०९ असार २०८३, मंगलबार

उपचुनावको चटारो– उमेदवारलाई घरदैलोमा भ्याइनभ्याइ

मंसिर ६, २०८१
महोत्तरी
उपचुनावको चटारो– उमेदवारलाई घरदैलोमा भ्याइनभ्याइ

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को स्थानीय तह उपनिर्वाचनका उम्मेदवारहरू अहिले मतदातासँग सघन भेटघाटमा व्यस्त छन्।

अन्तिम नामावली प्रकाशन भएसँगै निर्वाचन चिन्ह पाएका उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन्।

रामगोपालपुर–२ मा हुने उपनिर्वाचनका लागि सात दलका उम्मेदवार र ११ स्वतन्त्रसहित १८ जना प्रतिस्पर्धामा छन्।

जनमत पार्टीका ललिन्द्रकुमार साह र स्वतन्त्र उम्मेदवार विमलेन्द्रकुमार यादवले मनोनयन फिर्ता लिएपछि प्रतिस्पर्धीको संख्या १८ मा सीमित भएको हो।

चुनावी माहोल तात्दै जाँदा नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँ, एमालेका सकिबुल खाँ, माओवादी केन्द्रका आइतीकुमारी यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका खुरसेद खाँ, जसपा नेपालका मोहम्मद नजामुद्दिन खाँ, राप्रपाका मोहम्मद मनान खाँ र राष्ट्रिय जनता पार्टीका राजेशकुमार यादव मुख्य दलका उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्।

स्वतन्त्र उम्मेदवारतर्फ विजयकुमार सिंह, रामऔतार यादव, राजदेव यादव, राकेशकुमार यादव, मोहम्मद इमामुद्दिन खाँ, मोहम्मद अरमान रजा खाँ, मुकेश्वर ठाकुर, नजामुद्दिन खाँ, धीरेन्द्रप्रसाद यादव, गङ्गाप्रसाद यादव र अशोककुमार यादव प्रतिस्पर्धामा छन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका वडाध्यक्ष मुकेशकुमार यादवको दुर्घटनामा निधन भएपछि यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

यही मङ्सिर १६ गते हुने मतदानका लागि दल र स्वतन्त्र उम्मेदवारहरूले आफ्नो जित सुनिश्चित गर्न व्यापक प्रचारप्रसार गरिरहेका छन्।

मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाका अनुसार यस वडामा २,१४१ मतदाता छन्। जसमा १,२०१ पुरुष र ९४० महिला छन्।

निर्वाचन कार्यालयले जनशक्ति, सुरक्षा व्यवस्था र अन्य सामग्री तयारी अवस्थामा राखेको छ भने आम मतदातालाई निर्भय भई मतदान गर्न आग्रह गरेको छ।


 

salt training

कमेन्ट गर्नुहोस्