऐनामा आफूलाई नियाल्यौं, एक तमासको रमाइलो  अनुभव गर्दै तस्वीरहरू खिचायौं । राजमाको दाना आकारमा बनेको ऐना घरले त्यहाँ पुग्ने पर्यटकको मन एकछिन् राम्रैसित  बहलाउँदो रहेछ । हामीले पनि त्यहाँ निकैबेर आफ्नो मन बहलायौं ।

शिकागो नदीको पानी प्रत्येक वर्ष मार्च १७ का दिन हरियो हुँदोरहेछ । नदीको पानी हरियो हुँदा शिकागोका बासिन्दा पनि हरियो पोशाक लगाएर बाहिर निस्किँदा रहेछन् । शहरभरिका मानिस हरियो पोशाकमा निस्कँदा सिंगो शहर नै हरित शहरमा परिणत हुँदो रहेछ ।

पार्कका एकाछेउमा एकजना मानिस निकै ठूलो प्रजातिको सुगा लिएर बसेको थिए । त्यो सुगालाई टाउकामाथि र काँधमाथि राखेर तस्वीर खिचाउन चाहनेबाट एकजनाको २० डलर लिँदारहेछन् । सुगालाई आफ्नो काँधमा राखेर फोटा खिचाउनेहरूको पनि त्यहाँ  निकै भीड देखिन्थ्यो । सुगावालाको जीवन निर्वाहको बाटो त्यही एउटा सुगा थियो । मानिसहरूले त्यसलाई काँधमा र टाउकामा राखेर फोटो खिचिदिँदा उसको जीवन चलेको थियो । हामीले पनि सुगा काँधमा राखेर फोटा खिचायौं । त्यत्रा धनाढ्यहरू खचाखच भएको शहरमा एकजना मानिसले सुगालाई आफ्नो साँझ बिहानको चुलो तताउने माध्यम बनाएको रहेछ । मलाई  त्यसबेला महाकवि देवकोटाले भिखारी कवितामा व्यक्त गरेको एक पंक्ति सम्झना भयो “गुलाफहरूका हाँसोको बीच एक उन्युको रोदन ।”

अमेरिकाको सेयरबजार होस् अथवा जीवन बिमा र निर्जिवन बिमाजस्ता आर्थिक गतिविधिका लागि महत्वपूर्ण केन्द्र मानिनेरहेछ शिकागो

यही शिकागोमा संसारमै सबैभन्दा पहिले बनेको एउटा  गगनचुम्बी टावर छ, जसलाई विलिस वा सियर्स टावर पनि भनिन्छ । दुवईको बुर्ज खालिफा (उचाइ २७२२ फिट) बन्नुभन्दा पहिले यहाँको विलिस टावर संसारमf सबैभन्दा अग्लो टावर थियो । ३० हजार स्क्वाएर फिटमा बनेको  विलिस टावरको उचाई एक हजार चारसय ५१ फिट छ, जसमा जमिन मुनिका तीन तलालाई छाडेर ११० तला छन् । सन् १९७० मा निर्माण प्रारम्भ भएर सन् १९७३ देखि सर्वसाधारणका लागि चढ्न खुला गरिएको यो टावर चढ्न जनही ३७ डलरको टिकट काट्नुपर्छ ।

लिफ्टबाट टावरको  माथिल्लो तलामा पुग्दा अलौकिक आनन्दको अनुभूति हुन्छ । एक वर्षमा १७ लाखभन्दा बढी मानिसले विलिस टावर चढेको तथ्याङ्क यहाँ पाइन्छ । यो टावर स्टिलका मजबुत फ्रेम र कालो सिसाबाट बनाइएको छ । गगनचुम्बी महल तयार गर्ने वास्तुकला पनि शिकागो शहरमा शुरू भएर अमेरिकाका अन्य शहरहरूमा फैलिएको विश्वास गरिन्छ ।

null

यो टावर शिकागो शहरको कोहिनूर हीरा नै लाग्यो । टावरमाथि चढेपछि अन्य गगनचुम्बी महलहरू साना पो देखिँदा रहेछन् । यहाँबाट देखिने शहरको भव्य सौन्दर्य र लेक मिचिगनको मनमोहक दृश्यले पर्यटकहरूलाई समय बितेको पत्तो नहुने रहेछ ।  हामीले पनि त्यहाँको दृश्यलाई आफैभित्र कैद गर्‍यौं ।

शिकागो शहरको महत्ता अनेक कुरामा छ । हामीले घरघरमा बसेर हेर्ने गरेको रंगिन टेलिभिजनको आविष्कार मात्रै होइन सबैभन्दा पहिले रङ्गिन टेलिभिजन प्रसारणको श्रीगणेश पनि यही शहरका भएको रहेछ । त्यसपछि रङ्गिन टेलिभिजन  विश्वका सबैतिर पुगेको मानिन्छ । 

टेलिभिजनमात्र होइन मोबाइलको आविष्कार गर्ने श्रेय पनि यही शहरलाई जाँदोरहेछ ।

मार्टिन कुपर (जन्म सन १९२८) नामक व्यक्तिले नै शिकागोमा सन् १९७३ मा मोबाइल फोनको आविष्कार गरेछन् । मोबाइल फोनको सफल आविष्कारपछि उनैले विश्वमा पहिलो पटक मोबाइलमा बोलेर गिनिजबुकमा विश्व रेकर्ड राखेका थिए । हामीले मनमनै मार्टिन कपुरलाई धन्यवाद दियौं । कुपरलाई आधुनिक मोबाइलका पिता पनि भनिन्छ । उनी अमेरिकी इन्जिनियर हुन् ।

मोबाइलको आविष्कारपछि उनले मोटोरोला नामको कम्पनी स्थापना गरेका थिए । जसमा उनले आफैं कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेर आफ्नो अविष्कारलाई मूर्तरूप दिएका थिए ।

आविष्कारको एकदशकपछि उनले सन् १९८३ मा मोटोरोलाका मोबाइल सेटहरू बिक्रीका लागि बजारमा ल्याएर संसारलाई नै एक अनुपम उपहार प्रदान गरे । अमेरिका सरकारले कुपरका योगदानको कदर गरेर उनलाई धेरै वर्षसम्म अमेरिका भरिको सञ्चार क्षेत्रको विकास गर्ने जिम्वेवारी दिएको थियो ।

रङ्गिन टेलिभिजन र मोबाइल फोन मात्र होइन अरू पनि कैयौं कुरा शिकागो शहरले संसारलाई नै कोशेली दिएको छ ।

घरभित्रको कसिंगर (फोहोर) बढार्न कुचो चाहिन्छ । यही शहरमा भ्याकुम क्लिनरको आविष्कार भएको हो । आज भ्याकुम क्लिनर संसारभरि फैलिएको छ । भ्याकुम क्लिनरदेखि आजको संसारमा ब्रुमरसम्मको आविष्कारले विश्वका सबै मानिसलाई खुसी बाँडेको छ ।

शहरको झण्डै बीचभाग हुँदै बग्ने एउटा १५६ माइल लामो नहर वा नदी छ, जसलाई शिकागो भनिन्छ । यसैका नामबाट शहरको नाम रहेको देखिन्छ । अरू नदीभन्दा शिकागो पृथक् देखिन्छ । किनकि अरू खोलानाला उत्तरबाट दक्षिणतिर बग्छन् तर, शिकागो दक्षिणबाट उत्तर बग्ने गर्दछ । यो देख्दा मलाई गोदावरीबाट ग्वार्को हुँदै उल्टो बगेर मनोहरामा मिल्न पुग्ने कर्मनाशा खोलाको सम्झना भयो ।

प्रत्येक वर्ष मार्च १७ का दिन शिकागोको पानी हरियो रङ्गको हुँदोरहेछ । त्यसदिन इलिनोई राज्यमा सेन्ट प्याट्रिक नामको राष्ट्रिय चाड मनाइँदो रहेछ । यस दिन राज्यभरि सार्वजनिक बिदा दिइँदो रहेछ । पानी हरियो रंगमा फेरिएको खुसीयालीमा त्यसदिन शिकागोका बासिन्दा ठूलो संख्यामा हरियो हरिया पोशाक लगाएर नदीमा जलकृडा गर्न परिवारका साथ निस्केर रमाइलो गर्दा रहेछन् । त्यसदिन शिकागो शहरभरि बस्ने अधिकांशले हरिया रंगका पोशाक लगाउँदा सिंगो शहर नै आकर्षक हरित शहरमा परिणत हुँदो रहेछ ।

सेन्ट प्याट्रिक चाड मनाउन स्थानीयहरू रातभरि घरघरमा नाचगान गर्दारहेछन् । सडकमा पनि उन्मुक्तिसाथ ब्लुज संगीतका धूनमा नाच्दैगाउँदै शहरको रौनक बढाउँदा रहेछन् । शिकागोको पानी हरियो रङ्गको बनाउनमा शिकागोको प्लाम्बर संगठनले योगदान गरेको कुरा पछिमात्र जानकारीमा आयो । वर्षको एकदिन शिकागोको पानी निख्खर हरियो रङ्गमा बदलिने कुराले त्यहाँ घुम्न आएका पर्यटकहरू पनि अचम्म र उदेक मान्दा रहेछन् । 

मैले आफ्नो देशको सिरहाको लहानमा वर्षको एक दिन अर्थात् प्रत्येक वर्ष वैशाख १ गतेमात्र फुल्ने माला आकारको सहलेस फूललाई सम्झिएँ । लहलेस फुलेको हेर्न ठूलो सङ्ख्यामा मानिसहरू सिरहाको लहान पुग्ने गर्दछन् । त्यसको रहस्य त उद्घाटन भएको छैन तर, त्यसदिन लहानका होटलहरू भरिभराउ हुन्छन् । मानिसहरूको भिडभाड हुनेगर्दछ । 

सडकका किनारमा हिँड्दैजाँदा सानी नातिनी सान्भी कराई– “आम्मै !” हजुरआमाले सोधिन्– “के भयो सानी ?”

मुसालाई सिकागोको दुःख भन्दा रहेछन् । शहरमा बेलाबेला मुसाले आतङ्क नै सिर्जना गर्दा रहेछन् । मुसा नियन्त्रण गर्न यहाँ ठूल्ठूला प्रोजेक्ट नै तयार हुँदारहेछन् । निर्वाचनमा उम्मेदवारले  मुसा नियन्त्रणका आफ्ना योजना सुनाएर भोट तान्दारहेछन् ।

सान्भीले सडक किनारमा भएका मुसाका हुलतिर देखाई । सपनाले भनिन्– “मुसा पनि कति ठुला ? बिरालाभन्दा ठुला मुसा रहेछन् । यिनीहरूलाई देख्दा त बिरालो पनि तर्सन्छ होला ?”

ह्वांगो नदीलाई चीनको दुःख र कोशीलाई बिहारको दुःख भनेजस्तो मुसालाई सिकागोको दुःख भन्दा रहेछन् । शहरमा बेलाबेला मुसाले आतङ्क नै सिर्जना गर्दा रहेछन् । त्यसैले यसलाई मुसाको शहर पनि भनिदोरहेछ । यहाँ पुराना घरहरूलाई मुसाले आफ्नो स्थायी बासस्थान बनाएका हुन्छन् । मुसाले मानिसहरूका खानेकुरामात्र होइन गाडी र मिसिनहरूमा पसेर त्यसका तार काटकुट पारेर सताउँदा रहेछन् । ठूलासाना र थरिथरिका मुसाले शहरका बासिन्दालाई दिनसम्म दुःख दिएका रह्छन् ।

मुसा नियन्त्रण गर्न यहाँ ठूल्ठूला प्रोजेक्ट नै तयार हुँदारहेछन् । निर्वाचनमा उमेद्वारले  मुसा नियन्त्रणका आफ्ना योजना सुनाएर भोट तान्दा रहेछन् । मुसा नियन्त्रणका लागि अनेकौं खोज र अनुसन्धान चलिरहेको रहेछ ।

सामान  बिगार्नेमात्र होइन मुसाले अनेक संक्रामक रोग पनि फैलाउँदा रहेछन् । मुसा मारेर नियन्त्रण गर्न सरकारले वषौंदेखि विभिन्न समूहहरू  बनाएर केही नियन्त्रण भए पनि मुसा उन्मूलनमा भने आजका दिनसम्म सफलता मिलेको छैन ।

शिकागोमा मुसाको चकचकीका कुरा सुन्दा आफूले सानो छँदा पढेको रोवर्ट ब्राउनिङको  “पाइड पाइपर अफ हेमलिन” शीर्षकको अंग्रेजी कविताको झलझली सम्झना भयो । लाग्यो शिकागोमा पनि मुसालाई लेक मिचिगनमा वा शिकागो नदीमा डुबाउन हेम्लिनको बाँसुरी बाधक चाहिएको रहेछ ।

शिकागोलाई भोजभतेरको शहर पनि भनिदोरहेछ । भोज भतेर गर्न यहाँ मानिसलाई धेरै ठूलो केही चाहिँदो रहेन छ । कुनै एउटा निहुँ भयो भने भोज भतेर र नाचगानको आयोजना गरिहाल्दा रहेछन् । यहाँ सडकमा होस् वा घरमा नाचगानका ब्लुज धून गुन्जिरहेका हुन्छन् । लाग्छ यो शहर दिउँसो त जागा हुने नै भैगो, राति पनि नसुत्ने रहेछ ।

खानेकुराका शौखिन मानिसहरूका लागि यहाँ विभिन्न किसिममा पिजा, बर्गर र केकहरू पाइँदा रहेछन् । अन्यत्र पाइने बर्गर, पिजा र केकहरूभन्दा यहाँ फरक स्वादका बनाइएका हुँदारहेछन् । न्यु ओर्लियन्स शहरमा बनेजस्तो यस शहरमा प्रख्यात रहेछ 'डिपडिस पिज्जा' । 

पिज्जा भन्नेवित्तिकै मानिसका मनमा इटालीको सम्झना आउँछ । तर, यो शिकागोमा पाइने विशेष प्रकारको पिज्जालाई  डिपडिस भनिन्छ ।

null

शिकागो पुगेपछि त्यहाँको प्रसिद्ध परिकार त खानै पर्‍यो । यति सोचेर लेक मिचिजनको किनारामा भएको एउटा रेस्टुरेन्टमा जान तयार भयौं । भित्र बस्ने ठाउँ नभएकोले हामीलाई रेस्टुरेन्टका स्टाफले बाहिर बस्न लगाए । हामीभन्दा पहिले पनि निकैवटा समूह त्यहाँ पर्खिरहेका थिए । झण्डै आधा घण्टा कुरेपछि  हामीलाई पनि भित्र बोलाए । एउटा टेबल हाम्रा लागि खाली गरिएको रहेछ । हामी बस्यौं र पिज्जा अर्डर भयो । केही बेरमै पिज्जा आयो । खाँदा त अहो ! औधी स्वादिलो र मीठो हुँदोरहेछ । त्यसैले पो यो पिज्जाका लागि मानिसहरू घण्टौं कुर्दा रहेछन् ।

इक साबेल नामका व्यक्तिले सन् १९४० मा डिपडिस पिज्जाको विकास गरेका रहेछन् । सबेलले विकास गरेको डिपडिस पिज्जा पारखीका जिब्रोमा झुण्डिएर यति प्रख्यात भयो कि अमेरिकाका अन्य शहरबाट पनि यही पिज्जा खान मानिसहरू घण्टौं प्लेन चढेर यहाँ आउने रहेछन् ।

उहिले ललितपुरको लगनखेलमा बस्दा मेरा मित्र काशीराज सुवेदीले कृष्ण मन्दिरको उत्तरतिरको गल्लीमा  पिरो आलु खान लानुभयो । त्यसबेला उहाँ भन्नुहुन्थ्यो “यो आलु खान सर असन इन्द्रचोकदेखिका मानिसहरू पनि यहाँ आउँछन् रे ।”

शहरभरि सात हजारभन्दा बढी रेस्टुरेन्टहरूले स्थानीय र पर्यटकहरूलाई  डिपडिस पिज्जाको स्वाद चखाउँदा रहेछन् । पिज्जामात्र कहाँ हो र  यहाँ बर्गर र केक पनि छुट्टै स्वादमा बनाइँदो रहेछ । त्यसैले मीठो खानाका पारखीहरूका लागि यो शहर सुन्दर गन्तव्य मानिदोरहेछ ।

मकैबाट बन्ने परिकार पनि यहाँ थरिथरिको स्वादमा पाइँदो रहेछ । हामीले लेक मिचिगनबीचको नजिकै रहेको अर्को  एउटा अति व्यस्त रेस्टुरेन्टमा पसेर अनौठो तर मीठो खालको पप कनको स्वाद लिन पनि बिर्सेनौं ।  

अर्को दिन घुम्दैजाँदा शहरको एक छेउमा फुड फेस्टिबलको रौनक छाएको देख्यौं । भोक लागेको थियो । हाम्रो टोली पनि फुड फेस्टिबलमा परिकारहरूको स्वाद लिन पुग्यो । त्यहाँ त चिकेन मम पनि पो पाइँदो रहेछ । मम अर्डर गरेर सडक किनारमा राखिएका बेन्चमा हामी टुसुक्क बस्यौं । किनारामा तातो तातो मम खाँदा बौद्धको जी क्याफेमा मम खाएको सम्झना भयो ।

शिकागोलाई बिर्सन नसकिने अर्को कुरा यहाँ तीब्र गतिमा चल्ने बतास रहेछ । यो शहर त बतासको शहर पो रहेछ ।  यहाँ यति जोडले बतास चल्दो रहेछ । बतास चलेका बेला छेउछाउका बारलाई नसमाती हिँड्ने मानिसलाईले “चरोझैं आकाशमा उडौला है” भन्दा रहेछन् ।

शिकागोमा अनेक जातजाति र धर्म मान्ने मानिसहरू बस्दा रहेछन् । इसाई धर्म मान्ने मानिसहरू बढी रहेछन् ।

हिन्दु,  शिख र मुस्लिमहरू पनि निकै भेटिए । यहाँ जताततै चर्च,  मन्दिर,  गुम्बा, गुरुद्वारा र मस्जिद रहेछन् । यहाँका हिन्दुहरूको गायत्री शक्तिपीठ र हनुमान मन्दिरको गरिमा र महिमा उँचो रहेछ । अफ्रिकी-अमेरिकी मानिसहरूको संख्या पनि उल्लेख्य रहेछ । त्यसैगरी स्पेनिसहरू पनि यहाँ ठूलो संख्यामा रहेछन् ।

अरू धेरै कुरा राम्रा भएर पनि यस शहरमा अपराधका घटनाहरू औसतभन्दा बढी रहेछन् । शिकागोमा अपराधका घटना दिनहुँ बढिरहेको यहाँको सरकारी तथ्याङ्कले देखाउँछ । दिनदहाडै मानिस अपहरण गरेर फिरौती माग्ने अपराधीको संख्या यहाँ उल्लेख्य छ । यहाँ हत्या,  बलात्कार र डकैतीका घटनामा प्रहरीले नियन्त्रणको प्रयास गरे पनि अपेच्छित सफलता भने पाउन नसकेको रहेछ । अपराध नियन्त्रणमा शहरभरि ठूलो संख्यामा प्रहरी तैनाथ गरे पनि अपराधमा कमी आउन सकेको देखिँदैन । त्यसैले बाहिरबाट घुम्न गएका पर्यटकहरूले फुकीफुकी पाइला चाल्नु पर्ने रहेछ ।

शिकागोका फुटपाथमा हिँड्दा पनि त्यहाँका अश्वेत जातिका आँखामा हेर्न नहुने रहेछ । आँखामा हेरेकै निहुँमा कैयौं मानिसको ज्यान जाँदो रहेछ । त्यो कुरा हामीले पहिले नै सुनेको हुँदा यहाँ बसुन्जेल सतर्क घुमफिर गर्‍यौं ।

पाँचदिनको शिकागो बसाइपछि  हामीलाई आश्रय दिने होटल  म्यारिएट र शिकागो शहरलाई बाईबाई गरेर टेक्सास जान एयरपोर्टतिर हानियौं  ।

salt training

कमेन्ट गर्नुहोस्