
काठमाडौं, २४ कात्तिक — पाकिस्तानमा रहेका एक उत्तर कोरियाली कूटनीतिज्ञको घरमा भएको चोरीबाट उक्त कूटनीतिज्ञ ठूलो मात्राको अवैध रक्सी कारोबारमा संलग्न रहेको हुनसक्ने आशंका उठेको छ ।
कि त ती कूटनीतिज्ञ अवैध धन्धा गर्छन् कि त आफैं असाध्यै धेरै रक्सी पिउँछन् किनकि चोरहरूले उनको निवासबाट ह्विस्की, बीयर र वाइनका थुप्रै बोतलहरू लिएर गए ।
पाकिस्तानमा मुसलमानहरूका लागि रक्सी पिउन प्रतिबन्ध लगाइएको छ तर व्यक्तिगत रूपमा रक्सी राख्न चाहिँ अनुमति छ । उनीहरूसँगको रक्सी कालोबजारी हुने गरेको आशंका छ ।
अक्टोबर महिनाको शुरुवातमा उत्तर कोरियाली राजदूत ह्योन की–योङको घरमा चोर पसे । चोरहरूले दुईवटा हीरा, हजारौं अमेरिकी डलर र ठूलो मात्रामा रक्सी लगेको उनले प्रहरीलाई उजुरी गरे ।
समाचारहरू परस्परविरोधी छन् । रोयटर्स समाचार संस्था र पाकिस्तान टुडेले तीनजना चोर त प्रहरी अधिकारी नै भएको र अधिकारीहरूले उनीहरूविरुद्ध पक्राउपुर्जी जारी गरेको समाचार छापे । तर अन्य समाचारमाध्यमले यो पूरै कारवाही नै प्रहरीले चलाएको लेखे ।
उजुरी दर्ता गरेको कोशर प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक अस्जद महमूदले बीबीसीलाई बताएअनुसार, तीनजना प्रहरीहरू कूटनीतिज्ञको निवासमा ‘अवैध’ रूपमा पसेको र त्यहाँ रक्सी भेटेपछि आफ्ना वरिष्ठ अधिकारीहरूलाई त्यसको बारेमा खबर नगरेको अनि ‘भेटिएका रक्सी आफैंले राख्न खोजेको’ बताए ।
ती तीनैजना धरौटीमा मुक्त भएका छन् ।
सामान्य चोरी भएको भएर समाचार बन्दैथियो होला । तर यो चोरीमा रक्सी पनि संलग्न थियो र त्यो निकै ठूलो मात्रामा थियो ।
विदेशी कूटनीतिज्ञहरूले निश्चित मात्रामा मात्र रक्सी ल्याउन पाउँछन् अनि रक्सी राजदूतावासको कम्पाउन्डमा मात्र राख्न पाइन्छ, राजदूतको निवासमा हैन ।
रोयटर्सका अनुसार, राजदूत ह्योनले तीन महिनामा विभिन्न किसिमका १२० लिटर रक्सी अनि त्यसबाहेक १८ लिटर वाइन र २४० लिटर बीयर राख्न पाउँछन् । राजदूतको घरबाट बरामद भएकोभन्दा यो निकै कम मात्रा हो ।
यसको दुई अर्थ लाग्छ : उत्तर कोरियाली कूटनीतिज्ञहरूलाई निर्धारित मात्राभन्दा बढी रक्सी ल्याउने अनुमति छ । अर्को चाहिँ उनीहरू दिनभरि रक्सी पिएरै बसिरहन्छन् अथवा बढी भएको रक्सीको कालोबजारी गर्छन् ।
उत्तर कोरियाको राजदूतावासले यी आरोपमाथि टिप्पणी गरेको छैन ।
बीबीसीबाट