
संयुक्त राज्य अमेरिका बसाइका क्रममा मसँगै जीवन सँगिनी सपना, छोरीज्वाइँ साधना प्रकाश लुइँटेल, नातिनातिनी प्रशम र सान्भी इलिनोई राज्यको प्रसिद्ध शहर शिकागोको सौन्दर्यमा लठ्ठिएका थियौं । हामीलाई शिकागो सुन्दर लाग्ने अनेक कारणमध्ये सजीव वास्तुकला एउटा हो । यससँगै सजिएका सुन्दर भवनहरू र जताजतैको हरियालीले शिकागोको सुन्दरता थप बढाएको छ ।
यहाँका विशेष खालका खानेकुराले पनि विदेशी पर्यटकहरूलाई लोभ्याउने रहेछ ।
शिकागोको वास्तुशास्त्रको इतिहास के होला र कसरी यस्ता भवनहरूको डिजाइन गरे होलान् भनेर म कल्पनामा मग्न थिएँ । अनेकौं गगनचुम्बी महलले गर्दा होला शिकागोलाई संयुक्त राज्य अमेरिकाको तेस्रो ठूलो शहर मानिँदो रहेछ । यो शहर ऐतिहासिक, सांस्कृतिक र आर्थिक रूपमा पनि समृद्ध रहेछ ।
शिकागो शहरको स्थापना सन् १८३३ मा भएको रहेछ । सन् १८७१ मा भएको आगलागीबाट शिकागोका धेरै भाग जलेर खरानी भएछन् । आगलागीपछि घरले काँचुली फेर्छ भन्ने नेपाली भनाइलाई मैले सम्झिएँ । नभन्दै त्यही भीषण आगलागीपछि शिकागोले पुननिर्माणमा काँचुली फेरेको रहेछ । आगलागीपछि आधुनिक गगनचुम्बी महल ठडिएका रहेछन् । अत्याधुनिक प्रविधिबाट बनेका भवनले अमेरिका भरिका अरू राज्यमा बन्ने डाउन टाउनलाई कुशल नेतृत्व दिएछ ।
गोरा, काला, एसियन आदि मानिसहरूको बाक्लो बस्ती भएको ठाउँ हो यो । त्यसैले यहाँ एसिया, युरोप र अफ्रिका आदिको विविध सांस्कृतिक अनुभव गर्न सकिने रहेछ । शहरमा हाम्रो छिमेकी भारतीय मूलका मानिसहरूको बस्ती पनि उल्लेखनीय छ । सन् १८९३ सेप्टेम्बर ११ का दिन स्वामी विवेकानन्दले यही शिकागो शहरमा आयोजित विश्व धर्म सम्मेलनमा हिन्दूधर्म, वेद र उपनिषदको महिमाका विषयमा प्रवचन गर्ने क्रममा मेरा प्याराप्यारा अमेरिकी भाइबहिनीहरू भनेर सम्बोधन शुरू गर्दा लगातार २० मिनेटसम्म तालीको गडगडाहट भएको इतिहासमा उल्लेख गरेको पाइन्छ । सांस्कृतिक विविधताले भरिएको शहर हो शिकागो । संगीतका क्षेत्रमा ब्लुज र जाजको जन्मस्थान पनि यही शहर मानिन्छ ।

सिकागोमा अनेकौं पर्यटन केन्द्रहरू छन्, तिनीहरूमध्ये मिलेनियम पार्क नेवी पियर्स एक हो । त्यहाँ भएका आकाशै छुने पानीका फोहरा हेरिरहँदा विभिन्न मानिसका आकृति देखिन्छन् । मानिसलाई आश्चर्य चकित बनाउने आर्ट इन्स्टिच्युट अफ सिकागोका यी दृष्यले धेरै पर्यटकहरूलाई आकर्षित गरेका हुन्छन् । पार्कका अनेक सुन्दर कुरामध्ये एक रहेछ ऐनाको घर । त्यस घरतिर अलि परबाट हेर्दा त्यहाँ त मानिसहरू डल्ला डल्ला परेर गुँडुल्किँदै पल्टेका देखिँदा रहेछन् । हामी पनि त्यसका नजिकै गयौं अनि ऐनामा आफूलाई नियाल्यौं, एक तमासको रमाइलो अनुभव गर्दै तस्वीरहरू खिचायौं । राजमाको दाना आकारमा बनेको ऐना घरले त्यहाँ पुग्ने पर्यटकको मन एकछिन् राम्रैसित बहलाउँदो रहेछ । हामीले पनि त्यहाँ निकैबेर आफ्नो मन बहलायौं ।
पार्कका एकाछेउमा एकजना मानिस निकै ठूलो प्रजातिको सुगा लिएर बसेको थिए । त्यो सुगालाई टाउकामाथि र काँधमाथि राखेर तस्वीर खिचाउन चाहनेबाट एकजनाको २० डलर लिँदारहेछन् । सुगालाई आफ्नो काँधमा राखेर फोटा खिचाउनेहरूको पनि त्यहाँ निकै भीड देखिन्थ्यो । सुगावालाको जीवन निर्वाहको बाटो त्यही एउटा सुगा थियो । मानिसहरूले त्यसलाई काँधमा र टाउकामा राखेर फोटो खिचिदिँदा उसको जीवन चलेको थियो । हामीले पनि सुगा काँधमा राखेर फोटा खिचायौं । त्यत्रा धनाढ्यहरू खचाखच भएको शहरमा एकजना मानिसले सुगालाई आफ्नो साँझ बिहानको चुलो तताउने माध्यम बनाएको रहेछ । मलाई त्यसबेला महाकवि देवकोटाले भिखारी कवितामा व्यक्त गरेको एक पंक्ति सम्झना भयो “गुलाफहरूका हाँसोको बीच एक उन्युको रोदन ।”
अमेरिकाको सेयरबजार होस् अथवा जीवन बिमा र निर्जिवन बिमाजस्ता आर्थिक गतिविधिका लागि महत्वपूर्ण केन्द्र मानिनेरहेछ शिकागो ।
यही शिकागोमा संसारमै सबैभन्दा पहिले बनेको एउटा गगनचुम्बी टावर छ, जसलाई विलिस वा सियर्स टावर पनि भनिन्छ । दुवईको बुर्ज खालिफा (उचाइ २७२२ फिट) बन्नुभन्दा पहिले यहाँको विलिस टावर संसारमf सबैभन्दा अग्लो टावर थियो । ३० हजार स्क्वाएर फिटमा बनेको विलिस टावरको उचाई एक हजार चारसय ५१ फिट छ, जसमा जमिन मुनिका तीन तलालाई छाडेर ११० तला छन् । सन् १९७० मा निर्माण प्रारम्भ भएर सन् १९७३ देखि सर्वसाधारणका लागि चढ्न खुला गरिएको यो टावर चढ्न जनही ३७ डलरको टिकट काट्नुपर्छ ।
लिफ्टबाट टावरको माथिल्लो तलामा पुग्दा अलौकिक आनन्दको अनुभूति हुन्छ । एक वर्षमा १७ लाखभन्दा बढी मानिसले विलिस टावर चढेको तथ्याङ्क यहाँ पाइन्छ । यो टावर स्टिलका मजबुत फ्रेम र कालो सिसाबाट बनाइएको छ । गगनचुम्बी महल तयार गर्ने वास्तुकला पनि शिकागो शहरमा शुरू भएर अमेरिकाका अन्य शहरहरूमा फैलिएको विश्वास गरिन्छ ।

यो टावर शिकागो शहरको कोहिनूर हीरा नै लाग्यो । टावरमाथि चढेपछि अन्य गगनचुम्बी महलहरू साना पो देखिँदा रहेछन् । यहाँबाट देखिने शहरको भव्य सौन्दर्य र लेक मिचिगनको मनमोहक दृश्यले पर्यटकहरूलाई समय बितेको पत्तो नहुने रहेछ । हामीले पनि त्यहाँको दृश्यलाई आफैभित्र कैद गर्यौं ।
शिकागो शहरको महत्ता अनेक कुरामा छ । हामीले घरघरमा बसेर हेर्ने गरेको रंगिन टेलिभिजनको आविष्कार मात्रै होइन सबैभन्दा पहिले रङ्गिन टेलिभिजन प्रसारणको श्रीगणेश पनि यही शहरका भएको रहेछ । त्यसपछि रङ्गिन टेलिभिजन विश्वका सबैतिर पुगेको मानिन्छ ।
टेलिभिजनमात्र होइन मोबाइलको आविष्कार गर्ने श्रेय पनि यही शहरलाई जाँदोरहेछ ।
मार्टिन कुपर (जन्म सन १९२८) नामक व्यक्तिले नै शिकागोमा सन् १९७३ मा मोबाइल फोनको आविष्कार गरेछन् । मोबाइल फोनको सफल आविष्कारपछि उनैले विश्वमा पहिलो पटक मोबाइलमा बोलेर गिनिजबुकमा विश्व रेकर्ड राखेका थिए । हामीले मनमनै मार्टिन कपुरलाई धन्यवाद दियौं । कुपरलाई आधुनिक मोबाइलका पिता पनि भनिन्छ । उनी अमेरिकी इन्जिनियर हुन् ।
मोबाइलको आविष्कारपछि उनले मोटोरोला नामको कम्पनी स्थापना गरेका थिए । जसमा उनले आफैं कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेर आफ्नो अविष्कारलाई मूर्तरूप दिएका थिए ।
आविष्कारको एकदशकपछि उनले सन् १९८३ मा मोटोरोलाका मोबाइल सेटहरू बिक्रीका लागि बजारमा ल्याएर संसारलाई नै एक अनुपम उपहार प्रदान गरे । अमेरिका सरकारले कुपरका योगदानको कदर गरेर उनलाई धेरै वर्षसम्म अमेरिका भरिको सञ्चार क्षेत्रको विकास गर्ने जिम्वेवारी दिएको थियो ।
रङ्गिन टेलिभिजन र मोबाइल फोन मात्र होइन अरू पनि कैयौं कुरा शिकागो शहरले संसारलाई नै कोशेली दिएको छ ।
घरभित्रको कसिंगर (फोहोर) बढार्न कुचो चाहिन्छ । यही शहरमा भ्याकुम क्लिनरको आविष्कार भएको हो । आज भ्याकुम क्लिनर संसारभरि फैलिएको छ । भ्याकुम क्लिनरदेखि आजको संसारमा ब्रुमरसम्मको आविष्कारले विश्वका सबै मानिसलाई खुसी बाँडेको छ ।
शहरको झण्डै बीचभाग हुँदै बग्ने एउटा १५६ माइल लामो नहर वा नदी छ, जसलाई शिकागो भनिन्छ । यसैका नामबाट शहरको नाम रहेको देखिन्छ । अरू नदीभन्दा शिकागो पृथक् देखिन्छ । किनकि अरू खोलानाला उत्तरबाट दक्षिणतिर बग्छन् तर, शिकागो दक्षिणबाट उत्तर बग्ने गर्दछ । यो देख्दा मलाई गोदावरीबाट ग्वार्को हुँदै उल्टो बगेर मनोहरामा मिल्न पुग्ने कर्मनाशा खोलाको सम्झना भयो ।
प्रत्येक वर्ष मार्च १७ का दिन शिकागोको पानी हरियो रङ्गको हुँदोरहेछ । त्यसदिन इलिनोई राज्यमा सेन्ट प्याट्रिक नामको राष्ट्रिय चाड मनाइँदो रहेछ । यस दिन राज्यभरि सार्वजनिक बिदा दिइँदो रहेछ । पानी हरियो रंगमा फेरिएको खुसीयालीमा त्यसदिन शिकागोका बासिन्दा ठूलो संख्यामा हरियो हरिया पोशाक लगाएर नदीमा जलकृडा गर्न परिवारका साथ निस्केर रमाइलो गर्दा रहेछन् । त्यसदिन शिकागो शहरभरि बस्ने अधिकांशले हरिया रंगका पोशाक लगाउँदा सिंगो शहर नै आकर्षक हरित शहरमा परिणत हुँदो रहेछ ।
सेन्ट प्याट्रिक चाड मनाउन स्थानीयहरू रातभरि घरघरमा नाचगान गर्दारहेछन् । सडकमा पनि उन्मुक्तिसाथ ब्लुज संगीतका धूनमा नाच्दैगाउँदै शहरको रौनक बढाउँदा रहेछन् । शिकागोको पानी हरियो रङ्गको बनाउनमा शिकागोको प्लाम्बर संगठनले योगदान गरेको कुरा पछिमात्र जानकारीमा आयो । वर्षको एकदिन शिकागोको पानी निख्खर हरियो रङ्गमा बदलिने कुराले त्यहाँ घुम्न आएका पर्यटकहरू पनि अचम्म र उदेक मान्दा रहेछन् ।
मैले आफ्नो देशको सिरहाको लहानमा वर्षको एक दिन अर्थात् प्रत्येक वर्ष वैशाख १ गतेमात्र फुल्ने माला आकारको सहलेस फूललाई सम्झिएँ । लहलेस फुलेको हेर्न ठूलो सङ्ख्यामा मानिसहरू सिरहाको लहान पुग्ने गर्दछन् । त्यसको रहस्य त उद्घाटन भएको छैन तर, त्यसदिन लहानका होटलहरू भरिभराउ हुन्छन् । मानिसहरूको भिडभाड हुनेगर्दछ ।
सडकका किनारमा हिँड्दैजाँदा सानी नातिनी सान्भी कराई– “आम्मै !” हजुरआमाले सोधिन्– “के भयो सानी ?”
सान्भीले सडक किनारमा भएका मुसाका हुलतिर देखाई । सपनाले भनिन्– “मुसा पनि कति ठुला ? बिरालाभन्दा ठुला मुसा रहेछन् । यिनीहरूलाई देख्दा त बिरालो पनि तर्सन्छ होला ?”
ह्वांगो नदीलाई चीनको दुःख र कोशीलाई बिहारको दुःख भनेजस्तो मुसालाई सिकागोको दुःख भन्दा रहेछन् । शहरमा बेलाबेला मुसाले आतङ्क नै सिर्जना गर्दा रहेछन् । त्यसैले यसलाई मुसाको शहर पनि भनिदोरहेछ । यहाँ पुराना घरहरूलाई मुसाले आफ्नो स्थायी बासस्थान बनाएका हुन्छन् । मुसाले मानिसहरूका खानेकुरामात्र होइन गाडी र मिसिनहरूमा पसेर त्यसका तार काटकुट पारेर सताउँदा रहेछन् । ठूलासाना र थरिथरिका मुसाले शहरका बासिन्दालाई दिनसम्म दुःख दिएका रह्छन् ।
मुसा नियन्त्रण गर्न यहाँ ठूल्ठूला प्रोजेक्ट नै तयार हुँदारहेछन् । निर्वाचनमा उमेद्वारले मुसा नियन्त्रणका आफ्ना योजना सुनाएर भोट तान्दा रहेछन् । मुसा नियन्त्रणका लागि अनेकौं खोज र अनुसन्धान चलिरहेको रहेछ ।
सामान बिगार्नेमात्र होइन मुसाले अनेक संक्रामक रोग पनि फैलाउँदा रहेछन् । मुसा मारेर नियन्त्रण गर्न सरकारले वषौंदेखि विभिन्न समूहहरू बनाएर केही नियन्त्रण भए पनि मुसा उन्मूलनमा भने आजका दिनसम्म सफलता मिलेको छैन ।
शिकागोमा मुसाको चकचकीका कुरा सुन्दा आफूले सानो छँदा पढेको रोवर्ट ब्राउनिङको “पाइड पाइपर अफ हेमलिन” शीर्षकको अंग्रेजी कविताको झलझली सम्झना भयो । लाग्यो शिकागोमा पनि मुसालाई लेक मिचिगनमा वा शिकागो नदीमा डुबाउन हेम्लिनको बाँसुरी बाधक चाहिएको रहेछ ।
शिकागोलाई भोजभतेरको शहर पनि भनिदोरहेछ । भोज भतेर गर्न यहाँ मानिसलाई धेरै ठूलो केही चाहिँदो रहेन छ । कुनै एउटा निहुँ भयो भने भोज भतेर र नाचगानको आयोजना गरिहाल्दा रहेछन् । यहाँ सडकमा होस् वा घरमा नाचगानका ब्लुज धून गुन्जिरहेका हुन्छन् । लाग्छ यो शहर दिउँसो त जागा हुने नै भैगो, राति पनि नसुत्ने रहेछ ।
खानेकुराका शौखिन मानिसहरूका लागि यहाँ विभिन्न किसिममा पिजा, बर्गर र केकहरू पाइँदा रहेछन् । अन्यत्र पाइने बर्गर, पिजा र केकहरूभन्दा यहाँ फरक स्वादका बनाइएका हुँदारहेछन् । न्यु ओर्लियन्स शहरमा बनेजस्तो यस शहरमा प्रख्यात रहेछ 'डिपडिस पिज्जा' ।
पिज्जा भन्नेवित्तिकै मानिसका मनमा इटालीको सम्झना आउँछ । तर, यो शिकागोमा पाइने विशेष प्रकारको पिज्जालाई डिपडिस भनिन्छ ।

शिकागो पुगेपछि त्यहाँको प्रसिद्ध परिकार त खानै पर्यो । यति सोचेर लेक मिचिजनको किनारामा भएको एउटा रेस्टुरेन्टमा जान तयार भयौं । भित्र बस्ने ठाउँ नभएकोले हामीलाई रेस्टुरेन्टका स्टाफले बाहिर बस्न लगाए । हामीभन्दा पहिले पनि निकैवटा समूह त्यहाँ पर्खिरहेका थिए । झण्डै आधा घण्टा कुरेपछि हामीलाई पनि भित्र बोलाए । एउटा टेबल हाम्रा लागि खाली गरिएको रहेछ । हामी बस्यौं र पिज्जा अर्डर भयो । केही बेरमै पिज्जा आयो । खाँदा त अहो ! औधी स्वादिलो र मीठो हुँदोरहेछ । त्यसैले पो यो पिज्जाका लागि मानिसहरू घण्टौं कुर्दा रहेछन् ।
इक साबेल नामका व्यक्तिले सन् १९४० मा डिपडिस पिज्जाको विकास गरेका रहेछन् । सबेलले विकास गरेको डिपडिस पिज्जा पारखीका जिब्रोमा झुण्डिएर यति प्रख्यात भयो कि अमेरिकाका अन्य शहरबाट पनि यही पिज्जा खान मानिसहरू घण्टौं प्लेन चढेर यहाँ आउने रहेछन् ।
उहिले ललितपुरको लगनखेलमा बस्दा मेरा मित्र काशीराज सुवेदीले कृष्ण मन्दिरको उत्तरतिरको गल्लीमा पिरो आलु खान लानुभयो । त्यसबेला उहाँ भन्नुहुन्थ्यो “यो आलु खान सर असन इन्द्रचोकदेखिका मानिसहरू पनि यहाँ आउँछन् रे ।”
शहरभरि सात हजारभन्दा बढी रेस्टुरेन्टहरूले स्थानीय र पर्यटकहरूलाई डिपडिस पिज्जाको स्वाद चखाउँदा रहेछन् । पिज्जामात्र कहाँ हो र यहाँ बर्गर र केक पनि छुट्टै स्वादमा बनाइँदो रहेछ । त्यसैले मीठो खानाका पारखीहरूका लागि यो शहर सुन्दर गन्तव्य मानिदोरहेछ ।
मकैबाट बन्ने परिकार पनि यहाँ थरिथरिको स्वादमा पाइँदो रहेछ । हामीले लेक मिचिगनबीचको नजिकै रहेको अर्को एउटा अति व्यस्त रेस्टुरेन्टमा पसेर अनौठो तर मीठो खालको पप कनको स्वाद लिन पनि बिर्सेनौं ।
अर्को दिन घुम्दैजाँदा शहरको एक छेउमा फुड फेस्टिबलको रौनक छाएको देख्यौं । भोक लागेको थियो । हाम्रो टोली पनि फुड फेस्टिबलमा परिकारहरूको स्वाद लिन पुग्यो । त्यहाँ त चिकेन मम पनि पो पाइँदो रहेछ । मम अर्डर गरेर सडक किनारमा राखिएका बेन्चमा हामी टुसुक्क बस्यौं । किनारामा तातो तातो मम खाँदा बौद्धको जी क्याफेमा मम खाएको सम्झना भयो ।
शिकागोलाई बिर्सन नसकिने अर्को कुरा यहाँ तीब्र गतिमा चल्ने बतास रहेछ । यो शहर त बतासको शहर पो रहेछ । यहाँ यति जोडले बतास चल्दो रहेछ । बतास चलेका बेला छेउछाउका बारलाई नसमाती हिँड्ने मानिसलाईले “चरोझैं आकाशमा उडौला है” भन्दा रहेछन् ।
शिकागोमा अनेक जातजाति र धर्म मान्ने मानिसहरू बस्दा रहेछन् । इसाई धर्म मान्ने मानिसहरू बढी रहेछन् ।
हिन्दु, शिख र मुस्लिमहरू पनि निकै भेटिए । यहाँ जताततै चर्च, मन्दिर, गुम्बा, गुरुद्वारा र मस्जिद रहेछन् । यहाँका हिन्दुहरूको गायत्री शक्तिपीठ र हनुमान मन्दिरको गरिमा र महिमा उँचो रहेछ । अफ्रिकी-अमेरिकी मानिसहरूको संख्या पनि उल्लेख्य रहेछ । त्यसैगरी स्पेनिसहरू पनि यहाँ ठूलो संख्यामा रहेछन् ।
अरू धेरै कुरा राम्रा भएर पनि यस शहरमा अपराधका घटनाहरू औसतभन्दा बढी रहेछन् । शिकागोमा अपराधका घटना दिनहुँ बढिरहेको यहाँको सरकारी तथ्याङ्कले देखाउँछ । दिनदहाडै मानिस अपहरण गरेर फिरौती माग्ने अपराधीको संख्या यहाँ उल्लेख्य छ । यहाँ हत्या, बलात्कार र डकैतीका घटनामा प्रहरीले नियन्त्रणको प्रयास गरे पनि अपेच्छित सफलता भने पाउन नसकेको रहेछ । अपराध नियन्त्रणमा शहरभरि ठूलो संख्यामा प्रहरी तैनाथ गरे पनि अपराधमा कमी आउन सकेको देखिँदैन । त्यसैले बाहिरबाट घुम्न गएका पर्यटकहरूले फुकीफुकी पाइला चाल्नु पर्ने रहेछ ।
शिकागोका फुटपाथमा हिँड्दा पनि त्यहाँका अश्वेत जातिका आँखामा हेर्न नहुने रहेछ । आँखामा हेरेकै निहुँमा कैयौं मानिसको ज्यान जाँदो रहेछ । त्यो कुरा हामीले पहिले नै सुनेको हुँदा यहाँ बसुन्जेल सतर्क घुमफिर गर्यौं ।
पाँचदिनको शिकागो बसाइपछि हामीलाई आश्रय दिने होटल म्यारिएट र शिकागो शहरलाई बाईबाई गरेर टेक्सास जान एयरपोर्टतिर हानियौं ।