
पूर्वाञ्चल विश्वविद्यालयको आयोजनामा नेपालमा पहिलो पटक 'प्रारम्भिक बाल्यकाल विकासको परिकल्पना–नेपाल ईसीडी इकोसिस्टम' विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । सम्मेलन मंसिर २१ र २२ गते विराटनगरमा हुने विश्वविद्यालयले जनाएको छ ।
सम्मेलनमा नेपाल, अमेरिका, मलेसिया, भारत बंगलादेशलगायत १५ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माताहरू र अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहने प्रा.डा. अनिल कुमार पोखरेलले जानकारी दिए ।
नेपालमा प्रथम पटक आयोजना हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा बालविकासका क्षेत्रमा प्राज्ञिक बहस र विमर्श गराउने मुख्य उद्देश्य राखिएको उनले बताए । ‘यस सम्मेलनमा बालबालिका लक्षित नीति, विशेष आवश्यकता भएका बालबालिकाहरूको हेरचाह, बालविकासका क्षेत्रमा आवश्यक जनशक्ति, पेशागत विकास र नैतिकता, जलवायु परिवर्तन र त्यसले बालबालिकालाई परेको प्रभाव बालबालिकाको पोषण तथा यसले बाल विकासमा पारेको प्रभाव, प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तन आदिमा छलफल हुनेछ,’ प्राडा पोखरेलले भने ।
सम्मेलनमा विभिन्न विषयमा ४० भन्दा बढी सहभागीहरूले आफ्नो अध्ययन अनुसन्धान प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । साथै यस क्षेत्रमा कार्यरत विभिन्न देशका विशिष्ट व्यक्तित्वहरुबाट किनोट स्पिज तथा विविध प्रकारका कार्यशालाहरु समेत आयोजना गरिएका छन् ।
‘बालबालिकाहरूको सर्वाङ्गिण विकासका अवसरहरूको गुणस्तर र पहुच सुधार एवं सुनिश्चित गर्ने विषयमा बहस केन्द्रित हुने छ । सम्मेलनमा प्रस्तुत भएका कार्यपत्र एवं कार्यशालाहरुबाट विश्वविद्यालयले भविष्यमा शिक्षाशास्त्र संकाय अन्तर्गत रहनेगरी ईसीडीसम्बन्धी अध्ययन अनुसन्धान गर्ने केन्द्र सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ,’ प्राडा पोखरेलले भने, ‘यस कार्यक्रमले बालविकासका क्षेत्रमा नया एवं समाजको आवश्यकता अनुसारका स्नातक, स्नातकोत्तर लगायतका विशेष कार्यक्रमहरूको पहिचान गर्नेछ ।’